राजनीति

कर्णालीमा फ्लोर क्रस गरेका पूर्व सांसद भन्छन्-

'नफुट्नु थियो फुटिहाल्यो, ‘बा’ ले एकता गर्न दिएनन्'

लक्ष्मी भण्डारी |
भदौ ३, २०७८ बिहीबार १७:३८ बजे

सुर्खेत- कर्णाली प्रदेशसभाका पूर्वसांसद एंव भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमरबहादुर थापाले एमाले पार्टी विभाजन हुनुलाई बाध्यात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टी मिल्नु राम्रो भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी विभाजनतर्फ गएको बताए ।

‘पार्टी नफुट्नु थियो फुटिहाल्यो दुःख लागेको छ । पार्टी एकता भएर गएको भए राम्रो हुने थियो,’ इकाजसँग कुरा गर्दै थापाले भने, ‘केपी 'बा' ले एकता गर्न दिएनन् । एमालेका कम्रेडबाट 'बा' भएर एकता हुन दिनुभएन के गर्ने ?’


समूह फेरबदलको विषयमा प्रश्न राख्दा उनी भन्छन्,  ‘फेरबदल गर्ने भए फ्लोर क्रस गर्ने थिएँ होला र ?’ थापाले आफू एमाले समाजवादीमा रहेको र यसलाई विस्तार गरेर अघि बढ्ने बताए । ‘असहजताका बावजुद् पनि अगाडि बढ्नु बहादुरी हो सहजमा त सबै रमाउँछन्’  थापाले भने, ‘हामी पार्टी निर्माणमा लागिरहेका छौं, हाम्रो हिजोको शक्ति थप बढेर जान्छ ।’  

हिजोको दिनमा नेपाल समूहमा लाग्दा जनप्रतिनिमूलक पद जान्छ भन्ने डरले चुपचाप बसेकाहरू अब खुलेर एमाले समाजवादीतर्फ लाग्ने थापाको दाबी छ । थापा 'फ्लोर-क्रस' गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेद्वारा कारबाही भएपछि पदमुक्त भएका थिए ।

कर्णाली प्रदेशमा आफ्नो वर्चस्व जमाएको माधव नेपाल समूह पार्टी विभाजनपछि कस्तो बन्ला भनेर अहिले नै भन्न सकिने अवस्था छैन । एमाले विभाजनपछि बनेको एमाले(समाजवादी) पार्टीमा सबै नेताहरु खुल्न सकेका छैनन् । उनीहरु अझै दोधारको अवस्थामा छन् । 

कर्णाली प्रदेश सभाका सांसदहरू अधिकांश एमाले अध्यक्ष केपी ओली समूहका छन् । तत्कालीन अवस्थामा प्रदेश सभामा एमालेबाट निर्वाचित २० सांसदमध्ये नेपाल समूहमा ९ र ओली समूहमा ११ जना थिए । तीमध्ये ४ जनालाई एमालेले यसअघि नै पार्टीबाट निष्कासन गरिसकेको छ । बाँकी रहेका १६ सांसदमध्ये रुकुम पश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीलाई एमाले समाजवादीको केन्द्रीय कमिटीमा राखिएको छ । सांसद एवम् जाजरकोटका पार्टी जिल्ला अध्यक्षसमेत रहेका  करवीर शाही र सुर्खेतकी पदमा खड्का वली समूहमा  रहेका छन् । यसअघि यी दुवै सांसद माधव नेपाल पक्षमा खुलेका थिए । अब कर्णाली प्रदेश सभामा एमालेमा स्पष्ट रुपमा १६ मध्ये १४ सांसद वली समूहमा देखिएका छन् । 

 महाधिवेशनबाट निर्वाचित १० जिल्ला अध्यक्षमध्ये ७ जना नेपाल समूहबाट नेतृत्व गरिरहेका थिए । अहिले भने नेपाल समूहमा रहेका मुगु, जुम्ला र रुकुमका अध्यक्षमात्र नेकपा एमाले (समाजवादी) मा खुलेर लागेका छन् । तत्कालीन अवस्थामा नेपाल समूहमा रहेका जाजरकोटका करवीर शाही, सुर्खेतका ध्रुवकुमार शाही, र हुम्लाका दल रावल केपी ओली समूहमा छन् । सुर्खेतका शाही संघीय सांसद हुन् र जाजरकोटका शाही र हुम्लाका रावल प्रदेश सांसद हुन् । नेपाल समूहमा रहेका डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ । 


Author

थप समाचार
x