स्वास्थ्य

कोभिडका बिरामीले कस्तो अवस्थामा गर्ने छातीको एक्स-रे र सिटिस्क्यान ?

सृजना खड्का |
जेठ २, २०७८ आइतबार ९:५ बजे

नेपालमा कोभिड-१९ को संक्रमण फैलदो छ । संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । कोभिड पोजेटिभ देखिएपछि धेरै बिरामीले फोक्सोको अवस्था थाहा पाउन छातीको एक्स–रे अथवा सिटिस्क्यान गराउँछन् । तर, छातीको एक्स–रे कुन बेला गर्ने ? सिटिस्क्यान कस्ता बिरामीलाई आवश्यकता पर्छ ? कोभिडसँग सिटिस्क्यान र एक्सरेको कस्तो भूमिका छ ? यिनै जनचासोको विषयमा कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. केदार खड्गीसँग इकागजकी सृजना खड्काले गरेको कुराकानी :

कोभिड-१९ का बिरामीको हकमा छातीको एक्सरेको भूमिका के हुन्छ ?


कोभिड-१९ भएका बिरामीहरूलाई फरक-फरक चार किसिमका लक्षणहरू देखा पर्नसक्छन् ।

१. मन्द लक्षण (mild Symptoms) – यसमा जोरो आउने, खोकी लाग्‍ने, थाकन महसुस हुने, भोक वा स्वाद हराउने हुन्छ । यस्ता बिरामीहरूमा श्वासप्रश्वाससम्बन्धी लक्षण देखिदैन र अक्सिजन लेबल सामान्य  अवस्थामा हुन्छ ।

२. मध्यम लक्षण (Moderate Symptoms) - यस्ता बिरामीहरूमा सामान्य श्वासप्रश्वास लक्षण देखिन्छ । तर अक्सिजनको लेबल ९० प्रतिशत माथि हुन्छ ।

३. गम्भीर लक्षण (Severe Symptoms) - धेरै मात्रामा श्वासप्रश्वासका लक्षण देखिन्छ । उच्च जोरो आइरहन्छ । सास फेर्ने गति बाढी हुन्छ । अक्सिजन स्याचुरेसन ९० प्रतिशत भन्दा तल हुन्छ ।

४. Critical Illness – ARDs(Acute respiratory distress syndrome), जीउको सबै जस्तो भाग संक्रमण भैलिएका बिरामीलाई Critical ill भनिछ । सामान्यरूपले बुझ्दा ICU मा भएका बिरामीहरूमा यस्तो अवस्था हुन्छ ।         

कोभिड परीक्षणमा विश्‍वव्यापी मान्यता पाएको परीक्षण आरटी-पीसीआर नै हो ।  यसको प्रभावकारिता ७० देखि ८० प्रतिशतसम्म हुन्छ । यद्यपि, कोभिड-१९ का बिरामीहरूमा एक्स–रेको पनि महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो देश विकाशोन्मुख देश भएकाले सबैतिर सिटिस्क्यानको सुविधा नहुन सक्छ । त्यसैकारण नागरिकले सजिलै पाउन सक्ने सुविधा एक्स-रे हो ।

यसमा विकिरणको असर सिटिस्क्यानभन्दा धेरै कम हुन्छ । मन्द लक्षण भएका, शारीरमा अक्सिजन स्याचुरेसन लेबल मेन्टेन भएको अवस्थामा छातीको एक्स-रेको केही पनि भूमिका हुदैन । यसले बिरामीको शरीरमा अनावश्यक विकिरणको जोकिम हुन्छ । तर, दीर्घ रोग जस्तैः मुटु, फोक्सो, मधुमेह, क्यान्सर. ६० बर्षभन्दा माथिका कोभिड पोजेटिभ बिरामीहरूमा मन्द लक्षणहरू मात्रै  देखिएता पनि छातीको एक्स-रे गर्नुपर्ने हुन्छ ।

त्यसो भए कोभिडका बिरामीले कस्तो अवस्थामा छातीको एक्स-रे  गर्ने त ?

