समाज

करोडौँ खर्चिदा पनि व्यवस्थापन हुन सकेन काठमाडौँ उपत्यकाको फोहोर

अतिन आचार्य |
बैशाख २, २०७९ शुक्रबार २१:१४ बजे

फाइल तस्बिर

काठमाडौँ - सडकका किनारामा फोहोर छ । सार्वजनिक यातायात बस फोहोरको थुप्रो नजिक रोकिन्छ । फोहोरको थुप्रो छेउबाट यात्रुहरू बसमा उक्लिन्छन् । हिजो आज यस्ता दृश्य काठमाडौँ उपत्यकाको भित्रि सडकखण्डमा प्रशस्तै देखिन्छ ।

करिब दुई साता हुन लाग्दा पनि काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका १७ वटा नगरपालिकाको फोहोर उठ्न सकेको छैन । कारण सहजै अनुमान लगाउन सकिन्छ,' सिसडोलबासीको अवरोधका कारण उपत्यकाको सडकबाट फोहोर उठ्न सकेको छैन ।'


काठमाडौँका सडकबाट फोहोर नउठ्नु कुनै नौलो समस्या होइन् । कुनै समय महिनामा दुई-तीन पटकसम्म फोहोर उठ्दैन । जसका कारण दुई सातासम्म सडकमा फोहोरको चुली बन्छ । सडकबाट एक दिन फोहोर नउठदा १२ सय मेट्रिक टन फोहोर जम्मा हुन्छ ।  तर, महानगरले स्थानीयको समस्या समाधान गर्न करिब १२ करोड खर्च गरिसक्दा पनि समस्या ज्यूँको त्यूँ छन् ।

आखिर किन महानगरको सडकमा महिनै पिच्छे फोहोर थुप्रिन्छन् ?

सिसडोलबासीको अवरोधले वा महानगरले फोहोरले व्यवस्थापन गर्न नसकेर हो ? स्थानीयले समय-समयमा सडक निर्माण  स्वास्थ्य चौकीलगायतका विभिन्न माग गरेर सडक अवरोध गरे ।

काठमाडौँ महानगरपालिकाले पनि सडकलगायत अन्य स्वास्थ्य चौकी निर्माण गरिसकेको छ । फोहोर विसर्जन गर्न जाने सडक मानवबस्ती भएर जानु पर्ने भएकाले स्थानीयले समुदायको साझा समस्या जस्तो गरी फोहोरको सवारीसाधनलाई अवरोध गर्ने महानगरपालिकाकी वातावरण व्यवस्था विभागका प्रमुख सरिता राईले बताइन् ।

उनका अनुसार हिजो आज दैनिक फोहोर उठ्न थालेको छ । सडक निर्माणको काम पनि भइरहेको छ । प्रहरी परिचालन गरेर भए पनि फोहोरको सवारीसाधन पास भइरहेको छ । करिब दुई सातादेखि सडकमा जम्मा भएको फोहोर उठाउन अझै दुई-तीन लाग्‍न सक्ने उनको भनाइ छ ।

महानगरले स्थानीयको मागहरू पूरा गरिदिएपछि मात्र अवरोध हट्ने गरेको छ । स्थानीयको जग्गा अधिग्रहण र सडक निर्माणको काम महानगरपालिकाले मात्र गर्न नसक्ने राईले बताइन् । सम्बन्धित निकायलाई लिखित वा मौखिक रुपमा जानकारी गराउँदा पनि समयमा समाधान हुन नसकेको उनले राईले गुनासो गरिन् ।

किन बारम्बार काठमाडौँका सडकमा फोहोर थुप्रिन्छन् ?

ल्याण्डफिल साइटको क्षमता पूरा नहुनु । वैकल्पिक ल्याण्डफिलको व्यवस्था नहुनु । ल्याण्डफिल जाने सडकखण्डको अवस्था दयनीय हुनु । वैकल्पिक मार्गको व्यवस्था नहुनु ।

वर्षातको समयमा फोहोरमाथिको बाटोमा लोड भएका सवारीसाधनहरू उक्लन नसक्नु । स्थानीय बासिन्दाहरूबाट विभिन्न समयमा विभिन्न मागहरू राखी बन्द हडताल गरी फोहोर विसर्जनमा अवरोध हुनु ।

फोहोर उत्पादन गर्ने अन्य स्थानीय तहहरूले ल्याण्डफिल साइट व्यवस्थापनमा चासो नदिनु । आन्तरिक व्यवस्थापनः पुराना र अधिकांश थोत्रा सवारी साधनहरू, जनशक्ति, श्रोत साधन हुनु । एकीकृत फोहोरमैला व्यवस्थापनको प्रकृया टुङ्गो नलाग्दा व्यवस्थित र प्रविधिमैत्री फोहो व्यवस्थापन अन्योलमा पर्नु ।

महानगरले सिसडाेलकाे प्रभावित क्षेत्रकाे लागि के–के गर्‍याे ?

महानगरले सिसडोलबासीका लागि फोहोर प्रभावित क्षेत्रमा ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ खर्च गरिसकेको छ । सिसडोल स्वास्थ्य चौकीमा एक अहेवसहित ९ जना स्थानीय बासिन्दा कर्मचारीको तलब भत्ता महानगरले उपलब्ध गराउँदै आएको छ ।

ककनी गाउँपालिकालाई एम्बुलेन्ससहित चालक उपलब्ध गराएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई रोजगारी, तिनपिप्लेदेखि सिसडोल सम्मको नाली सफा गर्न एक सुपरभाइजरसहित ५ जना स्थानीय बासिन्दालाई दैनिक ज्यालामा लेन्थ वर्करको रुपमा परिचालित छन् । ल्याण्डफिल साइट व्यवस्थापमा सहयोगीको रुपमा ६ जना लेन्थ वर्कर छन् ।

प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यालयले गत चैत २६ गते सहरी मन्त्रीको संयोजकत्वमा समिति बनायो । विगतमा भएका प्रतिबद्धताहरूको कार्यान्वयन, ल्याण्डफिल साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्नुपर्दा पनि समाधान फोहोर विसर्जनको समाधान भएन ।  


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x