कर्णाली

६ करोड लगानीको आयोजनाबाट वीरेन्द्रनगरमा प्रतिसेकेण्ड ५६६ लिटर पानी

लक्ष्मी भण्डारी |
फागुन २६, २०७८ बिहीबार १३:५६ बजे

सुर्खेत – वीरेन्द्रनगरमा अहिलेसम्मकै ठूलो खानेपानीको आयोजना बन्ने तयारीमा छ। भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा संघीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेशप्रसाद खत्री, कर्णाली प्रदेश सरकारका निमित्त सचिव गोपाल शर्मा र वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गरेका छन् । एमओयु भएसँगै अब आयोजना निर्माणको ढोका खुलेको छ । 


६ अर्ब रुपैयाँ लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । आयोजना निर्माणका लागि ६ अर्ब ५६ करोड रुपैयाँ सुनिश्चित भएपछि अबको केही वर्षभित्रमा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयको समस्या समाधान विश्वास गरिएको छ । भेरी नदीबाट उपत्यकामा ५६६ लिटर प्रतिसेकेण्ड पानी ल्याउने तयारी भइसकेको छ । सो परिणामको पानीले आगामी पचास वर्षसम्मको जनसंख्या वृद्धिदरलाई थेग्ने बताइएको छ।

वीरेन्द्रनगरका नगरप्रमुख सुवेदीले संघीयता कार्यान्वयनयता त्रिपक्षीय सहभागितामा निर्माण हुन लागेको यो नै पहिलो आयोजना भएको बताए। सुवेदीका अनुसार आयोजनाका लागि ८० प्रतिशत संघीय सरकार, २० प्रतिशत रकम प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइनेछ। ‘भेरी लिफ्टिङ्ग आयोजनाको डिपिआर बनिसकेको छ, एमओयूमा त्रिपक्षीय साझेदारीमा लगानीको पनि सुनिश्चित भयो’, नगर प्रमुख सुवेदीले भने, ‘नगरपालिकामा आयोजना व्यवस्थापन इकाइ स्थापना, संरचना निर्माणका लागि बोलपत्र आह्वान लगायतका कार्यले तीव्रता पाउनेछन् ।’ 

हाल आयोजनाको विस्तृत इञ्जिनियरिङ्ग डिजाइन तथा प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी अध्ययन कार्य भइरहेका छन्। आयोजना अनुसार भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत् सुर्खेत उपत्यकाको अमृतडाँडामा पानी ल्याइनेछ । अमृतडाँडामा रिर्जभसन ट्यांङ्कीबाट मुख्यलाइनमार्फत् उपत्यकामा पानी वितरण गर्ने योजना छ ।

सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजना अनुसार पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिर्जवेशन ट्याङ्की, मुख्य पानी प्रसारण लाइन विस्तार र दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कार्य अघि बढाइनेछ । आयोजना ६ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी मुख्य समस्याको रूपमा रहेको छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल २० हजार घरधुरीलाई धारा मार्फत् खानेपानी वितरण गर्दै आएको छ । अझै करिब १८ हजार बढी घरधुरीलाई खानेपानी धारा अपुग रहेको संस्थाले जनाएको छ । खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता भएपछि नगरबासी उत्साही भएका छन् ।


Author

थप समाचार
x