बिरामीको अवस्था गम्भीर हुँदै गएमा, मध्यम र गम्भीर लक्षण बिरामीहरूमा देखिँदै गएमा, बिरामीको अक्सिजन लेबल कम हुँदै गएमा, छातीको एक्स-रे अनिवार्य गर्नुपर्ने हुन्छ । लक्षण देखिएको ५ देखि ७ दिनभित्र गर्दा अत्ति उत्तम हुन्छ । यस समयमा फोसोमा भएको संक्रमण अलि प्रस्टरूपमा देखिन्छ ।

आरटी-पीसीआर परीक्षण उपलब्ध छैन वा टेस्ट को रिपोर्ट आउन धेरै समय लाग्ने तर औषधि सुरु गर्नु पर्ने अवस्था देखिएमा एक्स-रे गर्नुपर्छ। मन्द लक्षण भएका बिरामीहरूलाई आस्पताल मै राख्‍ने कि घर पठाउने भन्ने निर्णय गर्न र माध्यम र गम्भीर लक्षण भएका बिरामीलाई वार्ड वा आईसीयूमा भर्ना गर्ने भन्ने निर्णय लिन पनि एक्स-रे आवश्यक हुन्छ ।

छातीको सिटिस्क्यान चाहिँ कस्ता बिरामीलाई गर्न आवश्यक हुन्छ ?

कुनै बिरामीको दुई-तीन पटक परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट नेगेटिभ देखाउँछ तर, कोभिडसँग मिल्दाजुल्दा लक्षणहरू देखिन्छन् भने त्यस्ता बिरामीमा सिटिस्क्यान गर्नुपर्छ ।  पीसीआर पोजेटिभ देखिएका छातीको एक्स–रेमा फोक्सोमा संक्रमण छ वा छैन भनेर प्रस्ट हुन नसकेमा, भविष्यमा रोगले कस्तो असर गर्न सक्छ भनेर जोखिमको स्तर जाँच्‍न सिटिस्क्यान गरिन्छ ।

श्वासप्रश्वाससम्बन्धी लक्षणहरू बढ्दै गएमा लक्षण देखिएको ५ देखि ७ दिन भित्रमा सिटिस्क्यान गर्नुपर्ने हुन्छ । फोसोमा संक्रमणको गम्भीरता मापन गर्न सिटिस्क्यान गरिन्छ । कोभिड-१९ लागेपछि रोगको गम्भिरता हेर्न र ठिक हुने संभावना के कति छ भनेर बुझ्‍न पनि सिटिस्क्यान गरिन्छ । जुन बिरामीमा अक्सिजनको डिमान्ड हाइ छ र रगत परीक्षणमा पनि गडबडी देखिएको छ उनीहरूलाई पनि सिटिस्क्यान गर्नुपर्छ । तर, आइसीयूमा भएको बिरामीमा चाहिँ छातीको सिटिस्क्यानसहित एचआरसीटी चेस्ट विथ पल्मोनरी एन्जिओग्रामपनि गर्नुपर्ने हुन्छ ।

एचआरसीटी चेस्ट विथ पल्मोनरी एन्जिओग्रामभनेको के हो ? किन यो आईसीयूमा भएका बिरामीलाई गरिन्छ ?

आर्ईसीयूमा क्रिटिक्ल्ली इल बिरामी हुन्छन् । बिरामीको रक्तनलीमा रगत डल्ला परेर त्यो डल्ला फोक्सोको स-सानो रक्तनलीमा गएर जाम गरेको अवस्थालाई ‘पल्मोनरी इम्बोलिजम’भनिन्छ । कोभिड-१९ को संक्रमण भएका बिरामीहरूमा यस्तो अवस्थामा आउन सक्छ भनेर बिभिन्‍न अध्ययनले देखाएका छन् । यो अवस्थामा बिरामीको एक्कासी निधन समेत हुन सक्छ । यो अवस्था छ/छैन भनेर थाहा पाउन ‘एचआरसीटी विथ पल्मोनरी एन्जिओग्राम’गर्ने गरिन्छ ।

