स्वास्थ्य

के बजारमा सिटामोल अभाव भएकै हो ?

सृजना खड्का |
जेठ ६, २०७८ बिहीबार १०:२ बजे

काठमाडौँ : कीर्तिपुर, मैत्रिनगरस्थित मैत्रिनगर फार्मेसीका फार्मेसिस्ट हरि खड्का बजारमा सिटामोल (प्यारासिटामोल) अभाव हुन थालेको बताउँछन् । ‘होलसेलमा १०-१२ दिन भइसक्यो, जहिल्यै रित्तो हात फर्किनु पर्छ,’ उनी भन्छन्, ‘पुरानो स्टक अलि-अलि बाँकी छ । एकजनालाई एक पत्ताभन्दा दिन सकिएको छैन ।’

निषेधाज्ञा सुरु भएपछि उनले दिनमा पाँच सय ट्याब्लेटसम्म सिटामोल बेचे । ‘अब त केही दिनलाई पुग्‍ने मात्र सिटामोल बाँकी छ,’ उनी भन्छन्, ‘सिटामोलको अभाव छ भनेर मानिसहरूले खै कहाँबाट सुने, विगत एक हप्तादेखि सिटामोल खोज्न आउनेको संख्या ह्वात्तै बढेको छ । तर, हामीले मागअनुसार पुर्‍याउन सकेका छैनौँ ।’


बौद्ध तिनचुलीस्थित विश्वास फार्मेसीका फर्मेसिस्ट विश्वास पण्डित पनि फार्मेसीहरूमा पछिल्लो समय सिटामोलको सर्टेज हुन थालेको बताउँछन् । ‘डिमान्ड थेग्‍नै नसक्ने छ तर, हप्ता दश दिनदेखि सिटामोल आएको छैन,’ उनी भन्छन्, ‘कुनै समय एकै दिनमा १५ सय पत्तासम्म बेचियो । एकैजनाले १०-१५ पत्तासमेत लैजान्थे । सायद त्यसैले पनि होला अहिले बजारमा सिटामोल सर्टेज छ ।’

धेरैले कोभिड लागिहाल्यो भने खानको लागि सिटामोल थुपार्ने गरेको उनी बताउँछन् । ‘उनीहरूले भनेको जति सिटामोल दिने हो भने अब मेरो फार्मेसीमा एकदुई दिनलाई पुग्‍ने मात्र सिटामोल छ,’ उनी भन्छन् । काठमाडौँ, क्षेत्रपाटीस्थित सक्सेस मेडिसिन डिस्ट्रिब्यूटर्सका सञ्चालक ध्रुव अधिकारी पनि बजारमा सिटामोल अभाव भएको बताउँछन् । ‘अहिले हामीसँग पनि कुनै कम्पनीको सिटामोल छैन,’ उनी भन्छन्, ‘जबदेखि निषेधाज्ञा सुरु भयो तबदेखि सिटामेल अभाव हुन थाल्यो । निषेधाज्ञा सुरु भएपछि कम्पनीले सिटामोल नै बनाउन छाडे ।’ औषधि उत्पादक कम्पनीले अरु औषधि बनाएको तर, सिटामोल उत्पादन नगरेको उनी बताउँछन् । ‘अहिले कुनै पनि कम्पनीले प्यारासिटामोलको उत्पादन गरेका छैनन्,’ उनी भन्छन्, ‘जुन कम्पनीको भएपनि चाहियो भनेर भनिरहेका छाँै तर, पाइरहेका छैनौँ । उनीहरूले भाउ बढाउनको लागि नबनाएको भन्ने बुझिएको छ ।’

