शिक्षा

एसईईमा काठमाडौँबाट ३६ हजार ३६८ विद्यार्थी सहभागी, ५२६ जना गयल

आइइएमआइएसमा महानगरभित्रका १८ हजार ५६ विद्यार्थीको नाम दर्ता

इकागज |
चैत १५, २०८० बिहीबार २०:१६ बजे

काठमाडौँ- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी सहभागी भएका छन् । यसमा छात्रको संख्या २० हजार ५ जना र छात्राको संख्या १६ हजार ३६३ जना छन् ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विचारीप्रसाद अधिकारीका अनुसार २५६ जना छात्र र २७० जना छात्रा गरी ५२६ जना अनुपस्थित रहेका छन् । जिल्लामा १२७ वटा केन्द्रबाट परीक्षा छन् । जसमध्ये काठमाडौँ महानगरपालिकाभित्र ६३ वटा केन्द्र छन् ।


संस्थागत र सामुदायिक गरी देशभरिका १० हजार ८०६ विद्यालयबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यसमा २ लाख ५० हजार ७७२ जना छात्रा, २ लाख ५३ हजार ६२७ जना छात्र र १५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक रहेको एसईई परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४६७ वटा विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) को कक्षागत विवरणमा यस शैक्षिक सत्रको कक्षागत विवरणमा कक्षा १० का १८ हजार ५६ जना विद्यार्थीको विवरण दर्ता गरेका थिए । जसमा ९ हजार ५६७ जना छात्र र ८ हजार ४८९ जना छात्रा छन् । यीमध्ये कति विद्यार्थी परीक्षामा सहभागी भए भन्ने प्रश्नको जवाफमा एकाइ प्रमुख अधिकारी भन्छन्, ‘यसमा दुईवटा पक्ष छन् । एउटा, यो विवरण भरिसकेपछि खुलेको फारमबाट विद्यार्थीको संख्या थप हुन सक्छ । यीमध्ये पनि महानगरपालिकाभित्रका कति विद्यार्थी सहभागी भए भन्न कठिन छ किनभने हामीले विद्यार्थीहरूको सहजताका लागि अन्य पालिकाका विद्यार्थीको परीक्षा केन्द्र महानगरपालिका र महानगरपालिकाका विद्यार्थीहरूका लागि अन्य पालिकामा पनि केन्द्र बनाएका छौँ ।’

५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ४५२ जना विद्यार्थीमध्ये २ हजार १८५ जना छात्र र २ हजार २६७ जना छात्रा छन् । १९ वटा वैकल्पिक विद्यालयका १ हजार ६५१ जना विद्यार्थीमध्ये ५८५ जना छात्र र १ हजार ६६ जना छात्रा छन् । ३ वटा धार्मिक विद्यालयबाट ४२ जना विद्यार्थी सहभागी छन् । जसमध्ये ४ जना छात्र र ३८ जना छात्रा छन् ।

३८७ वटा निजी विद्यालयहरूबाट ५ हजार ११८ जना छात्र र ६ हजार ७९३ जना छात्रा गरी ११ हजार ९११ जना विद्यार्थी सहभागी भएका छन् ।


Author

थप समाचार
x