छातीमा कोभिडबाहेक अरु कुनै ब्याक्टेरिया इन्फेक्सनन छ/छैन भनेर प्रष्ट हुन सिटिस्क्यान गरिन्छ ।  एउटै मानिसमा दुई फरक किसिमका रोगहरू हेर्न (डुअल प्याथोलोजी) हेर्न पनि गरिन्छ । कोभिड लागेर निको भई घर गइसकेका केहि बिरामीमा अक्सिजको आवश्यकता सधैँ रहिरहन्छ । सानो काम गर्दा पनि स्वाँ-स्वाँ हुने, श्वास फुल्ने हुनाले उनीहरूमा ‘लङ फाइब्रोसिस’ हेर्नका लागि छातीको सिटिस्क्यान गरिन्छ । लङ फाइब्रोसिमा फोसोले अक्सिजन लिने क्षमता न्यून भएर जान्छ ।  कति प्रतिशत फोक्सो ड्यामेज छ भन्‍ने थाहा पाउन सकिन्छ ।

कोभिडका बिरामीले कस्तो अवस्था कति पटक सिटिस्क्यान गर्नुपर्छ ? बिरामीहरू दोहोर्‍याइ, तेहेर्‍याइ सिटिस्क्यान गर्नु परेको गुनासो गर्छन् ?  कारण के हो ?

कोभिडको सन्दर्भमा हेर्दा विकिरणको असर र फाइदा वा बेफाइदाभन्दा पनि गर्नैपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा विकिरण न्यूनिकरण गरेर ‘लो डोज रेडियसन’दिएर सिटिस्क्यान गर्ने गरिन्छ । पटक–पटक भन्दा पनि एकदेखि दुई पटकसम्म हामीले गर्ने गरेका छौँ । पहिलो सिटिस्क्यान लक्षण देखिएको पाँचदेखि सात दिनभित्र गरिन्छ । जतिबेला रोगका गम्भिरता पूर्णरुपमा आँकलन गर्न सकिन्छ । यसको प्रभावकारिता ९५-९७ प्रतिशत हुन्छ । दोश्रो सिटिस्क्यान पोस्ट कोभिड-१९ बिरामीहरूमध्ये घरमा गएरपनि अक्सिजन को डिमाण्ड उच्च भएको बिरामीहरूमा पोस्ट कोभिड लङ फाइब्रोसी हेर्न गरिन्छ ।

पाँचदेखि सात दिनमा किन ?

सुरुवाती चरण वा लक्षण देखिएको दुई-तीन दिनमा सिटिस्क्यान सामान्य देखिन सक्छ । जसले गर्दा बिरामीमा ठिक छु भन्‍ने गलत अनुभूति (फल्स सेन्स अफ सेक्युरिटी)  दिन सक्छ । र, यदि चार-पाँच दिनपछि अवस्था गम्भीर भएमा दोहोर्‍यार सिटिस्क्यान गर्नुपर्ने संभावना हुन्छ । जसले गर्दा शरीरमा अनावश्यक विकिरणको दोहोरो असर पर्न जान्छ ।

उसो भए सिटिस्क्यान एक्स-रेमा कुन राम्रो हुन्छ ?

सिटिस्क्यान छातीको सामान्य एक्स-रे भन्दा धेरै राम्रो हुन्छ । फोक्सोको अवस्था एक्स-रेमा भन्दा धेरै प्रष्टसँग देखिन्छ । सानो भन्दा सानो फोसोको संक्रमणपनि सिटिस्क्यानमा प्रस्ट देखिन्छ । थोरै संक्रमण भएको अवस्थामा छातीको एक्स-रे मा सामान्य वा नदेखिन सक्छ । तर, सिटिस्क्यानको विकिरणको डोज उच्च हुन्छ । एउटा सिटिस्क्यान गराउनु भनेको ६० देखि ७० एक्स-रे गराए बराबर हो । त्यहीकारण अनावश्यक रूपमा सिटिस्क्यान गराउनु हुँदैन । लक्षण नै नभइ, अक्सिजनको लेबल समान्य हुँदा अनावश्यक रूपमा आत्तिएर चिकित्सकको परामर्शबिना सिटिस्क्यान गरिहाल्नु हुँदैन । तर, बिरामीको अवस्था, जतिलता र गम्भिरता हेरेर छातीको एक्स–रे भने आवश्यकता अनुसार दोहोर्‍याइ, तेहेर्‍याइ गर्नुपर्ने हुन सक्छ ।

एक्स-रेमा  एकैपटकमा नतिजा देखिदैन ?

