समाज

काठमाडौँको चक्रपथ : कतै पार्किङ छैन, कतै सडक नै गायब

सुभद्रा धिताल |
बैशाख २४, २०८१ सोमबार १०:४० बजे

काठमाडौँ- काठमाडौँ र ललितपुर जिल्लालाई छोएर बनाइएको सडक हो चक्रपथ । यसको कुल लम्बाइ २७ किलोमिटर रहेको छ । यो सडकले कोटेश्वर, सातदोबाटो, कलंकी, स्वयम्भू, गोंगबु, महाराजगञ्‍ज, चाबहिल तथा गौशालालगायतका स्थानहरूलाई जोड्छ ।

यो सडकको धेरै रूपहरू देख्न पाइन्छ । यहाँ आधा जति सडक साँच्चिकै काठमाडौँ उपत्यकाकै सडक हो भन्न लायक छ । तर, आधाभन्दा बढी सडक देख्दा लाग्छ सायद काठमाडौँ सहरमै यो पर्दैन । यहीँ चक्रपथ कतै सफा अनि सुन्दर छ भने कतै धुलो र फोहोर मात्र देखिन्छ ।


हुन पनि कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्मको यात्रा गर्नेहरूले ‘आह ! काठमाडौँ सहर’ भन्दै तारिफ गर्छन् । नेपालमा पनि यस्तो सडक रहेछ भनेर विदेशीहरूसमेत चकित पर्ने अवस्था छ । तर, कलंकीदेखि बालाजु हुँदै महाराजगञ्‍जसम्मको अवस्था हेर्ने हो भने लाग्छ विकट जिल्लामा छौँ कि भनेर ।

यो खण्डमा यात्रा गर्नेहरूले नेताहरूलाई सराप्दै यात्रा गरेको सुनिन्छ । २४ सै घण्टा सास्ती झेल्नुपर्ने सडक आसपासका जनताको दुर्दशा सम्झँदा साँच्चिकै कहाली लाग्दो छ । सर्भिस लेन निर्माण गर्ने भन्दै सडकका दुवै खण्डमा डोजर लगाएर माटो खोतलिएको छ । जताततै ढुंगा, माटो, गिटी, बालुवा थुपारिएका छन् । जसका कारण धुलोले सास्ती मात्रै होइन ट्राफिक जाम पनि उत्तिकै बढेको छ । मात्र यति सडकले नै राजधानी काठमाडौँको दुर्दशा प्रष्ट पारिदिन्छ ।

यो सडक खण्डमा व्यापार व्यवसायी गर्नेहरू पनि आजित बनेका छन् । ‘बिहान नयाँ लुगा राख्यो १/२ घण्टामै धुलो धुँवाले पुरानो जस्तै देखिन्छ,’ सामाखुसीमा कपडा व्यवसायी गर्दै आएकी लक्ष्मी बस्नेतले भनिन् । उनी आफूले काम गर्ने पसल अगाडि बाटो अस्तव्यस्त र धुलोका कारण हैरान छिन् ।

‘सडक समयमै निर्माण नहुँदा धुलोले बिरामी समेत परेकी छु,’ उनले भनिन्, ‘पहिले खासै बिरामी नहुने म अहिले महिना दिन पनि लाग्दैन बिरामी हुन ।' लामो समयदेखि सडक निर्माण नसक्दा यो सडक खण्डमा दुर्घटना पनि बढेको उनले सुनाइन् । ‘ग्राहकहरूले नयाँ कपडालाई झुण्ड्याएर राख्दा पनि पुरानो राख्नु भयो भनेर भन्नुहुन्छ,’ उनले भनिन्, ‘सडकको धुलोले गर्दा हामीलाई धेरै गह्रो भएको छ, कसले बुझिदिने ।'