‘महंगोमा बनाएर सस्तोमा बेच्‍न सक्दैनौँ’ 
औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले बजारमा दुई कारणले प्यारासिटामोलको अभाव भएको बताउँछन् । पहिलो, बढ्दो माग । दोस्रो, कच्चापदार्थको मुल्य बढ्नु तर, सिटामोलको मुल्य नबढ्नु । ‘राज्यले २०६४ सालमा तोकेको मुल्य नै अहिलेसम्म लागू भइरहेको छ,’ उनी भन्छन्, ‘कच्चा पदार्थ तीन-चार गुणाले बढेको हुनाले लागत नै उठ्दैन । एक-दुई महिनाको लागि हामीसँग कच्चा पदार्थ छ । तर, मुल्य समायोजन हुन सकेन भने महंगोमा कच्चा पदार्थ किनेर सस्तोमा बेच्‍न सक्ने अवस्था छैनौँ ।’ डेढ रुपैयाँ लागत लाग्‍ने सिटामोललाई एक रुपैयाँमा बेच्दा आफूहरूलाई मर्का परेको उनी बताउँछन् । ‘तर, अहिलेको अवस्थामा घाटा खाएर भए अभाव गर्नु हुँदैन भनेर उत्पादन गरिरहेका छौँ,’ उनी बताउँछन्, ‘तीन चार महिनादेखि भारतबाट सिटामोल आएको छैन हामीले नै धानिरहेका छौँ ।’

कतिपय औषधिहरू मनलाग्दी बेचिरहेको र त्यसमा कुनै अनुगमन नभएकोमा उनको गुनासो छ । ‘रेमडिसिभिर ब्ल्याकमा बेचिरहेको अवस्था छ,’ उनी भन्छन्, ‘अंकुश त्यस्तो ठाउँमा लगाउने हो । राज्यले त्यस्ता कुरामा ध्यान दिदैन । सिटामोलको मुल्य एक रुपैयाँ बढाउन यत्रो संघर्ष गर्नुपरेको छ ।’

‘सर्टेज छैन सिटामोल’
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बजारमा सिटमोल सर्टेज नभएको बताउँछन् । ‘बजारमा अहिले नै सिटामोल सर्टेज हुने अवस्था आइसकेको छैन,’ उनी भन्छन्, ‘हामीसँग अझै तीन-चार महिनालाई पुग्‍ने सिटामोल छ । उत्पादक संघले कच्चा पदार्थको मुल्य वृद्धि भएकाले समय अनुकूल मुल्य समायोजन हुनुपर्‍यो भनेर ध्यानाकर्षण गरेको छ । त्यो विषयमा हामी छलफलमै छौँ, अध्ययन गरिरहेका छौँ ।’ कोभिडको विषम परिस्थिती भएकाले तत्कालै मुल्य समायोजन हुने अवस्था नभएको उनी बताउँछन् । ‘अहिले विषम परिस्थिती भएकाले मुल्य समायोजन गर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘तर, समय अनुकूल र सहज भएपछि यो विषयमा अध्ययन गर्छौँ ।’

बजारमा सिटामोल अभाव नभएको तर, यससम्बन्धि हल्ला मात्रै फैलिएको उनी बताउँछन् । ‘सर्टेज भयो भनेर हल्ला फैलिएपछि माािसहरूले घरमा स्टोर गरेर राख्ने थाले,’ उनी भन्छन्, ‘डिस्ट्रिब्यूटर्स र फार्मेसीहरूले पनि लुकाउने परिपाटी बढेको मात्र हो । यथार्थमा सिटामोलको अभाव छैन ।’

आफ्नो आवश्यकता अनुसार मात्रै सिटामोल खरिद गरेर स्टोर गर्न उनको सुझाव छ । ‘अहिलेको अवस्थामा अत्यावश्यक औषधि घरभित्र नथुपारौँ,’ उनी भन्छन्, ‘आफूलाई चाहिने मात्रै राखौँ । डिस्ट्रिब्यूटर्सले पनि सबैलाई समान रुपले वितरण गरौँ । समानुपातिक वितरण र मौज्दातलाई सन्तुलन गरे सिटामोलको अभाव हुँदैन ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x