कहिलेकाहिँ एकै पटकमा नतिजा देखेपनि बिरामीको अवस्था थप बिग्रिदै गएमा, अक्सिजनको लेबल तल झर्दै गएमा तुरुन्त दोहोर्‍याएर गर्नु पर्ने हुन्छ । पटक–पटक एक्स–रे गर्नु पर्ने बिरामीहरू धेरै जसो सिकिस्त हुन्छन् । ICU वा HDU मा भर्ना भएकोका हुन्छन् । यस्ता बिरामीहरूमा प्राय २४ घण्टामा एकपटक एक्स–रे गरेर त्यस बेलाको फोसोको अवास्था थाहा पाउन सकिन्छ । पहिला गरेको एक्स–रेसँग तुलना गरेर सुधार भएको छ वा छैन भन्ने थाहा हुन्छ । यसबाट थप उपचार र औषधीहरू थप/घट गर्न सहज हुन्छ ।

गम्भीररूपमा दुवै फोसो संक्रमण भएको अवस्था

विकिरण धेरै भयो भने शरीरलाई के-के असर गर्छ ?

विकिरणले छालामा असर गर्नसक्छ । यसले मोतिबिन्दुको समस्या पनि निम्त्याउँसक्छ । बाँझोपन गराउन सक्छ । गर्भवती महिलाको हकमा विकिरणको प्रभावले  गर्भमा रहेको बच्चाको मृत्युसमेत हुन सक्छ । सकेसम्म गर्भवती महिलाको हकमा सुरुको समयमा एक्स–रे नगरेकै राम्रो हुन्छ । गर्नुपर्ने अवस्थामा विकिरण सावधानीको उच्च मापदण्ड अनुसार lead Apron प्रयोग गरेर चाँहिने ठाउमा मात्रै केन्द्रित गरेर एक्स–रे गर्नुपर्छ । त्यस्तै, क्यान्सर लगायत अन्य समस्या पनि निम्त्याउन सक्छ ।

सिटि भ्यालू सिटि सिभ्योरेटी स्कोरमा के फरक हुन्छ ?

सिटी भ्यालू आरटी–पीसीआरटेस्टबाट थाहा हुन्छ । यसमा बिरामीको पीसीआर टेस्टको स्याम्पलमा भाइरलको लोड हेर्ने गरिन्छ । भाइरल लोडको अंक१७ देखि २४ भएमा उच्च जोखिम मनिन्छ २४ देखि ३५ भएमा मध्यम अनि ३५ देखि माथि भएकोलाई मन्द जोखिम मन्निछ । जति सिटि भ्यालू कम हुन्छ भाइरलको लोड त्यति नै धेरै हुन्छ । यसबाट भाइरल लोडको बारेमा मात्र थाहा हुन्छ । सिटिस्क्यानबाट ‘सिटि सिभ्योरेटी स्कोर (फोसोमा संक्रमण गम्भीरता मापन गर्न) हेरिन्छ । सिटि भ्यालू र सिटि सिभ्योरेटी स्कोर दुई फरक-फरक कुरा हुन् ।

सिटि स्कोरले फोक्सोमा संक्रमणको गम्भीरता थाहा पाउन सकिन्छ । आउँदो दिनमा रोग कुन अवस्थामा जाँदैछ भनेर अनुमान गर्न सकिन्छ ।  कति प्रतिशत फोक्सो बिग्रिएको छ भनेर पनि थाहा हुन्छ । साथै यसले फोक्सोमा भएको संक्रमणको जटिलता, गम्भिरता मापन गरेर  अरु ब्लड टेस्ट, इन्फ्लामेटरी मार्कसको सहयोगले उपचारको योजना र रणनितीलाई  पनि सहयोग पुर्‍याउँछ ।

