भोलिदेखि वडा २५ मा ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन हुने

इकागज | चैत १६, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वडा नं. २५ मा भोलि शनिबारदेखि ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । यसका लागि सहयोगको अनुरोध गर्दै आज सचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका पदाधिकारी, महानगर प्रहरी, कर्मचारी, स्थानीय क्लब, टोल सुधार समिति, महिला समूहसहित सहभागी थिए ।

टेङ्गलबाट सुरु भएको प्रभातफेरी सिंघल, ठँहिटी, त्यौड, असन, इन्द्रचोक हुँदै न्यकन्तल पुगेको थियो । यस क्रममा फोहोर संकलन गरिने सवारी साधनमा फोहोर फाल्ने विधि प्रदर्शन गरिएको थियो । 

कार्यक्रमपछि वडाध्यक्ष राजेश डंगोलले, फोहोर संकलन गर्न आउने साधनमा फोहोर फाल्दा हरियोमा कुहिने र रातोमा नकुहिने फोहोर राख्न महिला समूहबाट निगरानी हुने विश्वास व्यक्त गरे । ‘असल अभ्यासले सबैको भलो हुन्छ । सचेतना र निगरानीले नतिजा ल्याउन सजिलो हुन्छ,’ वडाध्यक्षले नागरिक दायित्वप्रति भरोसा रहेको बताउँदै भने । 

यस्तै जनगणना २०७८ अनुसार यस वडाको घरपरिवार संख्या २ हजार ३३५ र जनसंख्या ८ हजार ९६६ जना रहेको छ । ‘वडा नं. २७ बाट थालिएको फोहोर वर्गीकरण अभ्यास वडा नं. १०, १२ हुँदै वडा नं. २५ सम्म आएको छ,’ सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्छिन्, ‘यसपछि तत्काल वडा नं. ५, २३ र २४ बाट काम थाल्दैछौँ ।’

हरेक परिवारको भान्छा र घरबाट कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । उत्पादन भएकै ठाउँमा कुहिनेलाई हरियो र नकुहिनेलाई रातो बाल्टिनमा राख्नुपर्छ । यसो गर्न सकियो भने फेरि छुट्याउन समय खर्च गर्नु पर्दैन । नकुहिने फोहोर त बिक्री पनि हुन्छ । कुहिने फोहोरलाई घरमै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । 

तरकारी (साग सब्जी), बढी धोएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहोर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरू, फलाम आदि नकुहिने फोहोर हुन् । 

यससँगै सेनिटरी प्‍याड, डाइपर, विषादीको खाली बोतल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनिटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।      

काठमाडौँ महानगरले भन्यो : निजी विद्यालयले एक महिनामा नेपालीपन झल्कने नाम राख्‍नू

इकागज | चैत १५, २०८०

काठमाडौँ- निजी विद्यालयलाई काठमाडौँ महानगरले एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । महा...

सूचकका आधारमा शौचालयहरूको वर्गीकरण गरिन्छ : प्रमुख प्रशासकीय अधिकृत परियार

इकागज | चैत १२, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सार्वजनिक शौचालयको स्तर...

काठमाडौँ महानगर घरायसी सामग्रीलाई कवाडीमा समावेश गरी कर उठाउँदै

अतिन आचार्य | चैत १२, २०८०

काठमाडौँ- रामप्रसाद रिमालले काठमाडौँबाट घरायसी सामग्री रौतहट लगे । काठमाडौँ महानगरपालिका ३ लाजिम्पाट...