समाज

अर्काकाे कार्यालयमा पार्किङ खाेज्ने महानगरका आफ्नै वडाहरू अस्तव्यस्त

काठमाडौँ महानगरका वडामा छैन पार्किङ

शुरज थपलिया |
चैत १५, २०८० बिहीबार १८:१६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका अधिकांश वडा कार्यालयमा व्यवस्थित पार्किङ नरहेको पाइएको छ । वडा कार्यालयमा पार्किङ नहुँदा सेवाग्राहीहरू सडकमै पार्किङ गर्न बाध्य छन् । भएका पार्किङ अव्यवस्थित छन् । पार्किङमा सवारी साधन नभएर निर्माण सामग्री राखिएका छन् ।

महानगरको वडा नम्बर १६ मा पार्किङको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको सेवाग्राही सलोजा वैद्यले​ बताइन् । उनका अनुसार ट्राफिक प्रहरीले सवारी साधन लगेर दु:ख दिएका छन् । ‘छोराको नागरिकताको सिफारिस लिन आएको थिएँ सडक छेउमा पार्किङ गरेर भित्र गएँ,’ उनले भनिन्, ‘आउँदा स्कुटर ट्राफिक प्रहरीले लगिसकेछन् ।’ काठमाडौँ महानगरको वडा भएर पनि केही सेवा सुविधा नभएको भन्दै उनले आक्रोश पोखिन् । 


वडा कार्यालयसँगै सडक जोडिएको छ । वडा अगाडि पैदल यात्रीले हिँड्ने बाटाेसमेत छैन । पैदल यात्रीले हिँड्ने बाटाेमा रेलिङ राख्दा पैदल यात्रीहरू सडकबाट नै हिँड्नु परेको छ । सडकबाट सवारीसाधन र पैदल यात्री हिँड्दा दुर्घटनाको जोखिम भएकाे उनले बताइन् ।

वडा १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जन वडामा पार्किङ नभएको स्वीकार्छन् । ‘वडा कार्यालय छेउको सडकको दायाँबायाँ पार्किङ गर्छौँ,’ उनले भने, ‘ ट्राफिक प्रहरीसँग समन्वय गरेका कारण सकेसम्म सेवाग्राहीको सवारी साधन नलान भनेका छौँ ।’

आफ्नै भवन नहुँदा विभिन्न समस्या वडाले समेत भाेग्नुपरेको उनले दुखेसाे पाेखे । वैशाखबाट नयाँ भवनमा सरेसँगै पार्किङको सुविधा सहज हुने उनको भनाइ छ ।

यता, काठमाडौँको वडा नम्बर १ मा पनि पार्किङको समस्या छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले पार्किङको सुविधा नभएको बताए । ‘सेवाग्राहीले सडकको छेउ, दायाँ बायाँ पार्किङ गर्नुहुन्छ,’ उनले भने, ‘वडाको आफ्नै पार्किङ छैन ।’ सडक छेउ पार्किङ गर्दा विभिन्न समयमा ट्राफिक प्रहरीले दु:ख दिएको उनले सुनाए । उनले भने, ‘ काम सकेर फर्किँदा सवारी साधन उठाएर लगिसक्छन् ।’

उक्त वडालाई सुरक्षित पार्न भन्दै तारबारले घेरिएको छ । वडा नजिकै किराना पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले वडा कार्यालय नभएर चिडियाखाना जस्ताे लाग्ने बताए । वडा अगाडिको सडक भत्किँदासमेत वडाले वास्ता नगरेको उनले गुनासो गरे । ​

वडा नम्बर २९ मा पनि पार्किङ छैन । वडाले स्थानीयको घरमा केही मोटरसाइकल पार्किङ गर्ने व्यवस्था गरे पनि त्यहाँ गाडी पार्किङ गर्न सकिन्न । वडाध्यक्ष कुश ढकालले वडाको आफ्नै पार्किङ नभएको बताए । उनका अनुसार १४ वटा जति मोटरसाइकल पार्किङ हुने ठाउँ भाडामा लिएको छ ।

