समाज

समाजसेवाका नाममा स्वार्थसिद्धि

असहायको नाममा वैद्यनाथ साहको रजाइँ

सुभाष कर्ण |
पुस २२, २०७९ शुक्रबार १०:४५ बजे

जनकपुरधाम- गरिब, असहाय तथा दीन-दुःखीको संरक्षण, उद्धार तथा सहयोगका लागि जनकपुरधाममा 'असहाय संरक्षण मञ्च' नामक सामाजिक संस्था खोलिएको छ । दाताहरूबाट सहयोग लिई गरिब, दीन-दुःखी तथा असहायहरूलाई सहयोग तथा उद्धार गर्ने मूल उद्देश्य त्यो संस्थाको छ । तर त्यसको काम भने नामअनुसार छैन । संस्था सामाजिक सेवाका लागि नभई व्यक्तिगत कमाई खाने माध्यम बनेको छ । 

असहायहरूको आश्रयस्थलका लागि सेवा सदन बनाउने भन्दै गुठी संस्थानसँग जनकपुरधाम-१२ मा केही जग्गा लिएर जनकपुरधाम उपमहानगरसँग १८ लाख रुपैयाँ घेरबारका लागि अनुदान लिएका ‘असहाय संरक्षण मञ्च’का अध्यक्ष वैद्यनाथ साहले भने व्यक्तिगत कमाई खाने भाँडो बनाएका छन् । सेवा सदन भनेर लिइएका ती जग्गामा व्यावसायिक प्रयोजनका लागि सटरसहितको भवन निर्माण भइरहेको छ । ती सटर भाडामा लगाएर आम्दानी गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो । 


यति मात्र होइन गरिब, दीन-दु:खी र असहायहरूलाई नि:शुल्क सेवा दिने उद्देश्यले भारतीय दूतावासबाट एउटा एम्बुलेन्स समेत अनुदानमा लिएका छन् । तर एम्बुलेन्सलाई सेवामा नभई ३५ हजार रुपैयाँ मासिक लिने गरी ठेक्कामा लगाएका छन् । 

२०७७  साल चैत २५ गते गुठी संस्थान जनकपुरले मञ्चलाई असहायहरूको आश्रय स्थल बनाउन २०७७ देखि २०८२ साल सम्म ५ वर्षका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवा रामपुरमा ९ कठ्ठा ६ धुर ३ कनमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गामा मञ्चले अस्थायी संरचना मात्र बनाउन पाउने सर्तका साथ गुठी संस्थानले जग्गा उपलब्ध गराएको संस्थानका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले बताए । उनले भने 'असहायहरूको सेवाका लागि दिइएको जग्गामा व्यवसायिक प्रयोजन गर्नु गलत हो, यदि त्यस्तो हुन्छ भने हामी तत्काल रोकाउनेछौं ।'

मञ्चका अध्यक्ष बैद्यनाथ साहलाई जनकपुरधाम उपमहानगरपालिकाले जग्गामा घेराबार कार्यका लागि समानिकरण अनुदान स्वरुप आर्थिक वर्ष २०७८/७९ मा १३ लाख र आर्थिक वर्ष २०७९/८० मा पाँच लाख रुपैयाँ उपलब्ध गराएको जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता प्रमेश झाले जानकारी दिए । 'हामी असहाय संरक्षण मञ्चलाई सेवा सदनका लागि भनिएका जग्गाको घेरबारसहित अस्थायी संरचनाका लागि दिएका छौं,' उनले भने, 'यसमा यदि व्यवसायिक संरचना निर्माण गरिदैंछ भने हामी त्यसको अनुगमन गरेर तत्काल रोक्न लगाउनेछौं ।'

अध्यक्ष साहले असहाय संरक्षण मञ्चको संरचना निर्माणका लागि उपमहानगरसँग लाखौं रकम लिए पनि भवन निर्माण गरेका मजदुरहरूको पनि पैसा भुक्तानी गरेका छैनन् । जनकपुरधाम–१२ बस्ने दिलिप सदाले मञ्चका अध्यक्ष साहले आफूसँग तीन महिना काम गराएर पैसाको हिसाब किताब समेत नगरेको आरोप लगाए । उनले विवाह मण्डप निर्माण गर्ने भन्दै आफूलाई अध्यक्ष साहले काम गर्न लगाएपछि पैसा दिन आनाकानी गरेको बताए ।

यस सम्बन्धमा असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहले मञ्चले गुठीसँग जग्गाको सम्झौता गरी सो जग्गामा असहाय सेवा सदन नै निर्माण गरिरहेको दाबी गरेका छन् । सटर निर्माण गर्न लागिएको बारे उनले भने, 'असहायरुको सेवाका लागि चाहिने आर्थिक उपार्जनका लागि अगाडिमा सटर निर्माण गर्न लागिएको हो । पछाडि सेवा सदन नै निर्माण गरिरहेका छौं ।' गरिब असहायको विवाह, आश्रय स्थल धर्मशाला मूल प्रयोजन रहेको बताए । उनले निर्माण कार्य सम्पन्न भएसँगै आफू तुरन्त समाजलाई हस्तान्तरण गर्न तयार रहेको बताए । 

एम्बुलेन्स पनि ठेक्कामा

गरिब, असहायलाई सेवा दिने उद्देश्यले मञ्चले भारतीय दूतावासले २०७७ साल असोज महिनामा महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीको उपलक्ष्यमा जनकपुरधामका असहाय संरक्षण मञ्चलाई एम्बुलेन्ससमेत अनुदानमा लिए । तर ती एम्बुलेन्स ३५ हजार महिनाको दरमा धनुषाको बटेश्वर गाउँपालिका बस्ने सुकेश्वर महतोलाई ठेक्कामा दिई नाफा कमाइरहेका छन् ।

नेपाल–भारत सहयोग लेखिएको प्रदेश–२–०२–००१ च ०३९२ नम्बरको ती एम्बुलेन्स अनुदानमा पाएपछि सुरुमा उक्त एम्बुलेन्स चलाउनका लागि अध्यक्ष साहले एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष अरमान साहलाई मासिक १३ हजारको दरले चालकमा राखेर सचालन गरियो । तीन महिनापछि सो चालकलाई मासिक ३० हजारको दरले ठेक्कामा दिए । अरमानले सो गाडी एक वर्षसम्म ठेक्कामा चलाए । गाडी दुर्घटनामा परेपछि अध्यक्ष साहले अरमानसँग सो गाडी खोसेर बटेश्वरका सूर्यदेव महतोलाई ठेक्कामा दिएका हुन् । अहिले सो एम्बुलेन्स सुकेश्वरकै ठेक्कामा छ ।

एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस सहितका अत्याधुनिक सुविधा रहेको छ ।

साह अध्यक्ष रहेको सो मञ्चको कार्यसमितिमा उनकै परिवारका व्यक्ति तथा नजिकका व्यक्ति पदाधिकारी तथा सदस्य रहेका छन् । मञ्चको उपाध्यक्षमा साहको श्रीमती उपाध्यक्ष रहेका छन् भने छोरा छोरी समेत सदस्यको रुपमा छन् । यसरी साहले सो संस्थालाई व्यक्तिगत गोजीको संस्था बनाएर कमाई खाने भाँडो बनाएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x