कलंकीदेखि महाराजगञ्‍जसम्म चक्रपथ क्षेत्रका करिब आधा दर्जन ठाउँमा माटोको पहाड देख्न सकिन्छ । त्यसमाथि चक्रपथलाई चार लेनबाट बढाएर आठ लेन फराकिलो बनाउने भन्दै यस क्षेत्रमा लगभग पाँच वर्षअघि नै रुखहरू काटेर उजाड बनाइएको छ । सडकको छेउछाउ भत्काइएको छ । जसका कारण जताततै धुलो र खाल्डाखुल्डी छ । यो खण्डमा यात्रा गर्नहरूले धुलोका कारण आफ्नै अनुहार चिन्नै नसक्ने अवस्था छ । 

कलंकीदेखि महाराजगञ्‍ज क्षेत्र हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । चक्रपथ विस्तारको काम किन अघि बढेन ? हिलो र धुलोको सास्ती राजधानी काठमाडौँका जनताले कहिलेसम्म भोग्ने ? भन्दै आवाजहरू पनि उठ्न थालेका छन् ।

पार्किङको समस्या उस्तै
काठमाडौँको बल्खु चोकमा काठमाडौँदेखि हेटौँडासम्म जाने सुमो गाडीहरूले पार्किङ गरेका पनि देखिन्छन् । यहाँ पार्किङ यसरी गरिन्छ कि कुनै नियमको पालना गरेको हुँदैन । यहाँका चालक तथा टिकट काउन्टरका साहुलाई सोध्दा गाडीको लागि पार्किङ नै नभएको बताउँछन् । ‘हामीलाई पार्किङ गर्न धेरै गाह्रो छ,’ टिकट काउन्टरसँगै जोडेर गाडी पार्क गरेका सुरज कर्णले भने ।

काठमाडौँ महानगरपालिकाले पार्किङ त हटायो तर बल्खुमा यसको विकल्प नदिएको गुनासो उनको छ । ‘टिकट काट्न र गाडी चढ्न आउने यात्रुहरू एकछिन बसौँ भने पनि ठाउँ छैन,’ उनले भने । बाटो बनाउन भनेर पार्किङ हटाइएको भएपनि लामो समय बित्दासमेत बाटो नबनेपछि झनै आक्रोशित बनेका छन् उनीहरू । ‘सबै आउनुहुन्छ गाडी हटाउनु बाटो बन्छ भन्नुहुन्छ तर न त बाटो बनाए न त हामीलाई गाडी राख्न पार्किङ नै दिए,’ चालक सुमनको गुनासो छ ।

ट्राफिक तथा उनीहरूको नियमका कारण पनि आफूहरू मारमा परेको उनीहरूको भनाइ छ । १४ वर्षदेखि काठमाडौँदेखि हेटौँडासम्मको गाडी चलाएका सुमन यस क्षेत्रमा खटिएका ट्राफिकको व्यवहारले आफूहरूलाई घाउमा नुन छर्केको अनुभव गर्छन् । गाडी साइडमा रोक्दा पनि लक गरिदिने, चिट काटिदिने जस्ता थुप्रै समस्याको सामना आफूहरूले गरिरहेको उनले बताए ।

‘हामीले साइडमा गाडी रोक्दा पनि लक लगाइदिन्छन्, चिट काटिदिन्छन् गाडीको पालो आइसकेको हुन्छ,’ सुमनले भने, ‘हामीहरू ट्राफिक प्रशासनबाट धेरै मारमा परेका छौं । एक त गाडीको लागि पार्किङ दिएको छैन झन त्यसमा बल्ल बल्ल ठाउँ मिलाएर गाडी पार्क गर्‍यो ट्राफिक आएर लक लगाइदिन्छ अनि कसरी हामीले गाडी चलाउने ?’ गरिखाने मान्छेलाई धेरै गाह्रो बनाइदिएको छ यहाँ भन्दै उनले गुनासो गरे । 

चक्रपथ सडक खण्डमा सबैभन्दा अस्तव्यस्त छ बल्खु क्षेत्र । यहाँ गाडी चालक मात्र होइन यहाँका स्थानीय बासिन्दा पनि उत्तिकै समस्यामा परेका छन् । यस खण्डमा सर्विस लेन र फुटपाथका लागि भनेर ठाउँ छुट्याइएको छ । तर, कति जमिन फूटपाथमा पर्छ भनेर यकिन हुन नसक्दा झण्डै आठ वर्षदेखि असुरक्षित रूपमा बसोबास गर्दै छिन् स्थानीय रुकमणि बुढाथोकी ।

