क्रिकेट

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट सुरु

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १८:१४ बजे

काठमाडौँ- नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० शृंखला शनिबारबाट सुरु हुँदैछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको घोषणा गरिसकेको छ । खेलअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ सँगको खेलका लागि निकै उत्साहित रहेको बताएका छन् ।


शुक्रबार काठमाडौँमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतरचढाव देखिए पनि अबको खेलका लागि सबै खेलाडीहरू सबै तवरले तयार रहेको बताए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए । क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसँगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी–२० शृंखला खेल्न आतुर रहेको भन्दै नतिजा आफ्नो पक्षमा आउने गरी तयारी भएको बताएका थिए । टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ । तेस्रो खेल वैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ ।

उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।


Author

थप समाचार
x