मधेश

कटहरियाका मेयरविरुद्ध उत्रिए जनप्रतिनिधि, नगरपालिकामा तालाबन्दी

इकागज |
पुस २३, २०८० सोमबार २१:३२ बजे

रौतहट- लामो समयदेखि विवादको घेरामा रहेका कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालविरुद्ध उपमेयरसहितका जनप्रतिनिधि खुलेरै उत्रिएका छन् ।

करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने मागसहित उपमेयर रिता देवी यादवसहितका जनप्रतिनिधिले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।


निर्वाचित भएदेखि नै जनप्रतिनिधिहरू लाई झुक्याएर हस्ताक्षर गराई करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । विभिन्न ८ बुँदे माग गर्दै उपमेयर यादवसहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरूमा तालाबन्दी गरेको हो ।

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै विगतमा नगरक्षेत्र भित्र हेन्डपाइप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत् पोल खरिदका लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नु पर्ने, आर्थिक वर्ष २०७९/८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघसंस्थाबाट आएको योजनाको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोरको संख्या, नाम, ठेगानासहित, उनीहरूको तलबमानको विवरण तथा भुक्तानीबारे लिखित जानकारी गराउन माग गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य, जिनसी, प्रशासन बाहेक मेयर समेतको कार्यकक्षमा तालाबन्दीपछि उपमेयर रिता देवी यादव लगायत जनप्रतिनिधिले तालाबन्दीको कारण बारे बताएका थिए ।

मेयर अजयप्रकाश जैसवालले करार कर्मचारी, डिजेल पेट्रोल, कर्मचारीको खाजा लगायत विभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरिरहेको आरोप लगाएका थिए । गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त विषयबारे जानकारी माग्दा मेयर जैसवालले आज २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए । १८ गतेको सूचनाअनुसार आज भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहसहित अनुपस्थित रहेको उपमेयर यादवले बताइन् ।

एकातर्फ मेयर अधिकृत बैठकमा सहभागी नहुनु र अर्को तर्फ मेयरको मानिस हिउँदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरूको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरु गरेकाले मेयरको नियत ठीक नरहेको उपमेयर यादवले बताइन् । एकातर्फ विभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिउँदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको उपमेयर यादवका साथै जनप्रतिनिधिहरूले बताएका छन् ।

मासिक १० लाखभन्दा बढीको डिजेल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लिने गरेको उनीहरूले दाबी गरेका छन् ।

उपमेयर रिता देवी यादव, वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुर, लगायत  तालाबन्दी गर्न गएका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मेयर जैसवालले सहज रूपमा हिसाब पारदर्शी नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । न्युजकारखाना


Author

थप समाचार
x