यस्तै वडा नम्बर ३० मा पनि पार्किङ छैन । कार्यालयमा विशेष किसिमका सेवाग्राही (अपांग, वृद्धवृद्धा र गर्भवती) सहजै जान सक्दैनन् । वडाकाे बाटाे अगाडि होटल सञ्चालन गरिएको छ । ‘मेयर बालेन्द्र शाह ‘बालेन' ले अन्य कार्यालय, हाउजिङ र व्यक्तिगत घरहरूमा अन्डरग्राउण्ड पार्किङका लागि हो भनेर व्यवस्था गर्नुभयो,’ वडामा आएका एक सेवाग्राहीले भने, ‘तर, आफ्नै वडाहरूको अवस्था भने बुझ्नुभएको रहेन छ ।’

वडा नम्बर ४ को वडा कार्यालय आफ्नै भवनमा छ । पार्किङ पनि छ । तर, सवारी पार्किङ गर्ने स्थानमा विभिन्न सामग्रीहरू राखिएकाले पार्किङ गर्न सकिँदैन । सेवाग्राही ५० वर्षीय रामबाबु जोशीले वडामा सेवा लिन आए पनि सवारी पार्किङ सडकमै गर्नु परेकोमा आक्रोश पाेखे । ‘पार्किङ गर्ने स्थानमा फलामलगायत विभिन्न सामग्री राखिएको छ,’ उनले भने, ‘सेवा लिन आउनेले पार्किङ गर्ने ठाउँ छैन ।’ सुविधा भएर पनि प्रयोग गर्न नपाएको उनले बताए ।  

वडा नम्बर ३ मा पनि पार्किङ गर्ने स्थानमा विभिन्न सामग्री राखिएको छ । दुई वटा गाडीसम्म पार्किङ गर्न सकिने ठाउँमा बिरुवा रोपेर लगाइने जाली राखिएको छ । 
वडाका एक कर्मचारीले सवारी पार्किङ गर्ने ठाउँ भए पनि सामानका कारण पार्किङ गर्न नसकिएको बताए । ‘सेवा लिन आउने सेवाग्राहीले पार्किङको व्यवस्था आफैँ गर्नुपर्छ,’ उनले भने ।  

वडा नम्बर २ मा पनि पार्किङको समस्या छ । वडा कार्यालय भरि पोस्टर नै पोस्टर टाँगिएको छ । स्थानीय ४५ वर्षीय रोशनी श्रेष्ठले वडा कार्यालय फिल्म हल जस्तो भएको गुनासो गरिन् ।

‘आवश्यक फ्लेक्स पाे टाँङ्ने 'डेट एक्स्पायर' भएका सामग्रीले वडा कार्यालय फिल्म हल जस्तो देखिएको छ,’ उनले भनिन्, ‘त्यसलाई हटाएर खुल्ला बनाउने तर्फ जनप्रतिनिधि र कर्मचारीहरूको ध्यानै छैन ।’

कार्यालय अपांगमैत्री नभएको उनको गुनासो छ। ‘ह्विलचेयरमा हिँड्छु केही काम पर्यो भने वडा कार्यालय जानै सक्दिनँ,’ उनले दुखेसाे पाेखिन् ।  

वडा नम्बर ९ बत्तीसपुतलीमा पनि पार्किङको समस्या छ । पार्किङ व्यवस्थित भएपनि अपांगमैत्री नभएको सेवाग्राहीले बताएका छन् । कार पार्किङ हुँदैन । वडा कार्यालयकाे पार्किङ भिरालाे बाटाे हुँदै जानुपर्ने भएकाले सवारी पार्किङ वडा कार्यालयको पार्किङमा नगरी सडकको दायाँबायाँ गरिएको छ । 

यता, वडा नम्बर २६ लैनचौरमा भने व्यवस्थित पार्किङ छ । खुल्ला र अपांगमैत्री पनि छ । वडा कार्यालयसँगै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रहेको छ ।


Author

थप समाचार
x