खेलकुद

३६ वर्षीया विन्द्रालाई म्याराथनमा स्वर्ण

सञ्जीव शाह |
कात्तिक १, २०७९ मंगलबार १२:१९ बजे

पोखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एपीएफ क्लबकी विन्द्रा श्रेष्ठले म्याराथनमा स्वर्ण हात पारेकी छन् । विन्द्राले महिलातर्फको म्याराथनमा एपीएफलाई स्वर्ण दिलाएकी हुन् ।

विन्द्राले २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै स्वर्ण हात पारिन् । ३ घण्टा ३५ सेकेन्ड खर्चिएकी त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले रजत तथा ३ घण्टा १ मिनेट ३५ सेकेन्डमा नेपाल पुलिस क्लबकी रेखा विष्टले कास्य जितिन् ।


खासमा स्वर्ण हात पारेकी विन्द्रा ९ वर्षकी छोरीकी आमा हुन् । उनी आफै पनि ३६ वर्षकी भइन् । ललितपुर घर भएकी विन्द्राले पहिलो प्रयासमै म्याराथनमा स्वर्ण हात पार्न सफल भएकी हुन् ।

उनी करिब २० वर्षदेखि दूरीको दौडमा सहभागी हुँदै आएकी छन् । तर विन्द्रा पहिलो पटक म्याराथन दौडिएकी हुन् । विन्द्रालाई पहिलो प्रयासमै सफलता हात लागेको छ ।

'पहिलो पटक हो म्याराथन दौडिएको । स्वर्ण जित्दा खुसी छु,' पोखरा रंगशालामा स्वर्ण जितेपछि उनले खुसी साटिन् ।

अबको लक्ष्य म्याराथनमा कीर्तिमान कायम गर्नु रहेको उनले बताइन् ।

म्याराथन पोखरा रंगशालाबाट सुरु भएर पृथ्वी चोक, तमु चोक, लेक साइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, सृजना चोक, पृथ्वी चोक हुँदै रंगशालामा आएर टुंगिएको थियो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x