खेलकुद

एन्फामा कर्मा नेतृत्वको ४ वर्ष: मैदानभित्र सफल, बाहिर असफल

सञ्जीव शाह |
बैशाख १२, २०७९ सोमबार १८:५१ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा ) मा २०७५ वैशाख २२ पछि कर्मा छिरिङ्ग शेर्पाको नेतृत्वमा नयाँ कार्यसमितिले आफ्नो कार्य थालेको थियो । उक्त नेतृत्वले एन्फामा चार वर्ष पनि पूरा गर्दैछ । एन्फा अध्यक्ष कर्मा छिरिङले आफ्नो कार्यकाल सफल रहेको दाबीसमेत गर्ने गरेका छन् ।

कर्मा छिरिङ्गले आफ्नो नेतृत्वले चार वर्षमा ५० भन्दा बढी मुख्य काम गरेको लामै विवरण इकागजलाई उपलब्ध गराएका छन् ।


जसमध्ये इतिहासमै २८ वर्षपछि नेपाली फुटबल टिम पहिलो पटक साफ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुलाई उनले आफ्नो कार्यकालको ठूलो उपलब्धिको रुपमा लिएका छन् जसमा धेरै सहमत पनि छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङले एएफसी एसिया कपको तेस्रो चरणमा पुग्नु,  नेपालमै भएको दक्षिण एसियाली खेलकुद ‘साग’ मा पुरुष फुटबलमा स्वर्ण, थ्री नेसन्स कप (नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता) जित्नु, अफ्रिकी राष्ट्र मरिससविरुद्ध मैत्रीपूर्ण खेल आयोजना साथै इराक, ओमन, थाइल्यान्ड र म्यानमार जस्ता टिमसँग मैत्रीपूर्ण खेल, साफ सुजुकी कप, बंगबन्धु गोल्डकप, साफ, विश्वकप छनोट (२०७६) खेल्नुलाई पनि उपलब्धिको रुपमा उल्लेख गरेका छन् ।

महिला टिम पहिलो पटक एएफसी कप छनोटको दोस्रो चरण पुग्नु, बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल आयोजना गर्नु, महिला साफ, ओलम्पिक छनोट, नादेज्दा कप, सागमा सहभागिता तथा उपत्यका बाहिर साफको आयोजना गर्नु पनि उनको उपलब्धिका सूची भित्र अटाएका छन् ।

उमेर समूह तर्फ यू-१५ पुरुष साफ, यू-१६ एएफसी च्याम्पियनशीप छनोट, यू-१८ एशियन स्कुल प्रतियोगिता, यू-१९ एएफसी च्याम्पियनशीप छनोट, यू-२३ एएफसी कप छनोट, यू-१९ महिला एएफसी कप छनोट, साफमा सहभागिता तथा मैत्रीपूर्ण खेल्नु पनि एन्फाको उपलब्धिको सूचीमा पर्छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ्गले आफ्नो कार्यकाल सफल रहेको तथा कैयौं कुराको पहिलो पटक सुरुवात गरेको बताइरहँदा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष तथा बीबीसी नेपालीका खेलकुद पत्रकार निरञ्जन राजवंशीले कर्मा नेतृत्वको कार्यकाललाई दुई पाटोमा हेर्नुपर्ने बताउँछन् -- पहिलो मैदानभित्रको गतिविधि र दोस्रो मैदान बाहिरको गतिविधि ।

मैदानभित्रका गतिविधिका लागि असन्तुष्ट हुने ठाउँ नरहेको राजवंशीको धारणा रहेको छ ।

‘साफको फाइनल पुग्नु सबैभन्दा ठूलो उपलब्धि हो । एएफसी एसिया कपको तेस्रो चरण पुग्नु पनि उपलब्धि नै हो । त्यसका साथै कोरोनाको समयमा पनि फुटबलका गतिविधिलाई निरन्तरता दिन सक्नु, ए बी सी डिभिजन लिगलाई सञ्चालन गर्नु, महिला फुटबल खेलहरुलाई निरन्तरता दिन सक्नु, नेपाल सुपर लिगको सुरुवात हुनुले मैदानभित्र असन्तुष्ट हुने ठाउँ छैन्,’ राजवंशीले बताए ।

तर मैदानबाहिर खराब कार्यहरु भएको र यसले कर्मा छिरिङमा नेतृत्व क्षमताको अभाव देखिएको उनको बुझाई रहेको छ ।

