कोशी

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट ६ हजार लाभान्वित

इकागज |
चैत २४, २०८० शनिबार ११:१८ बजे

खोटाङ- खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ  जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट छ हजार छ ३८ जना लाभान्वित भएका समाजले जनाएको छ । 

विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक स्थानमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा गाइनोकोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको समाजका अध्यक्ष डा. प्रमोद राईले बताए । 


शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित ३३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । शिविर सञ्चालनमा रु तीन करोड दश लाख खर्च भएको उनले जानकारी दिए । 

जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित बृहत् स्वास्थ्य शिविरको  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यही चैत १४ गते उद्घाटन गरेका थिए । 


Author

थप समाचार
x