समाज

लागूऔषधसहित दुई युवक पक्राउ

सुभाष कर्ण |
पुस २५, २०७९ सोमबार २०:४९ बजे

जनकपुरधाम- सशस्त्र प्रहरी धनुषाले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–४ मखना बस्ने ३४ वर्षीय खालिल राईन र गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजार बस्ने २७ वर्षीय गुड्डु आलम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


विदेह नगरपालिका–१ महिनाथपुरस्थित महिनाथपुर नाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त पाण्डेयको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी ठाडीबाट नेपाल प्रहरीसहितको संयुक्त टोलीले आइतबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको सवारी चेकजाँचका क्रममा पक्राउ गरेको थियो ।

प्रदेश–२–०२–००४प ६३१५ नम्बरको मोटरसाइकलमाथि शंका लागि चेकजाँच गर्दा खालिलले लगाएको हाफ ज्याकेटभित्र कालो प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा डाईजेपाम ईन्जेक्सन ७५ वटा (प्रति ईन्जेक्सन २ एम.एल.), फेनारगन ईन्जेक्सन ७० वटा (प्रति ईन्जेक्सन २ एम.एल.) र आई पि पि एल ईन्जेक्सन ७५ वटा (प्रति ईन्जेक्सन २ एम.एल.) बरामद भएको सशस्त्र प्रहरी ८ नम्बर गण हेडक्वाटर धनुषाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x