कर्मा छिरिङ अध्यक्षमा निर्वाचित भएर आएपछि नै राजनीति सुरु भएको तथा आन्तरिक किचलोले नेपाली फुटबलको ‘इमेज’ नै ब्रिग्रिएको तथा धमिल्याएको राजवंशीको भनाई छ ।

‘आन्तरिक राजनीति जेलियो, एकले अर्कालाई जित्ने प्रयास गर्दा फोहरी खेल भयो । यसका कारण राम्रो काम गर्न सकेन । यसको प्रभाव फुटबलमा देखियो । यो भनेको कर्माको नेतृत्व गर्ने क्षमतामा कमि भएको देखायो,’ उनी बताउँछन् ।

आफ्नै सहयात्रीहरु विरोधी हुँदा मैदान बाहिरको खेल असाध्यै ब्रिग्रिएको तथा एनएसएल ल्याउदा एन्फाले विवेक नपुर्याएकाले पनि एन्फामा विवाद भएको राजवंशीको बुझाई छ ।

यता कर्मा छिरिङ्गले आफ्नो कार्यकाल मैदानभित्र र मैदान बाहिर पनि सफल नै रहेको दाबी गर्छन् ।

 

‘एन्फाको सबै निर्णयहरु सहमतिमै भएको, कार्यसमिति भित्र कुनै विवाद नरहेको तथा सबैलाई आफ्नो असन्तुष्टि राख्नने अवसर प्रदान गरिएको थियो,’ कर्मा छिरिङले भने ।

पूर्व अध्यक्ष गणेश थापाको करिब दुई दशक लामो कार्यकालको अन्त्य गरेर एन्फा नेतृत्वमा आउनुअघि नै कर्मा छिरिङ्ग तथा उनका समर्थकले एन्फामा हुकुमी शैलीको अन्त्य गर्ने, विधिको शासन स्थापित गर्ने, नेतृत्वको कार्यशैली परिवर्तन गर्ने, भ्रष्टाचारको अन्त् गर्ने जस्ता प्रतिवद्धता गरेका थिए ।  

तर कर्मा छिरिङ्गको नेतृत्वले गरेको प्रतिवद्धता पूरा गर्न नसकेको वरिष्ठ खेलकुद पत्रकार अजय फुयाल बताउँछन् ।

‘टिम बनाएर चुनाव जिते पनि सबैभन्दा पहिला कर्मा छिरिङ्गको टिम नै तितरवितर भयो जसले गर्दा वाचा अनुसारका काम गर्न सकेनन् । भ्रष्टाचार र अपारदर्शिताको विरोध गरेर सुशासनका लागि भनेर नेतृत्वमा आएपनि कर्मा छिरिङ्ग नेतृत्वको काल त्यसमै सबैभन्दा बढी विवादित भयो । भित्रकै मानिसले एकअर्कालाई आरोप प्रत्यारोप गर्ने कार्य राम्रो देखिएन,’ फुयाल थप्छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष समेत रहेका फुयालका अनुसार कर्मा छिरिङ्गको नेतृत्वले सातवटै प्रदेशमा महिला र पुरुष एकेडेमी बनाउने, लिग व्यवस्थित गर्ने जस्ता कार्य गर्ने प्रतिवद्धता जनाएपनि योजना अनुसार काम गर्न सकेन । सम्रगमा यस नेतृत्वबाट धेरै गर्ने ठाउँ भएपनि निराशाजनक नै भएको फुयालको बुझाइ छ ।

उनका अनुसार मैदानभित्रको सफलता मानिएको नेपाल साफको फाइनल पुग्नुमा पनि प्रतियोगिताको फर्म्याटले सहयोग गरेको थियो ।

‘यसअघिका प्रतियोगितामा समूह चरण, सेमिफाइनलपछिमात्र फाइनल हुने गरेकोमा यस पटक टिम कम भएपछि सेमिफाइनल खेल्न नपरेर फाइनल खेल्ने अवसर पाएको हो । टिमको प्रदर्शन भन्दा पनि प्रतियोगिताको फर्म्याटले सहयोग गरेको हो,’ फुयालले थपे । उनले मैदानभित्रको सफलता चार पाँच वर्षपछि मात्र देखिने बताउछन् ।

‘चार पाँच वर्षपछि खेलाडीहरुले अहिलेझै प्रदर्शन गर्न सक्यो भने मैदानमा कर्मा छिरिङ्गको नेतृत्व मैदानमा सफल भएको देखिनेछ,’ फुयालले बताए ।

 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x