उनको माग पनि एउटै छ यहाँ बाटो छिटो बनाइदिएको भए आफू सुरक्षित भएर बस्ने । ‘बाटो छिटो बनेको भए हाम्रो जग्गा जति बच्थ्यो त्यतिलाई सुरक्षित बनाएर बसिन्थ्यो,’ उनले भनिन्, ‘बाटो नबन्दा हामी असुरक्षित छौं । सरकारले छिटो बाटो बनाएर हामीलाई सहयोग गरोस् ।'

चक्रपथको निर्माण आजभन्दा करिब ५० वर्षअघि चीन सरकारले अनुदानमा भएको हो । विस्तारको काम पनि अनुदानमै निर्माण गर्न चीन सरकार तयार भएपछि एक दशकअघि नै सम्झौता गरिएको थियो । सम्झौताअनुसार पहिलो अर्थात कलंकी–बल्खु–कोटेश्वर खण्ड २०७५ सालमा निर्माण सम्पन्न भयो ।

दुई वर्षभित्र सक्ने लक्ष्यका साथ काम गर्न थालेको चिनियाँ टोलीलाई समयमै ‘साइट क्लियर’ नहुँदा काम सम्पन्न गर्न चार वर्ष लाग्यो । यही अनुभवलाई मध्यनजर गर्दै चिनियाँ निर्माण व्यवसायीको टोलीले बाँकी खण्ड विस्तारका लागि ‘साइट क्लियरेन्स’को काम नेपालले नै गर्नुपर्ने र ‘साइट क्लियर’ भएपछि मात्रै आफूले विस्तारको काम सुरु गर्ने बतायो । 

नेपालका तर्फबाट साइट क्लियरेन्सको सम्झौता भएको १५ दिन बित्दा-नबित्दै रुख काट्ने काम सुरु भयो । तर, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप तथा ढल राख्‍ने, निर्माणस्थलका भौतिक संरचना हटाउने, दुवै किनारमा सर्भिस लेन बनाउनेलगायतका काम सम्पन्न हुन भने वर्षौं लाग्यो । कतिपय काम सम्पन्न हुन बाँकी नै छ ।

कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा पनि बाक्लो रूपमा खाल्टाखुल्टी देखिएका छन् । काठमाडौँ महानगरपालिकाले पनि सडक बनाउन चासो देखाएको पाइँदैन ।

केही समयअघि मात्र ‘चक्रपथ सुधार आयोजनाको दोस्रो फेजको निर्माणको जिम्मेवार नेपाल सरकार र सांघाई कन्स्ट्रक्सन कम्पनीको’ भनेर लेखिएको नोटिस बोर्ड चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले  जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिएको थियो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रसमेत रहेको कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको महानगरमा जनगुनासो आएकाले सूचनापाटी राखिएको थियो । चिनियाँ कम्पनी ‘सांघाई कन्स्ट्रक्सन’ले २०७० सालदेखि काठमाडौँको चक्रपथ विस्तारको काम अघि बढाएको हो । पहिलो चरणअन्तर्गत कलंकी–कोटेश्वर खण्डको साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । तर, दोस्रो फेजको काम सुरु नै हुन सकेको छैन ।

काठमाडौँलाई आधुनिक सुविधा सम्पन्न सहर बनाउने हामी सबै नागरिकले नै हो । घना बस्ती, अव्यवस्थित सहरीकरण र विकासप्रति हाम्रो सोचका कारण काठमाडौँ उपत्यकामा विकास निर्माणका काम सम्पादन गर्न कठिन छ । काठमाडौँको सडक विस्तारको मात्र प्रगतिको कुरा गर्ने हो भने पनि पटक्कै सन्तोष गर्ने ठाउँ देखिँदैन, समस्याका चाङ छन् र ती समस्या दिनप्रतिदिन थपिँदै जाँदा आमनागरिकले अनेकन सास्ती खेप्नु परिरहेको छ ।


Author

थप समाचार
x