समाज

२४ घण्टाभित्र समाचार हटाउन सिधा कुरालाई सर्वोच्चको आदेश

इकागज |
बैशाख १७, २०८१ सोमबार २०:१३ बजे

काठमाडौँ- स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन एक सञ्चार माध्यमलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

सिधा कुरा डटकमले स्टिङ अपरेशनसम्बन्धी मुद्दा हटाउन सर्वोच्चका न्यायाधीशसमेतको मिलेमतो रहेको दाबीसहित समाचार प्रकाशन गरेको थियो ।


न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिँदै अवहेलनासम्बन्धी निवेदनलाई फौजदारी लगतमा राख्न आदेश दिएको छ ।

सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारण लगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्न/नगराउन पनि आदेश दिएको छ ।

गत शुक्रबार सिधाकुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुससम्बन्धी मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालकहरूले बैठक गरेको भनी दाबीसहितको समाचार प्रकाशित गरेको थियो । तीन भागमा समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत प्रशासनले नै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भनी प्रतिवेदन तयार गरेको थियो ।

 

 


Author

थप समाचार
x