क्रिकेट

इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित

इकागज |
असोज ७, २०७९ शुक्रबार ८:५५ बजे

काठमाडौँ- घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा शानदार जित हात पारेको छ । कराँचीमा भएको दोस्रो खेल पाकिस्तानले १० विकेटले जितेको हो । यससँगै सिरिज १-१ को अवस्थामा पुगेको छ ।

जितका लागि इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा कुनै पनि विकेट नगुमाई पुरा गर्‍यो । यससँगै पाकिस्तान कुनै पनि विकेट नगुएर सबैभन्दा ठूलो लक्ष्य पुरा गर्ने टिम बनेको छ ।


पाकिस्तानलाई जित दिलाउन कप्तान बाबर आजमले अविजित १ सय १० रनको योगदान गरे । ६२ बलमा शतक पुरा गरेका बाबरले ६६ बल खेल्दा ११ चौका र ५ छक्का प्रहार गरे । यता मोहम्मद रिजवानले ५१ बलमा ८८ रन बनाउँदा ५ चौका र ४ छक्का हिर्काए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन जोडेको थियो । उसका लागि कप्तान मोइन अलीले अविजित ५५ रन तथा बेन डकेटले ४३ रन जोडे ।

पाकिस्तानका लागि शाहनवाज दहानी र हरिस राउफले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x