खेलकुद

नेपाल सुपर लिग : विदेशी खेलाडीकै वर्चस्व

सञ्जीव शाह |
पुस १, २०८० आइतबार १५:१७ बजे

तस्बिरः एनएसएल

काठमाडौँ- समग्रमा ९ टिमको सहभागिता रहेको फ्रेन्चाइज फुटबल लिग अर्थात नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अहिलेसम्म जम्मा २७ खेल भइसकेका छन् ।

हालसम्मको नजिताअनुसार ५ मध्ये ३ खेलमा जित तथा २ खेलमा बराबरीको नतिजा निकालेको धनगढी एफसी ११ अंकसहित शीर्ष स्थानमा छ ।


यता ६ मध्ये ३ खेल जितेको तथा २ खेलमा अंक बाँड्नुका साथै १ खेलमा पराजय भोगेको पोखरा थन्डर्स ११ अंकसहित दोस्रो स्थानमा छ । गोलअन्तरको आधारमा पोखरा दोस्रो स्थानमा रहेको हो ।

त्यसैगरी, ६ मध्ये २ खेलमा जित हात पारेको र ४ खेलमा अंक बाँडेको ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो स्थानमा छ । ५ मध्ये समान २ खेलमा जित तथा २ खेलमा अंक बाँडेको र एक खेलमा पराजय भोगेको साविक विजेता काठमाडौँ रेजर्स एफसी ८ अंकसहित चौँथो स्थानमा छ ।

यता समान ६-६ खेल खेलेका झापा एफसी र एफसी बुटवल लुम्बिनीको समान ७-७ अंक छ । तर, गोलअन्तरका आधारमा झापा भने पाँचौँ स्थानमा छ । झापाले १ खेलमा जित हात पार्दा ४ खेलमा बराबरी खेलेको छ । झापाले १ खेलमा हार बेहोरेको छ । यता बुटवलले भने २ खेलमा जित हात पार्दा १ खेलमा बराबरीको नतिजा ल्याएको छ । उसले ३ खेलमा पराजय भोगेको छ ।

७ मध्ये १ खेलमा जित तथा ३ खेलमा बराबरीसँग ३ खेलमा पराजय भोगेको एफसी चितवन ६ अंकसहित सातौँ तथा ६ मध्ये १ खेलमा जित, २ खेलमा बराबरी तथा ३ खेलमा हारको नतिजा निकालेको वीरगंज युनाइटेड एफसी ५ अंकसहित आठौँ स्थानमा रहेका छन् । यता नवौँ स्थानमा रहेको स्पोर्टिङ इलाम एफसीले ७ खेल खेल्दा १ खेलमा जित हात पारेको छ भने २ खेलमा बराबरीको नतिजा निकालेको छ । इलामले ४ खेलमा पराजय भोग्दै केवल ५ अंक जोडेको छ ।

विदेशी खेलाडीकै प्रभाव

जम्मा ४० खेल हुने तय भएको दोस्रो संस्करणको एनएसएलको २७ खेलसम्मको नतिजा र प्रदर्शन हेर्दा विदेशी खेलाडी नै बढी हावी भएको देखिन्छ ।

दोस्रो संस्करणको एनएसएलमा साविक विजेता काठमाडौँ रेजर्स एफसीसँगै साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम एफसी डी मेची र वीरगंज युनाइटेड एफसीको सहभागिता रहेको छ ।

र, एनएसएल सुरु हुनुअगावै ५० भन्दा बढी नेपाली खेलाडी विदेश पलायन भएपछि लिगमा खेलाडीको अभाव हुन नदिन आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सहभागी टिमलाई ६ जनासम्म विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने प्रावधान ल्यायो ।

सहभागी टिमहरूले अहिले एनएसएलको एउटै खेलमा पाँच जनासम्म विदेशी खेलाडी मैदानमा उत्रिन पाउँछन् । सोही अनुरुप अहिले सहभागी ९ टिमले जम्मा ४७ जना विदेशी खेलाडी भित्र्याएका छन् र उनीहरू नै हावी पनि भएका छन् ।

जारी सिजनको एनएसएलका लागि जम्मा ४७ विदेशी खेलाडीमध्ये धनगढी र ललितपुरले समान ६-६ खेलाडी भित्र्याएका छन् । अन्य सात टिमले भने केवल ५-५ खेलाडीमात्र अनुबन्ध गरेका छन् ।

