दल

आम जनता र समाजवादी जनएकता पार्टीबीच एकता

इकागज |
बैशाख १५, २०८१ शनिबार १६:५३ बजे

काठमाडौँ- आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । शनिबार एक कार्यक्रमका बीच दुई पार्टीमा एकता भएको हो ।

एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने बताइएको छ । आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।


दुई पार्टीबीच एकताका आधार निम्न बमोजिम रहेका छन्:

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारेको बुझाई, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषय सँगसँगै नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रहरूमा आधारभूत रूपमा हेर्दा हाम्रा बुझाई एवं दृष्टिकोणहरूमा एकरूपता विद्यमान रहेको निचोडमा पुग्यौँ ।

२. नेपालमा विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठुलो दलको सिन्डिकेट र ठुलो दलभित्र पनि निश्चित गुट नेता र आसेपासेहरूको शासनले लोकतन्त्र सिर्फ देखाउने दाँत भएको र आम जनता लाचार भई शोसित हुनुपरेको यो विडम्बनापूर्ण परिस्थितिलाई चिर्दै आम जनताको वास्तविक शासन सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपरिहार्य आवश्यकता रहेकोले यसका निम्ति सम्पूर्ण देशभक्त, प्रगतिशील अग्रगामी शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुग्यौँ ।

३. पछिल्लो समय विश्वभर सूचना प्रविधिमा आएको अद्भुत क्रान्ति तथा सम्राज्यवादीहरूको गुरु योजना अनुरूप नेपालमा विकसित भगौडा दलाल पूँजीपति वर्गको वर्चस्वले देश उजाड एवं बर्बाद भैरहेको सन्दर्भमा राज्यको लुटकारी चरित्रबाट मुक्ति दिलाउन यसको सशक्त प्रतिवाद गर्न सहमत भयौँ ।

४. पार्टी एकता पश्चात मा.प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने र यसमा तत्कालीन समाजवादी जनएकता पार्टी नेपालतर्फका नारायण श्रेष्ठ लगायतका नेतृत्वहरूको कार्य विभाजन एवं भूमिका सम्मानजनक रहने गरी जिम्मेवारी ठोस गर्न सहमत भयौँ ।

५. अग्रगामी सोच(विचारका लोकप्रिय व्यक्ति, समुह, संगठन र शक्तिहरूबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्य मार्फत निकट भविष्यमा थप बृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुर्याउन संकल्पित भयौँ । 


Author

थप समाचार
x