कोशी

प्रहरीकै पेस्तोल खोसेर फरार भएपछि समातिए सात जना

११ पटक लुटपाट गरिसकेको गिरोह समाउन अपरेशन ‘शेरा ब्राभो हन्ट’

बाबुराम भण्डारी |
भदौ २४, २०८० आइतबार २२:४ बजे

विराटनगर - मोरङ प्रहरीले हालसम्म ११ पटक लुटपाट गरिसकेको एउटा गिरोह समाप्त निकै चुनौतीको सामना गर्नुपरेको छ । रातको समयमा जरुरी परेर राजमार्ग र अन्य सडकमा यात्रा गर्ने यात्रुहरुलाई लुटेरा समुहले पेस्तोल देखाएर लुटपाट गर्दै आएकोमा त्यो समुह पक्राउ गर्न विशेष अपरेशन नै चलाउनु परेको हो ।

लुटपाटमा पेशेवर रुपमा संलग्न रहेको समूहलाई पक्रन प्रहरीले चलाएको अपरेशन ‘शेरा ब्राभो हन्ट’ शुक्रबारमात्रै सफल भएको छ । 


लुटेरा समुहले बिहीबार राति सादा पोशाकका रहेका दुई प्रहरीको पेस्तोल नै लुटेर भागेका थिए । त्यसको भोलिपल्टै उनीहरु विशेष अपरेशनको मद्दतमा पक्राउ परेका हुन् । 

बिहीबार सुनसरीको दुहबीस्थित इलाका प्रहरी कार्यालयबाट ड्यूटीमा खटिएको सादा पोशाकमा दुई प्रहरीलाई बर्जु गाउँपालिकाको शुक्रबारेमा सोही समूहले आक्रमण गरेको थियो । आक्रमणपछि प्रहरीले पेस्तोलबाट हवाई फायर गर्न खोजेपनि पेस्तोल नपड्किएपछि लुटेराहरुले प्रहरीकै चाइनिज पेस्तोल खोसेर भागेका थिए ।

मोरङ र सुनसरीका विभिन्न स्थानमा लगातार लुटपाट मच्चाउँदै आएको समूहसँग जम्काभेट भएपछि प्रहरीमाथि आक्रमण हुँदा दुई मध्ये एक प्रहरी जवान घाइते पनि भएका थिए । तर प्रहरीले अपरेशन ‘शेरा ब्राभो हन्ट’ मा २४ घण्टाभित्रै सफलता प्राप्त गरेको हो । १० जनाको कमाण्डमा खटिएको प्रहरी टोलीले लुटिएको आफ्नो पेस्तोलसहित उक्त गिरोहका ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गर्दै उनीहरुले लुटपाटमा प्रयोग गर्ने कटुवा पेस्तोल, फलामको रड र केही धारिला हातहतियारसहित विभिन्न समयमा लुटिएका मोबाइल, उनीहरुले प्रयोग गरेका दुई थान मोटरसाइकल जस्ता सामग्रीहरु बरामद गरिएको जानकारी दिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले श्रृंखलाबद्ध लुटपाटको घटना हुन थालेपछि प्रहरीले विशेष अपरेशन चलाएर सफलता प्राप्त गरेको जानकारी दिए ।

उक्त समुहले पछिल्लो पटक शुक्रबार राति साढे ११ बजेको समयमा मोरङको बुढिगंगा गाउँपालिका–५ कोयलपुर क्षेत्रमा पैदल हिंडिरहेका तीन जनालाई लुटपाट गर्न खोजेको भनी प्रहरी कन्ट्रोलमा सूचना प्राप्त भएकोले उनीहरुको खोजीमा निस्किएको प्रहरीले टोलीले केहीबेरमै कोयलपुर क्षेत्रको नहर सडकमा शंकास्पद रुपमा भेटिएका ६ जनालाई नियन्त्रण लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले बताए ।

