खेलकुद

राष्ट्रिय भलिबलकाे फाइनलमा विभागीग टाेली आर्मी र एपीएफ भिड्ने

इकागज |
जेठ १९, २०८० शुक्रबार २१:२६ बजे

मकवानपुर- हेटौंडामा जारी खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीच हुने भएकाे छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र मकवानपुर जिल्ला भलिबल संघ हेटौंडाको आयोजनामा भएकाे प्रतियाेगिता अन्तरगत शुक्रबारकाे सेमिफाइनल खेलबाट नेपाल आर्मी र एपीएफ फाइनल प्रवेश गरेका हुन् ।

सेमिफाइनलमा नेपाल आर्मीले नेपाल पुलिस र एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको हो । हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हाे । आर्मीले २५–१९ ले पहिलाे सेट जित्दा दोस्रो सेट २५–२३ ले पुलिसले जितेकाे थियाे । तेस्रो र चौथो सेट आर्मीले सहजै आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । खेलकाे म्यान अफ द म्याच आर्मीका सनोज चौधरी घोषित भएका थिए ।


यसैगरी शुक्रबारकाे दाेस्राे सेमिफाइनलमा एपीएफले गण्डकीलाई हराउँदै फाइनल यात्रा तय गरेकाे हाे । पहिलो दुई सेटमा हार व्यहाेरेकाे एपीएफले बाँकी ३ सेट लगातार जितेकाे थियाे । खेलको म्यान अफ द म्याच एपीएफका सुवास कुँवर घोषित भए । शनिबार विहान प्रतियाेगिताकाे फाइनल खेल हुने आयाेजक मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौलाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य सहयोग हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद विकास परिषद, हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालय र १९ नम्बर वडा कार्यालय सहयोग  रहेको सिटौलाले बताए ।

प्रतियोगिता सह–आयोजक हेटौंडा उपमहानगरपालिका भलिबल संघ, थाहा नगरपालिका भलिबल संघ, भिमफेदी गाउँपालिका भलिबल संघ र मकवानपुर गढी गाउँपालिका भलिबल संघ रहेका छन् । मकवानपुर जिल्ला खेलकुद समिति र नगर खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता संचालन भएको उनले जानकारी दिए ।


Author

थप समाचार
x