मानव फोक्सोलाई पाँच भागमा विभाजन गरिएको हुन्छ । तीन भाग दाइने फोक्सो र दुई भाग देब्रे फोक्सो । प्रत्येक भागलाई पाँच अंक दिइएको हुन्छ । समग्र स्कोर २५ हुन्छ । प्रत्येक भागमा संक्रमणको प्रतिशतको निकालेर अंक दिइन्छ । १-८ अंक आयो भने फोक्सोको संक्रमण मन्द खालको मनिन्छ । ८-१५ भयो भने मध्यम मनिन्छ । १५ -२५ अंकलाई गम्भीर मनिन्छ ।  यस्ता बिरामीहरूको अवस्था तत्कालै बिग्रिन सक्ने संभावना रहन सक्छ ।

 

                                                         CT Severity Score (फोक्सोमा संक्रमण गम्भीरता मापन अंक १५, फोक्सोमा संक्रमण संग्लग्नता६० प्रतिशत)

कोभिड लागेका बिरामीलाई एक्स-रे वा सिटिस्क्यान र्ने कि नगर्ने भनेर दोधारमा रहेका बिरामीलाई के सुझाव दिनुहुन्छ ?

मन्द लक्षण देखिएका तर, कुनै दीर्घ रोग नभएका बिरामीले छातीको एक्स-रे नगर्दा पनि हुन्छ । उनीहरू होम आइसोलेसनमा बसेर निरन्तररूपमा चिकित्सकको परामर्श लिइरहनुपर्छ । उनीहरूले घरमै समय–समयमा अक्सिजन लेभल जाँच गर्ने, पोसिलो खानेकुरा खाने, सकारात्मक सोच राख्‍ने र योग ध्यान गर्ने गर्नुपर्छ । त्यस्तै, मध्यम लक्षण देखिएका बिरामीमा पनि  श्वासप्रश्वासको लक्षण नदेखिएसम्म डराइहाल्नु पर्दैन ।

त्यस्ता बिरामीहरू धेरै आत्तिएर आस्पताल भर्ना हुन जाने र अनावश्यक अक्सिजनको सेवन गर्नुहुँदैन । अनावश्यक अक्सिजन सेवन गरेमा यसको अन्य असर हुन्छ र साथै वास्तविक बिरामीहरू उपचारबाट बन्चित हुने सम्भवना धेरै रहन्छ । खोकी लाग्ने, छाती दुख्‍ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण नदेखिएसम्म आत्तिएर सिटिस्क्यान गर्न दौडिहाल्नु पर्दैन । तर, गम्भीर अवस्थाका बिरामीले भने तुरुन्तै अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार एक्स–रे वा सिटिस्क्यान गर्नुपर्छ ।

अन्त्यमा, गम्भीर बिरामीहरूले लिनै पर्ने महत्वपूर्ण औषधीहरू के-के हुन् र कसरी प्रयोग गर्नु पर्छ ?

तुलनात्मकरूपमा कोभिड-१९ को पहिलो लहरमा भन्दा दोस्रो लहरमा धेरैजसो बिरामीहरू गम्भीर अवस्था पुगेको देखिएको छ | अहिलेको अवस्थामा आक्रमक उपचारको रणनीति आवश्यकता देखिन्छ । Steriod (Prednisolone/desamethasone), रगत पातलो गर्ने औषधी जस्तै low molecular weight heparin, warfarin वा aspirin जस्ता औषधीहरू अहिलेको अवस्थामा धेरै उपयोगी मानिन्छ ।  बिभिन्न अध्ययन अनुसार यसले बिरामीको मृत्युदर न्यून भएको पाइएको छ |  साथै अरु supportive औषधीहरू पनि हुन्छन । तर, यी सबै औषधीहरू चिकित्सकको सल्लाह लिएरमात्रै सेवन गर्नु पर्छ ।

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x