कर्णाली

चुनाव केन्द्रित अभियानमा दलहरू कर्णालीका गाउँ–गाउँमा

लक्ष्मी भण्डारी |
चैत ८, २०७८ मंगलबार ११:२० बजे

सुर्खेत– आगामी वैशाख ३० मा निर्वाचनको मिति घोषणा भएसँगै कर्णालीका राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । उनीहरुको निर्वाचन लक्षित गतिविधिमा सक्रियता बढ्न थालेको छ । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् । जनाधार बटुल्न यतिबेला राजनीतिक दलहरू गाउँ–गाउँमा केन्द्रित भएका छन् ।

कर्णालीमा पनि राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित अभियान सुरु गरेका हुन् । मत आफ्नो पक्षमा पार्न दलहरूले गाउँ–गाउँमा पुगेर भेला, सभा, प्रशिक्षण तथा बैठक सञ्चालन गरिरहेका छन् । भेला प्रशिक्षण सँगै पार्टी प्रवेशको कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।


यसरी सबैजसो दलहरूले अहिले चुनाव केन्द्रित अभियान चलाएका छन् । मतदाता रिझाउन नेता–कार्यकर्ताहरू महत्वाकांक्षी योजनासहित स्थानीयस्तरमा खटिसकेका छन् । एकातर्फ चुनावी अभियान चलिरहेको छ भने अर्कोतर्फ नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी चलेको छ । आकांक्षीहरूले जिल्ला पार्टी नेतृत्वसँग आफूलाई टिकट दिन भन्दै लबिङ गर्न पनि सुरु गरिसकेका छन् ।

नेपाली कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित एक महिने चुनावी अभियान घोषणा गरेको हो । जसअनुसार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितका केन्द्रीय नेताहरूले सुर्खेतका अगुवा नेता–कार्यकर्तालाई वीरेन्द्रनगरमा प्रशिक्षण समेत दिएका थिए । जिल्लाका सबै कांग्रेस नेताहरू चुनावी अभियानसहित गाउँ पस्ने कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलले बताउँछन् । जिल्ला कार्यसमितिहरूले वडा र टोल–टोलसम्म पुगेर चुनावीसभा गर्ने योजना बनाएका छन् भने टोल कार्यसमितिहरूलाई घरदैलो गर्न निर्देशनसमेत गरेको छ । काँग्रेसले घर घर जाऔं काँग्रेस जिताऔं भन्ने अभियानका साथ गाउँ तथा टोल टोलमा पुगेर कार्यक्रमहरु सञ्चालन गरेको काँग्रेस सुर्खेतका अध्यक्ष खड्ग पोख्रेलले जानकारी दिए ।

त्यसैगरी नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएदेखि नै गाउँ केन्द्रित गतिविधि गरिरहेको छ । एमालेले स्थानीय तह निर्वाचन लक्षित भनेर अभियानको घोषणा नगरेपनि गाउँ–गाउँमा भेला, प्रशिक्षण, छलफललगायतका गतिविधि सञ्चालन  गरेको छ । अभियानका क्रममा अन्य पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको छ ।

एमाले अहिले जिल्लाका स्थानीय तहहरूमा प्रशिक्षण कार्यक्रमसँगै पार्टी प्रवेश कार्यक्रममा व्यस्त छ । पालिकास्तरीय विस्तारित बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेको छ । एमालेको प्रशिक्षण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल, केन्द्रीय सदस्यद्वय नवराज रावत र मोहनमाया ढकाल सहभागी छन् । केन्द्र र जिल्लाको निर्देशनअनुसार टोल कमिटी निर्माण गर्ने र सबै किसिमका संगठनलाई चुस्त बनाउने काम पनि एमालेले गरिरहेको छ । एमालेका प्रदेश अध्यक्ष  विनोद शाहले गाउँ केन्द्रित चुनावी अभियान सञ्चालन गरेको बताए ।

माओवादी केन्द्रले पनि निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिइरहेको छ । गाउँघरमा चुनाव केन्द्रित अभियान भने चलाइरहेको छ । एक साता अघि मात्रै  माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षणको शिलशिलामा सुर्खेत आएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गएको शनिवार वीरेन्द्रनगरमा आमसभाको आयोजना गरेको थियो। सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सुर्खेत आएका थिए । उनीहरूले जिल्लास्थित नेता–कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए । राप्रपाले पनि गाउँकेन्द्रित अभियानहरु सञ्चालन गरेको छ ।

 


Author

थप समाचार
x