खेलकुद

ऋण तिर्न भारत गएका हर्कबहादुर देखाउँछन् विश्‍वलाई आइपीएल

रंगमञ्च पछाडिका नेपाली नायकको लुकेको कथा

नवराज पनेरु |
बैशाख ९, २०७८ बिहीबार १३:० बजे

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिक-७ मा २०३३ सालमा जन्मेका थिए, हर्कबहादुर कैनी । जिल्लाको पोखरमा रहेको उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए उनले । 

उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका कैनीको परिवारको दवावका कारण २०५३ मंसिरमै विवाह भयो । विवाहको खुसी सकिएको थिएन्, कैनी परिवार शोकमा डुब्यो । मंसिरकै महिनामा हर्कबहादुरका बुवाको निधन भयो । त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए । 


मुम्बइको एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरे हर्कबहादुरले । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले । अनि चिया पकाउने काम छोडेर नयाँ काम तिर लागे तर बिना तलब । 

‘५ महिनासम्म काम सिकेपछि कम्पनीले तलब दिन सुरु गर्यो‍,’ भारतमा चेन्नइमा रहेका उनले भने, ‘प्राविधिक रूपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरू मिलाउने काम थियो मेरो । सोही समयमा अडियो भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तिर्ण गरेको थिए ।’ आफ्नो काममा पोख्त हुन थालेपछि सन २००३ पछि भारतभित्र मात्र होइन विदेश जाने अवसर समेत पाउन थाले हर्कबहादुर । 

‘विभिन्न इभेन्टहरूको प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंगल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको थिएँ,’ उनले अगाडि थपे, ‘अहिले त दर्जर्नाै देशमा गएर टेलिभिजनमा इभेन्टहरू देखाइरहेको छु ।’

अहिले भारतमा १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) जारी छ । आइपीएलमा सहभागी टिम र खेल्ने खेलाडीको विषयमा नेपालमा पनि चर्चा हुन्छ । कुन खेलाडीले कस्तो प्रदर्शन गरे ? त्यो विषयमा पनि बहस हुन्छ । 

तर त्यो आइपीएललाई हाम्रो टेलिभिजनमा देखाउने पर्दा पछाडिका नायकको विषयमा हामी कमै चाँसो राख्छौ । आइपीएललाई टेलिभिजनमा आकर्षक बनाएर देखाउँने काम हो हर्कबहादुरको । विगतका वर्ष जस्तै यो वर्ष पनि हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शकसामु पुर्या‍उने प्राविधिक टोलीमा कार्यरत छन् उनी । 

भिजन इन्जिनियर हर्कबहादुरले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन् । उनले भने, ‘२००८ देखि भारतमा आइपीएल सुरु भयो । आइपीएलमा पनि २००९ देखि नै काम गर्न थालेको हुँ । यो वर्ष पनि आइपीएलको प्रत्यक्ष प्रसारणको टोलीमा छु ।’ 

उनीसँग आइपीएलसंगै विगतमा २० र ५० ओभरको विश्वकप क्रिकेट, एसियन गेम, इन्डियन सुपर लिग फुटवल, प्रो कवड्डी, बहुचर्चित आइफा अवार्ड, विग बोस, इन्डियन आइडललगायतका विभिन्न इभेन्टस्को प्राविधिक टोलीमा रहेको अनुभव छ । उनी खाली समयमा पनि डडेल्धुरा फर्किन्छन् । ‘काम भए विदेशमै हुन्छु, खाली समयमा घरमा बस्छु,’ उनी भन्छन, ‘६ महिना काम पाए सालभरीलाई खान लगाउन मज्जाले पुग्छ ।’


Author

थप समाचार
x