समाज

तेलहा-मडहा पोखरी सौन्दर्यीकरण

एक वर्षमा हुनुपर्ने काम सात वर्षमा पनि भएन, उपमहानगरको चरम लापरबाही

सुभाष कर्ण |
फागुन १६, २०७९ मंगलबार ११:२ बजे

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीले सात वर्षमा पनि जानकी मन्दिर अगाडि रहेको तेलहा—मडहा पोखरीको सौन्दर्यीकरणको काम पुरा हुन नसकेको छैन । एक वर्षमा सौन्दर्यीकरणको काम सक्नेगरी ठेक्का सम्झौता भए पनि सात वर्षमा पनि बन्न नसकेको हो । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम-१० स्थित पोखरी सौन्दर्यीकरणको काम एक वर्षमा सक्नेगरी २०७३ भदौ २५ मा ठेक्का लागेको थियो । 

तर ६/६ पटक म्याद थप भए पनि जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीलेकाम  पुरा हुन सकेको छैन । हालको संघीय आयोजना कार्यान्वयन इकाईले तेलहा र मडहा ती दुवै पोखरीको सौन्दर्यकरणको काम ९५ प्रतिशत सम्पन्न भए पनि जनकपुरधाम उपमहानगरपालिकाको कारण पाँच प्रतिशत काम पुरा हुन नसकेको जनाएको छ । जनकपुरधाम उपमहानगरले पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना र टहरा हटाउन नसक्दा केही भागमा ईटा जोडाई, फ्लामको फ्रेन्चिङ्ग र रिटेरिङ्ग वालको काम बाँकी रहेको छ । 


संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रदीप खनालले मडाहा पोखरीको घाट निर्माण र तेलहा पोखरीको तिन तिर रिटेलिङ्ग वाल र दक्षिणपट्टी घाट निर्माणसहित ९५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । तर उपमहानगरपालिकाले नक्सा बमोजिम सीमाङ्कन गरिएका पोखरीको जग्गामा निर्मित संरचना र अस्थायी संरचना हटाउन नसक्दा निर्माण गर्न नसकिएको उनले बताए । 

सुगम कमल सुगम जेभी कन्स्ट्रक्सन कम्पनीले तात्कालीन शहरी विकास तथा भवन निर्माण कार्यालयबाट पाएको ठेक्काको ६/६ पटक म्याद थप भइसकेको छ । आउँदो चैत मसान्तसम्म अन्तिम पटकका लागि म्याद थप गरिएको हो । यस पटक सम्पन्न भएन भने निर्माण कम्पनीको ठेक्का नै रद्द हुनेछ । एक करोड ३७ लाख २९ हजार रुपैयाँमा लागेको ठेक्कामा अहिलेसम्म १ करोड १८ लाख ४२ हजार रुपैयाँ खर्च भइसके पनि काम भने अधुरै छ । 

प्रमुख खनालले, 'अतिक्रमित संरचना हटाउनुका साथै दुवै पोखरीको सरसफाई गर्न उपहानगरलाई पटक पटक ताकेता गर्दा पछिल्लो पटक अस्थायी संरचना हटाउन माघ २० मा ७ दिने सूचना प्रकाशित गरेको थियो । तर हालसम्म ती संरचनाहरू हटाइएको छैन ।'
 
जनकपुरधाम-१० को कि.नं. ११७ को २ कट्ठा, कि.नं. १३५ को मडहा पोखरी र कि.नं. १६३ को तेलहा पोखरीको ५ धुर जमीन बिक्री, जसमा संरचना निर्माण भई पसल सञ्चालनमा रहेका छन भने तेलहाको पूर्वपट्टी जग्गा अतिक्रमण भई घरसहितका स्थायी संरचना नै निर्माण भइसेकेका छन् र पश्चिमपट्टी मन्दिर र उपमहानगरको मिलोमतोमा फलफूल र प्रसाद सामाग्री वितरणका लागि जग्गा भाडामा लगाइएको छ । यसबारे जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई सम्पर्क गर्दा दिनभर मोबाइल स्वीच अफ थियो । प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीलाई पटक पटक फोन गर्दासमेत उठाएनन् । 

गैरजिम्मेवार जनप्रतिनिधि
गत कात्तिक २ गतेका दिन पोखरी सरसफाईको विषयलाई लिएर स्थानीय युवा र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा तीन जना घाइते भएका थिए भने ९ युवा पक्राउ परेका थिए । 

त्यस बेला उपमहानगरपालिकाका मेयर मनोज साहले ती पोखरीको सौन्दर्यकरणको काम संघीय सरकारबाट शहरी विकास तथा भवन निर्माण कार्यालयबाट भइरहेकोले हामीले त्यसमा केही गर्न नसक्ने अभिव्यक्ति दिएका थिए । 

उनले अभिव्यक्ति दिएको चार महिनापछि उपमहानगरपालिकाले पोखरीको डिल अतिक्रमणगरी बनाइएका घर, पसल र ठेलालगायतका स्थायी एवं अस्थायी खाली गर्न भनी माघ २० गतेका दिन सात दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिएको तेश्रो साता बित्न लाग्दा पनि उपमहानगरपालिकाले पोखरीको डिल अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन सकेका छैन भने पोखरीको फोहोरसमेत सरसफाई गर्न सकेको छैन । 

भ्रष्टाचारको अखडा
वर्षौदेखि सौन्दर्यीकरणको पखाईँमा रहेका ती दुवै पोखरी संघदेखि प्रदेशसम्म भ्रष्टाचारको अखडा बनेका छन् । दुवै पोखरी सौन्दर्यकरणको लागि संघीय सरकारबाट २०७१ सालमा समेत गरी दुई/दुई पटक ४० लाख निकासा गरियो तर हालसम्म त्यस बजेटबाट के कति काम भयो त्यसको अत्तोपत्तो छैन । 

प्रदेश सरकारले समेत एक पटक ४० लाख र त्यसपछि गत आर्थिक वर्ष २०७८/०७९ मा डेढ करोड रुपैयाँ ती पोखरीहरूको सौन्दर्यीकरणको लागि बजेट छुटयाएको थियो । तर के काम भयो त्यसको अत्तोपत्तो छैन । 

संघीय सरकारबाट ठेक्का लागिसकेका योजनामा प्रदेश सरकारले बजेट निकासा गर्नुको कुनै औचित्य नभई कागजमा काम सम्पन्न गरेर रकम भ्रष्टाचार गर्ने उद्देश्य रहेको आरोप लाग्दै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x