सिनेमा

टोरन्टोमा छानियो नवीन सुब्बाको ‘गाउँ आएको बाटो’

इकागज |
साउन २५, २०८० बिहीबार २१:१६ बजे

काठमाडौँ- नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलको ४८ औँ संस्करणमा छनौट भएको छ । निर्माण टिमले बिहीबार सामाजिक सञ्जालमा फिल्म छनौट भएको सूचना जारी गरेको हो । सामाजिक सञ्जालमा जारी प्रेस विज्ञप्तिमा विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनौट हुनुले नेपाली चलचित्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । 

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतार चढावलाई नियाल्ने प्रयास गरिएको छ । यो चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो । यो चलचित्रको निर्माणमा देश भित्र र विश्वका विभिन्न देशहरूमा छरेर रहेका नेपालीहरूले सामूहिक लगानी गरेका छन् । 


चलचित्र भोजपुरको आमचोक, भोजपूर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन भएको हो । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा आदिको अभिनय रहेको छ । महेश राई र नवीन सुब्बाको लेखन रहेको यस चलचित्रमा जोस हेरमको छायाङ्कन, क्वान पुन लिउङको सम्पादन, हेडी लि को संगीत, किशोर आचार्यको ध्वनी, राज थापाको प्रडक्सन डिजाइन, जगदिश अधिकारी र सुजना श्रीशको कला, रजत राईको प्रप्स र सिकुमा राईको कस्टयुम डिजाइन छ ।

मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको चलचित्रको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता रहेको छन् । टोरन्टोको नयाँ संस्करण सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने छ ।


Author

थप समाचार
x