क्लबहरूले भित्र्याएका विदेशी खेलाडीमा भने घानाका खेलाडीको वर्चस्व छ ।

घानाबाट सर्वाधिक ११ खेलाडी एनएसएलमा अनुबन्ध भएका छन् । त्यसैगरी, क्यामरुनका १० खेलाडीले एनएसएल खेलिरहेका छन् । यता सेनेगलबाट ५ तथा नाइजेरिया र उज्वेकिस्तानबाट समान ३-३ खेलाडी एनएलएलमा सहभागी छन् ।

फ्रान्स, लेवनान, स्पेन र रिपलिक अफ गुएनाबाट समान २-२ खेलाडी एनएसएलमा आबद्ध भएका छन् । भारत, अमेरिका, कंगो, सर्बिया, अजरबैजान, मोन्टेनेग्रो र आइभरी कोस्टबाट १-१ खेलाडी छन् ।

जारी लिगमा समग्रमा ३५ जना खेलाडीले गोल गरेका छन् । तर, ३५ जनामध्ये गोल गर्नेमा २३ जना विदेशी खेलाडीले नै रहेका छन् । केवल १२ जना नेपाली खेलाडीले मात्र गोल गर्न सकेका छन् ।

त्यसैगरी, अहिलेसम्म एनएसएलमा कुनै पनि खेलाडीले सर्वाधिक ३ गोल गरेका छन् । र समान ३-३ गोल गर्ने समान ३-३ खेलाडी छन् । तर, ती सबै खेलाडी भने विदेशी खेलाडी हुन् ।

बुटवल लुम्बिनी एफसीका स्टेफेन बिनोङ समिर, धनगढी एफसीका ओलावाले अफिज र पोखरा थन्डर्सका मोसेस ग्याबाह ट्वुमले समान ३-३ गोल गरेका छन् ।

कुनै पनि नेपाली खेलाडीले अहिलेसम्म ३ गोल गर्न सकेका छैनन् । त्यसैगरी, २-२ गोल गर्ने खेलाडीको संख्या ६ छ । तर, तीमध्ये ४ विदेशी र केवल २ नेपाली खेलाडी छन् । काठमाडौँ रेजर्सका राजिव लोप्चन र बुटवल एफसीका एरिक विष्टले समान २-२ गोल गरेका छन् ।

यता २६ खेलाडीले समान १-१ गोल गरेका छन् । ती मध्ये १० जना नेपाली खेलाडीले मात्र १-१ गोल गरेका छन् । समान एक-एक गोल गर्नेमा दिनेश हेन्जन, अनन्त तामाङ, आयुष घलान, विमल घर्तीमगर, उत्सव राई, कृपा कान्त थारू, संजिव विष्ट, विवेक पौडेल, भिषण गुरु र आशिष चापागाई रहेका छन् । बाँकी १६ जना भने विदेशी खेलाडी नै रहेका छन् ।

विदेशी खेलाडीको आगमनले फुटबलको स्तर बढ्ने विश्वास

खासमा युरोपियन लिगसँग उच्च स्तरको प्रतियोगिताहरू खेलिसकेका खेलाडी समेतको आगमनले एनएसएलको स्तर बढाएको आयोजक तथा सहभागी क्लबका प्रशिक्षकको भनाइ छ ।

एनएसएलका निर्देशक तथा सह-संस्थापक श्रेयांश कार्कीका अनुसार क्षमतावान् विदेशी खेलाडीसँग खेलेर नेपाली खेलाडीले अनुभव बटुल्न सक्ने विश्वास व्यक्त गर्छन् ।

उनका अनुसार एनएसएलमा सहभागी टिमहरूले उच्च क्षमताका विदेशी खेलाडी भित्र्याएका छन् र यसले समग्रमा नेपाली फुटबलकै स्तर वृद्धि गरेको छ ।

यता क्षमतावान् विदेशी खेलाडीका कारण एनएसएलको स्तर अन्य फुटबल प्रतियोगिताभन्दा माथि रहेको स्पोर्टिङ इलामका मुख्य प्रशिक्षक मेघराज केसीको भनाइ छ ।

'एनएसएलका खेलहरू उच्च स्तरका छन् । सहिद स्मारक 'ए' डिभिजन फुटबल लिगभन्दा एनएसएलको स्तर राम्रो छ,' केसीले बताए ।

उनका अनुसार एनएसएल खेल्न उच्च क्षमता भएका विदेशी खेलाडी खेल्न आएका तथा उनीहरूसँग खेल्ने बानी परेको खण्डमा नेपाली खेलाडीको पनि क्षमतामा विकास हुनेछ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x