सूचना-प्रवधि

अब डिजिटल चौतारा

जीवन कुँवर |
असार १, २०८० शुक्रबार १२:१४ बजे

काठमाडौँ- सञ्‍चार तथा सूचना प्रविधि क्षेत्रमा नेपाल अघि बढिरहेको छ । नेपालमा सबैभन्दा छिटो विकास भएको क्षेत्र सूचना प्रविधि नै हो । विश्वमा सूचना प्रविधि धेरै देशहरूको आर्थिक विकासको एक प्रमुख स्रोतन पनि मानिन्छ । सूचना प्रविधिको सहयोगले इमेलहरू, आवाज र भिडियो कलहरू छिटो, सस्तो पनि हुने गर्छ । 

चौतारा साँगाचोकगढी नगरपालिका पनि सञ्‍चार तथा सूचना प्रविधि क्षेत्रमा अघि बढिरहेको छ । 'डिजिटल चौतारा' बनाउनका लागि काम अन्तिम चरण पुगेको नगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर रोशन घिमिरे बताउँछन् ।


बागमती प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत एकीकृत सूचना प्रणाली व्यवस्थापन नगरपालिकाले गर्दैछ । उक्त काम असार मसान्तभित्र सक्ने गरी नगरपालिकाले काम गरेको घिमिरे बताउँछन् । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १ करोड ४० लाख र नगरपालिकाको ६० लाख गरी २ करोड रुपैयाँमा नगरवासीको डिजिटल प्रोफाइल बनाउने काम अन्तिम चरणमा पुगेको घिमिरेले बताए ।

'हामी धमाधम नगरवासीको डिजिटल प्रोफाइल बनाउँदै छौँ । घरधुरी सर्वेक्षण सकेर प्रोफाइल बनाउने काम धमाधम भइरहेको छ'घिमिरेले भने 'त्यसमा नगरवासीको सबै डाटा हुन्छ । जस्तो कि कसको जीवनस्तर कसरी चल्दैछ । उनीहरूको आम्दानीको स्रोत के हो ? उनीहरूले के काम गर्छन् । विदेशमा छन् भने उनीहरूले घरमा के कति पैसा पठाउँछन् । उक्त पैसाले उनीहरूकव जीवनस्तर चल्छ कि चल्दैन्‌ । उनीहरूको वार्षिक आम्दानी कति हो । कति खर्च हुन्छलगायत समेटिने छन् ।'

उक्त डिजिटल प्रोफाइलको काम असारभित्रै सकिने घिमिरेले बताए । नगरपालिकाको १४ वटै वडाका गरी हालसम्म १२,६९४ घरधुरी सर्वेक्षण कार्य सकिएको छ । 

त्यस्तै नागरिकलाई सुसुचित गराउन नगरपालिकाले डिजिटल बोर्ड पनि राख्‍ने लागेको उनले जानकारी दिए ।

'नगरपालिकाले अनलाईन सफ्टवेयर प्रणालीको काम गरिरहेको छ । त्यस्तै नगरपालिकाको सम्पुर्ण वडामा रहेका १०२६ जना उपभोक्ता समिति /टोल विकास समितिका पदाधिकारीहरू/प्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि गर्नका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ' मेयर कृष्णप्रसाद सापकोटा  देशबन्धुले भने । 'चौतारा नगरपालिकालाई डिजिटल चौतारा बनाउँदै छौँ' मेयर सापकोटाले भने 'यसका सबै काम अन्तिम अवस्थामा पुगेको छ ।'

नगरपालिकाले केही समयअघि मात्रै नेपाल पत्रकार महासंघको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा ६० जनालाई सूचनाको हक सम्बन्धी तालिम तथा ८० जनालाई डिजिटल पत्रकारिता सम्बन्धी तालिम प्रदान गरेको छ ।

नागरिकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्नका लागि चौतारा बजार क्षेत्रमा सिसिटिभि जडान गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकबाट अनुगमन गर्ने व्यवस्था मिलाएको छ । शिक्षा मन्त्रालयको सहयोगमा नगरपालिका भित्रका सबै विद्यालयहरूमा ICT सफ्टवेयर जडान कार्य प्रारम्भ गरिएको छ।

नेपाल टेलिकम प्राधिकरणको १ करोड ५ लाख आर्थिक सहयोगमा नगरपालिकाले १४ वटै वडा, नगरपालिकामा रहेका सबै स्वास्थ्य संस्था र सबै सामुदायिक विद्यालयमा अप्टिकल फाइबरको इन्टरनेटको जडान धमाधम गरिरहेको छ । उक्त काम पनि असारभित्रै सकिने घिमिरेले बताए ।

'डिजिटिल चौतारामा बनाउने क्रममा अब नगरपालिकाको सबै वडा, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरिरहेका छौँ' घिमिरे भन्छन् ' अहिले समयमा इन्टरनेटबाट कोही वञ्‍चित नहोउन भन्‍ने हाम्रो लक्ष्य हो ।'

नगरपालिकाले कार्यालयमै पैसा तिर्न आउने झन्झट्‌बाट पनि सेवाग्राहीलाई मुक्त बनाउँदै छ । अबको आर्थिक वर्षमा नगरपालिकाले डिजिटल पेमेन्ट सिस्टम बनाउन लागेको घिमिरेको भनाई छ । 

'अहिले सेवाग्राही सबै नगरपालिकामै आएर भुक्तानी गर्नुपर्ने अवस्था छ । अब त्यसलाई पनि हामी डिजिटल पेमेन्ट सिस्टम बनाउँदैछौँ' घिमिरेले भने 'नगरको घर नम्बर पनि अब डिजिटलबाटै दिनेछौँ ।'

उनकाअनुसार नगरका सबै स्वास्थ्य संस्थामा इहाजिरी र सिसि क्यामेरा जडान गरिँदै छ ।

सञ्चार क्षेत्रलाई विकास गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककमा अध्यक्ष जीवन श्रेष्ठले बताए । नगरपालिकाले पत्रकार महासंघलाई १८ लाख रुपैयाँ सहयोग गरेको श्रेष्ठले बताए ।

'विकास निर्माणको सवालमा मठ, मन्दिर र सडक बन्‍नु मात्रै पनि विकास होइन् । सञ्चारको सफलता र सञ्चार सशक्ताले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउँछ भने सुसुचित हुने अधिकार प्राप्त हुन्छ' श्रेष्ठले भने 'विकासको अर्को नमूना सञ्चार पनि हो । सञ्चार क्षेत्रमा लगानी जुन नगरपालिकाले गरेको छ त्यो स्वागत योग्य छ ।'


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x