समाज

‘सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको रोक सकारात्मक’

इकागज |
मंसिर २८, २०८० बिहीबार १९:११ बजे

काठमाडौँ- बिहीबारदेखि काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग र मुखमा राखी रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाइएको छ ।

बुधबार महानगरले पत्रकार सम्मेलन गरी अबदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइएको समेत जानकारी दिएको थियो । महानगरपालिकाले सुर्तीजन्य पदार्थ निरुपण र नियमन ऐन २०६८ को दफा ११ बमोजिम र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको जनाएको छ । 


महानगरका विभिन्न ठाउँमा अनुगमन गरी पसलमा राखिएका सुर्तीजन्य पदार्थ पनि नियन्त्रणमा लिएको छ । सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरेको छ ।
पसल अगाडि गुट्खा खैनी खाई प्लाष्टिकको खोल फालेकाले पसल धनीलाई फोहोर उठाउनसमेत लगाएको छ । महानगरपालिकाले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न र सहरी सौन्दर्यता कायम राख्न प्रतिबन्ध लगाएको हो । भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थमा रोक लगाएको हो । 

महानगरपालिकाले सुर्तीजन्य पदार्थमा रोक लगाएर केही हदसम्म वातावरणीय सौन्दर्य बढाउन सक्ने वातावरणविद भुषण तुलाधरले बताए । 'ठाउँ-ठाउँमा भएका सिगरेट र गुट्खाको खोलले पनि फोहोर गरिरहेको हुन्छ,' उनले भने, 'सुर्तीजन्य पदार्थको खोल नहुनासाथ वातावरणमा प्रत्यक्ष देखा पर्दैन । परागका खोलहरू नभएपछि यसले स्वतः वातावरण सफा राख्छ ।'

बिक्री वितरणमा रोक लगाएपछि केही मात्रामा बाटोमा गुट्खाजन्य पदार्थको खोलहरू नदेखिने उनले बताए । महानगरले चालेको यस कदमलाई सकारात्मक रूपमा लिन सकिने उनको भनाइ छ ।

सहरी सौन्दर्य र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो भएको मान्न सकिने उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राम्रो काम गरेपछि अन्य स्थानीय तहले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सक्ने उनले उल्लेख गरे ।

'उपत्यकाको स्थानीय तहको काठमाडौँ उपत्यका फोरमले यो निर्णय गर्न सकेको भए अझ धेरै राम्रो हुने थियो,' उनले अगाडि थपे, 'अर्को स्थानीय तहबाट खरिद गरेर पनि सेवन गर्न सक्नेछन् । त्यसका लागि महानगरले प्रभावकारी रूपमा अनुगमन गर्नुपर्नेछ ।' 

तुलाधरले बाहिरका स्थानीय तहबाट आएका मानिसहरू आफैँ सचेत हुनुपर्ने धारणा राखे । 'सहर र वातावरण सफा राख्‍न केही नियमको आवश्यक पर्छ । महानगरले त्यहीँ नियम लागू गराउन खोजेको हो,' उनले सुनाए ।

गैह्रीधाराका व्यवसायी महेन्द्र खड्काले महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको राम्रो रहेको बताए । स्वास्थ्य र सहरी सौन्दर्यको दृष्टिकोणले पनि राम्रो रहन गएको उनको भनाइ छ ।

'महानगरपालिकाले सडक पारि गएर किन्नु र वारि आएर फोहोर गर्न भन्न खोजेको जस्तो भयो,' व्यवसायी खड्काले भने, 'यसका लागि सुर्तीजन्य पदार्थ बनाउने उद्योग बन्द गर्नुपर्छ । स्थानीय सरकारको कामलाई केन्द्र सरकारले सहयोग गर्नुपर्छ ।'

महानगरले सहर सफा राख्न सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएर सकारात्मक कार्यको थालनी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
'महानगरभित्र रहेका सबै पसलमा अनुगमन गरिन्छ,' उनले भने, 'दुई पटक पसलमा सुर्तीजन्य पदार्थ पाइएमा जफत गरिने तर तेस्रो पटक भेटेमा पसल बन्द गरिन्छ ।'

सार्वजनिक स्थानमा धुम्रपान गरिनेलाई बाहिर निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने मानन्धरले बताए । सार्वजनिक स्थलको एक सय मिटर वरिपरि बिक्री वितरण गरेको पाइएमा जफत गरिने उनले जानकारी दिए ।

अनुगमनका लागि चार क्षेत्रमा १० जना नगर प्रहरी खटाइने मानन्धरले जानकारी दिए । महानगरले केन्द्रमा निरन्तर अनुगमनको लागि १० जना खटाउने भएको छ । पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन र सादा पोसाकमा समेत खटाउने भएको छ ।


Author

थप समाचार
x