राजनीति

आवश्यक तयारी पूरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गरिँदैन : गृहमन्त्री लामिछाने

इकागज |
चैत २३, २०८० शुक्रबार १८:३३ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आवश्यक तयारी पूरा नभएसम्म हतारमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनको निर्णय नगरिने स्पष्ट पारेका छन् ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनबारे शुक्रबार मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै लामिछानेले काठमाडौँमा पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत रहे पनि त्यसको विपक्षमा रहेकाहरूको समस्या समाधान र आवश्यक तयारी नगरेसम्म यसबारे कुनै निर्णय नगरिने स्पष्ट पारे ।


पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गर्न धेरै पक्ष सहमत भएको अवस्थामा पनि थोरै असन्तुष्टलाई पेलेर जाने अवस्थामा आफू नरहेको उनको भनाइ छ । उनले पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन भएपछि गृह प्रशासन २४ सै घण्टा अलर्ट रहने धारणा राखे । लामिछानेले कसैको निन्द्रा र कसैको व्यापार पनि नबिग्रने गरी सबै तयारी पूरा गरेर पूर्णकालीन व्यापार व्यवसाय सञ्चालन गरिने जिकिर गरे ।

सहर २४ घण्टा खुले सुरक्षा, लाइसेन्स, नीति नियम लगायतको मापदण्ड पनि हुने र कडा रूपमा कार्यान्वयन पनि हुने उनले बताए । लामिछाने लागूऔषधको नियन्त्रणका लागि गृह प्रशासन निर्मम ढंगले लाग्ने पनि बताए ।

पूर्णकालीन व्यापार व्यवसाय सञ्चालनका लागि तयार पारिएको कार्यविधिका बारेमा मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो । कार्यविधिमा १८ वर्षभन्दामुनिका व्यक्तिहरूलाई प्रवेशमा रोक लगाउने, मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई सुरक्षित तवरले घरसम्म पुर्याउने वा राख्ने व्यवस्था गर्नुपर्ने यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने लगायत उल्लेख छ । 


Author

थप समाचार
x