पक्राउ पर्नेहरुमा सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मियाँ, दुहवी–१ का ३० वर्षीय मो.अलिम मुर्तुजा, मोरङ बुढिगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मियाँ र २५ वर्षीय सिजाम आलम, बुढिगंगा–५ का २१ वर्षीय मो।नजरूल मियाँ, बुढिगंगा–४ बस्ने बर्ष २५ को सिजाम आलम र भारत घर भई हाल सुनसरीकै दुहवी–६ मा बस्दै आएका ४० वर्षीय मो।आलम रहेका छन् । एक जना भने नाबालक रहेको प्रहरीको भनाई छ । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा बुढिगंगा–५ मुस्लिम टोलबाट लुटपाटमा प्रयोग भएका कटुवा पेस्तोल, लुटिएको प्रहरीको चाइनिज पेस्तोल सहितका धारिला हातहतियार, विभिन्न व्यक्तिहरुबाट लुटिएका गरगहना, मोबाइल र नगद बरामद गरेको जनाइएको छ । लुटिएका सामग्रीहरु बुढीगंगा–४ पोठियास्थित रिजवान मियाँको घरको छानामा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

लुटेराहरुले भदौ महिनाभित्रै दर्जन लुटपाट गरेका थिए । लुटपाट भइरहेको उजुरी आएपछि प्रहरीले उक्त समूहको खोजी गरिरहेको थियो । प्रहरीका अनुसार भदौ २ गते राति मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलमा सवार दुई जनाबाट गरगहना, नगद र मोबाइल लुटेको थियो । भोलिपल्टै अर्थात ३ गते राति पनि पाँच जना पैदलयात्रीहरुलाई कन्चटमा कटुवा पेस्तोल तेस्र्याएर पाँच थान मोबाइल र नगद लुटेको थियो ।

भदौ ३ मै ग्रामथानमा मोबाइल र नगद, भदौ ५ मा दुहबी–५ बाट गरगहना र मोबाइल लुटेको थियो । भदौ ९ मा ग्रामथान–५ बाटै नगद र मोबाइल, भदौ १२ मा दुहबी–१० बाट गहना र रकम लुटिएको थियो । उक्त गिरोहले सुनसरीको गढी गाउँपालिका–२ बाट ट्रक नियन्त्रणमा लिएर एकलाख ७१ हजार रुपैयाँ र दुई थान मोबाइल लुटेको थियो । 

भदौ १५ मा मोरङको बेलबारी–२ बाट नगद र मोबाइल, २१ गते मोरङ–सुनसरी सीमावर्ती गाउँहरुमा पनि लुटपाट मच्चाएको प्रहरीको दाबी छ । उक्त समुहले राति ११ देखि बिहान ४ बजेभित्र लुटपाट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको जनाइएको छ । 

उनीहरुले सडकमा गुडिरहेका यात्रुबाहक र मालबाहक सवारी साधनहरुलाई अगाडिबाट ठुलो टर्च लाइट बालेर सुरक्षा जाँच गर्ने बहानामा रोकेर लुटपाट गरेको अनुसन्धानले देखाएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । प्रहरीलाई नै चुनौतती हुने गरी श्रृंखलाबद्ध लुटपाटका घटना भएपछि उनीहरुलाई पक्राउ गर्ने क्रममा सफलता प्राप्त भएको र त्यसका लागि खटिएका आठजना प्रहरीलाई अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको जानकारी दिए ।

पक्राउ परेका मध्ये रिजवान मियाँ भने १६ वर्षदेखि आपराधिक घटनामा संलग्न हुँदै आएको खुलेको छ । उनीमाथि डाका, ज्यान, चोरी, हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग जस्ता अपराधिक घटना चलिसकेको प्रहरीको भनाइ छ । विभिन्न अपराधिक घटनामा संलग्न रहँदै मुद्दा चल्दै जेल बस्दै छुट्दै गरेको पेशेवर अपराधी रहेको जनाइएको छ । 

रिजवानले मोरङ र सुनसरीमा २०६४ देखि २०७९ भित्र १० वटा आपराधिक घटनामा संलग्नता देखिएको प्रहरीको भनाई छ । २०६४ र २०६५ मा डाका तथा ज्यान मुद्दा लागेपछि फरार भएका उनी प्रहरीको पनि फरार अभियुक्तकै सूचीमा रहेका थिए । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x