क्रिकेट

क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई खेलकुद महासंघबाट २५/२५ हजार

इकागज |
चैत ७, २०७९ मंगलबार १४:३३ बजे

विराटनगर - नेपाली राष्ट्रिय टिमका क्रिकेटर ललित राजवंशी र अन्डर–१९ टिमका दिपेश कँडेललाई नेपाल खेलकुद महासंघ मोरङले जनही नगद २५/२५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ । विराटनगरका दुवै खेलाडीलाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले मंगलबार कार्यक्रमकाबीच नगदसहित सम्मानित गरेका हुन् ।

ललित विराटनगर–१४ का बासिन्दा हुन् । स्थायी घर सुर्खेत भएपनि युवा क्रिकेटर दिपेशले पनि विराटनगरकै प्रतिनिधित्व गर्दै आएका छन् । उनका बुवा विराटनगरस्थित साल्ट ट्रेडिङ कम्पनीमा कार्यरत रहेका कारण लामो समयदेखि परिवारै विराटनगरमा छन् ।


क्रिकेट खेलका माध्यमबाट कोशी प्रदेशसहित राष्ट्रकै गौरव बढाएको भन्दै महासंघले उनीहरुलाई आगामी खेलहरुमा हौसला प्रदान गर्न सम्मानको कार्यक्रम आयोजना गरेको नेपाल खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्काले बताए ।

महासंघ नेकपा एमाले निकट खेलकुदकर्मीहरु सम्वद्ध संगठन हो । त्यसका केन्द्रीय अध्यक्ष बस्नेतले खेलाडी उत्पादन, प्रोत्साहन र उनीहरूको खेल विकासका लागि महासंघले खेलकुद क्षेत्रका निकायहरुसमक्ष पहल गर्ने काम गर्दै आएको जानकारी दिए ।

खेलाडी सम्मान कार्यक्रममा सहभागी नेपाल क्रिकेट एशोसिएशन (क्यान) का केन्द्रीय कोषाध्यक्ष रोशन सिंहले खेलकुद क्षेत्रलाई सरकारले भन्दा निजी क्षेत्रले बढि सहयोग गर्दै आएको बताए । त्यसैगरी राष्ट्रिय टिमका खेलाडीहरूलाई क्यानले पनि महत्वपूर्ण र अझ राम्रो सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए । केही दिनभित्रै त्यस्तो सहयोगको घोषणा क्यानबाट हुने उनले दाबी गरे । सिंहले क्रिकेटले राष्ट्रिय भावनाको विकासमा समेत योगदान गरेकोले अब सबैको ध्यान खेल पूर्वाधारको विकासमा केन्द्रित गर्न आग्रह गरे । 

उनले विराटनगर–१९ स्थित बैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कम्तीमा राष्ट्रिय स्तरका खेलहरु हुने अवस्थामा पुर्‍याउन सबै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिएका थिए ।


Author

थप समाचार
x