समाज

भुटानी शरणार्थी प्रकरणः छोरा हिरासतमा, बुबा टोपबहादुर रायमाझी कहाँ गए ?

अतिन आचार्य |
बैशाख २२, २०८० शुक्रबार ११:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइप्रोफाइल संलग्न भएपछि नेपाल प्रहरी 'हाइ अलर्ट' बनेकाे छ। नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजान संगठित रुपमा गिरोह लागेपछि पीडितहरूले विभिन्न ठाउँमा उजुरी दिन थाले । अनि धमाधम पक्राउ पनि पर्न थालेका हुन् ।

पीडितहरूले उजुरी दिन थालेपछि उनीहरूको खोजी हुन थालेको थियो । पीडितहरूले गिरोहलाई १० देखि २० लाखसम्म अग्रिम रकम बुझाएको प्रहरीमा दिएकाे  उजुरीमा उल्लेख छ । हालसम्म एक सयभन्दा बढीले प्रहरीसमक्ष उजुरी दिएका छन् ।


पछिल्लो केही दिनयता निरन्तर हाइप्रोफाइलका व्यक्तिहरू पक्रन थालेपछि नाम मुछिएका व्यक्तिहरू सम्पर्कविहीन हुन थालेका छन् । पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी यतिखेर प्रहरीको खोजीमा छन् ।

रायमाझीलाई बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जी जारी भइसक्दा पनि उनलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेका छैनन् ।   

रायमाझी बिहीबार काठमाडौँ आएर प्रहरीसमक्ष आफैँ हाजिर हुने भनिए पनि उनी पुगेनन् । उनी प्रहरीको स्कर्टिङ मार्फत भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको भनिएको थियो ।

तर, उनले  प्रयोग गरिरहेको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बर गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आयो । तर उनी त्यस गाडीमा थिएनन् । थिए त केवल चालक मात्र । प्रहरीले उनको गाडीलाई बाटोदेखि पिछा गरिरहे पनि चालकलाई मात्र फेला पारेकाे थियाे ।

यतिखेर प्रहरीको सर्वाधिक खोजीमा रहेका रायमाझी कहाँ गए त?  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतका अनुसार रायमाझीलाई निरन्तर खोजिएको छ । अहिलेसम्म पक्राउ परेका छैनन् ।

‘कहाँ छन् भनेर हामीले भन्न सक्ने अवस्था छैन,’ उनले इकागजसँग भने,’ उनलाई नियन्त्रणमा लिन विभिन्न उपाय अपनाएर खोजी कार्य भइरहेको छ । सम्पर्क  हुने माध्यम खोजिरहेका  छौं ।‘

उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्नका लागि विभिन्न पाटो प्रयोग गरेर खोजी भइरहेको उनको भनाइ छ । ‘प्रहरीले उनलाई जसरी पनि नियन्त्रणमा लिन्छ । अहिलेसम्म सम्पर्क नभएर मात्र हो,’ उनले थपे ।

बुधबार बुटवलमा पक्राउ परेका छोरा सन्दीपलाई भने काठमाडौं ल्याइ सकिएको छ । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति पनि दिइसकेको छ ।

प्रहरी हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईले दिएको बयानका आधारमा उच्च अधिकारीहरू अनुसन्धानमा तानिएका हुन् ।

हालसम्म पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री रायमाझीका छोरा सन्दीपलगायत पक्राउ अन्य व्यक्ति  परेका छन् ।

बादलका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज लगायतविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x