समाज

प्रधानमन्त्रीज्यू, हावामा भाषण दिएर हुँदैन, कानुन नबनाइकन नवप्रवर्तनको लागि १ प्रतिशत बजेट छुट्याएर केही हुँदैन : महावीर पुन

इकागज |
बैशाख २२, २०८१ शनिबार १९:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले नवप्रवर्तनसम्बन्धी कानुन नबनेपछि आक्रोश पोखेका छन् । 

शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै कानुन नबनेसम्म बजेट छुट्याएर काम नहुने र कानुन किन बनेन भनेर सोधखोज गर्नु पर्दैन भन्दै आक्रोश पोखेका हुन् । 


प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तनका निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाइको डा. पुनले प्रतिवाद गर्दै प्रधानमन्त्रीले हावाको भाषण नगर्न आग्रह गरेका छन् । उनले​ भनेका छन्, 'प्रधानमन्त्रीज्यू, त्यत्तिकै हावामा भाषण दिएर हुँदैन । कानुन नबनाइकन नवप्रवर्तनको लागि १ प्रतिशत बजेट छुट्याएर केही हुँदैन । कानुन बनाउन आलटाल गर्ने दोषी को हो भनेर चिन्नु होस् ।'

पुनले नवप्रवर्तनसम्बन्धी ​कानुन किन बनेन भनेर सोधखोज किन नगरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् । उनले उक्त विषयमा प्रधानमन्त्रीले तुरुन्त कदम चालेर आवश्यक कदम नचाल्ने हो भने फेरि राष्ट्रव्यापी 'जनआन्दोलन' हुने चेतावनी समेत दिए । 

उनले भने, 'कानुनको मस्यौदा बनाउने कर्मचारीहरूले कसरी घुमाइ रहेका छन् र झुक्याएका छन् भनेर नबुझीकन तथा सो कानुन नबनिकन प्रधानमन्त्रीले तल भने अनुसारको हावाको भाषण नगरे पनि हुन्छ । कानुन नबने सम्म बजेट छुट्याएर काम हुँदैन । कानुन किन बनेन भनेर सोधखोज गर्नु पर्दैन ? सो विषयमा प्रधानमन्त्रीले तुरुन्त कदम चालेर आवश्यक कदम नचाल्ने हो भने फेरि राष्ट्रव्यापी "जनआन्दोलन" हुनेछ ।'

'विज्ञान मन्त्रालयका सम्बन्धित विषयका कर्मचारीहरूको 'आफूभन्दा जान्ने कोही छैन' भन्ने सोचाइ र अकर्मन्यताले गर्दा गत वर्ष धर्ना आन्दोलन गरेर पूरा भएको माग अनुसार 'विज्ञान-प्रविधि र नवप्रवर्तन' सम्बन्धी कानुन अहिलेसम्म बनेको छैन । त्यसैले गत दुई वटा संसदको अधिवेशनमा पनि त्यो विधेयकको मस्यौदा पेस नै भएन । त्यो दोष कानुन बनाउने जिम्मेवारी लिएकाहरूले लिनु पर्छ तर नाम तोक्न चाहन्नँ,' उनले अगाडि भनेका छन् ।

यस्तै पुनले नेपालमा विज्ञान प्रविधि र नवप्रवर्तन कसरी गर्ने भन्ने कुरामा जागीर खाने कर्मचारीहरूले आफू जस्ता भुक्तभोगीहरूलाई सिकाउनु नपर्ने बताएका छन् ।

 

 


Author

थप समाचार
x