क्रिकेट

नेपालले जित्यो आयरल्यान्ड उल्भ्सविरुद्धको टी-ट्वान्टी सिरिज

इकागज |
चैत १३, २०८० मंगलबार १६:४४ बजे

काठमाडौँ- नेपालले पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा आयरल्यान्ड उल्भ्सलाई ७१ रनले पराजित गर्दै नेपालले सिरिज २-० ले जितेको हो ।


यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

मंगलबारको खेलमा १ सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्सले निर्धारित १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २७ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहेनीले २६ रन, मोर्गान टोपिङले २१ रन तथा केड कार्मिकेलले १८ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र कुशल मल्लले ३-३ तथा विवेक यादव, करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन तथा गुल्सन झाले ४६ रनको योगदान गरे । कुशल मल्लले ३४ रन जोडे ।

कुशल भुर्तेल २५ रन, आशिफ शेख ११ रन तथा अनिल साह १२ रनमा आउट भए । सन्दीप जोराले २१ रन बनाए ।

आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु फोस्टरले ३ र बेन ह्वाइटले २ तथा गाभिन होए र फियोन ह्यान्डले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x