सिनेमा

रहेनन् नेपालको पहिलो फिल्म छायांकार मास्के

सामीप्यराज तिमल्सेना |
कात्तिक १, २०७७ शनिबार १६:३१ बजे

काठमाडौं : नेपालका पहिलो फिल्म छायाँकार बैकुण्ठमान मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिएका छन् । लामाले दिएको जानकारी अनुसार कलेजोका बिरामी मास्के लामो समयदेखि डायलोसिस गराइरहेका थिए । पछिल्लो समय भने उनलाई कोराना पोजेटिभ पनि देखिएको थियो ।

‘मनको बाँध’बाट पूर्ण छायाँकारको रुपमा काम थालेका मास्केको निधनको खबरले आफू स्तब्ध भएको नीर शाहले बताए । ‘यो पालि दसैं त्यसै पनि दुःखी थियो । यो मुखमा तपाईंले झन् दुःखको खबर सुनाउनु भयो,’ इकागज संवाददाताको मुखबाट मास्केको मृत्युको खबर सुनेका शाहले भने । उनले नेपाली फिल्मका लागि मास्के चानचुने मान्छे नभएको पनि बताए ।


‘छायाँकनमा मात्र होइन, दृश्यका सम्पूर्ण माध्यममा उहाँको बृहत् योगदान छ,’ शाहले भने  ‘फिल्मसँगै डकुमेन्ट्री र टेलिभिजनमा पनि उहाँले धेरै काम गर्नु भएको छ ।’शाहले मास्केलाई आफूले टेलिभिजन स्थापना गर्दाका बखतमा छायाँकारलाई प्रशिक्षण दिनदेखि आफूले स्थापना गरेको फिल्म कलेज ‘कलेज अफ फिल्म स्टडिज’मा फ्याकल्टीको रुपमा समेत सहकार्य गरेको सम्झना गरे ।  विदेशीको पछि लागेर एभरेस्ट बेस क्याम्पसम्म पुगेपछि मास्केमा क्यामराप्रतिको मोह बढेको थियो । यही समयमा सरकारले भारतको पुनास्थित फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा पढ्नलाई छात्रवृत्ति खुलाएपछि मास्केले पनि निवेदन दिएका थिए । मुस्किलले छात्रवृत्ति पाएका उनले २०२१ देखि २०२४ सालमा पुनाको इन्स्टिच्युटमा डिप्लोमा सकाएर नेपाल फर्किएका थिए ।

नेपाल फर्किएपछि मास्केले प्रचार प्रसार मन्त्रालयमा जागिर सुरु गरेका थिए । तर, मास्केले जागिर गर्दा त्यहाँ भारतीयको हालीमुहाली रहेको र आफूले धेरै संघर्ष गर्नु परेको छायाँकार पुरुषोत्तम प्रधानसँगको एक युट्युब अन्तर्वार्तामा बताएका छन् । उनले आफूसँग पुनाको सर्टिफिकेट हुँदा पनि असिस्टेन्टको भन्दा ज्यादा काम नपाएको गुनासो गरेका छन् ।

नीर शाह प्रचार प्रसार मन्त्रालयको प्रचार विभागले फिल्म बनाउँदा भारतीय नागरिक देउजी भाइ छायाँकार रहने गरेको बताउँछन् । शाहका अनुसार यो विभाग अन्तर्गत बनेका ‘हिजो आज भोलि’ र ‘परिवर्तन’मा मास्के छायांकन सहयोगीको भूमिकामा मात्र थिए । प्रचार विभाग छाडेर सरकारले शाही चलचित्र संस्थानको गठन गरेर ‘मनको बाँध’ बनाएपछि भने बल्ल उनले मुख्य छायाँकारको रुपमा काम गर्ने मौका पाए । योसँगै नेपालको पहिलो फिल्म छायाँकारको उपाधि पनि मास्केको पोल्टामा पर्यो । तर, मास्केले यसपछि यति धेरै सहायक जन्माए कि त्यसपछि नेपाली फिल्मले छायाँकनका लागि भारतीयको मुख ताक्नै परेन ।

नीर शाह मास्के छायाँकनमा भने बंगाली फिल्म मेकिङ स्कुलबाट  प्रभावित भएको अनुमान गर्छन् । ‘ कुमार साहनी, मृणाल सेन, बासु चटर्जी मणि कौल, आदि निर्देशकका क्यामरामेन केके महाजन थिए र उनी मास्केका पुनामा सहपाठी । यस हिसाबले उहाँको छायाँकनमा त्यसको प्रभाव देख्न सकिन्छ,’ शाह बताउँछन् । केके महाजन काठमाडौं आउँदा मास्केले शाहसँग पनि महाजनलाई भेटाएका थिए । ‘मैले त उहाँलाई मेरो सिनेमामो पहिलो दिनदेखि देखेको मान्छे हो । धेरै स्मरण छन् उहाँसँग जोडिएका । यत्ति भनौं एउटा उद्भूत मान्छेले हामीलाई छाडेर जानुभएको छ,’ शाहले थोरै भावुकता सहित भने ।

पछिल्लो पुस्ताका सक्रिय छायाँकार पुरुषोत्तम प्रधान छायाँकनमा लाइटिङको महत्व बुझाउने पहिलो छायाँकारको रुपमा पनि मास्केलाई सम्झनु पर्ने बताउँछन् । लकडाउनकै समयमा करिब ५ महिनाअघि मास्केसँग लामो कुराकानी गरेका उनले लो की लाइटिङमा उनको विशेष दख्खल रहेको बताए ।

‘ब्ल्याक एन्ड ह्वाइट फिल्ममा दिन र रात छुट्याउन गाह्रो हुनेरहेछ । तर, उहाँले खिचेका फिल्ममा यो भिन्नता सजिलै देख्न सकिन्छ,’ प्रधानको विश्लेषण छ । 
सञ्चार मन्त्रालयको जागिर सारेर शाही चलचित्र संस्थान पुगेका मास्केले पेन्सन नहुँदै जागिर छाडेका थिए । संस्थानको राजनीतिका कारण वाक्क भएर जागिर छाडेको उनले बताउने गरेका थिए ।
‘मसँगको लामो कुरामानीमा उहाँले संस्थानमा आफूमाथि धेरै राजनीति भएको र यही कारण समय छँदै जागिर छाडेको गुनासो गर्नु भएको थियो,’ प्रधानले भने । छायांकनमा अहिलेको पुस्ता जन्माउने श्याम मोहन प्रधान, मञ्जुकुमार श्रेष्ठ, जावेद शाह मास्केकै उत्पादन भएको पनि प्रधानले बताए ।

रोयटर्ससँगै अन्य थुप्रै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका लागि काम गरेका मास्केले दर्जन हाराहारी नेपाली फिल्मको छायाँकन गरेका थिए ।  उनको योगदानलाई सम्मान गर्दै गत साल मात्र चलचित्र निर्माता संघले वीरगञ्जमा गरेको ‘स्वर्णिम चलचित्र उत्सव’मा उनलाई राष्ट्रपतिको हातबाट नेपाली फिल्मको पहिलो छायाँकारको रुपमा सम्मान गरेको थियो । उनका एक श्रीमति र छोरी रहेका छन् ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x