राजनीति

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

इकागज |
साउन २१, २०८० आइतबार १९:५० बजे

काठमाडौँ- राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण, तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताए । उनले अन्तर्राष्ट्रिय अपराधका रूपमा स्थापित हुने र राजश्व अनुसन्धान गर्दै जाँदा यो सँग अन्य कानुनहरू पनि आकर्षित हुने अवस्था देखिएको बताए ।


ढुंगानाले संगठित रूपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानुन अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानुन आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता, नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको जानकारी दिए । उनले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यथार्थपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको बताए । उनले पक्राउ परेका सबै आरोपित, तथ्य प्रमाणहरू समेतलाई प्रहरीको जिम्मा लगाएको बताए ।

महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परीक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरू भेटाएको जिकिर गरे । उनले हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली, २ जना चिनियाँ र एक भारतीयसहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको बताए । अनुसन्धानमा भेटिएका विभिन्न तथ्यहरू अनुसन्धानकै क्रममा रहेको उनकाे भनाइ छ । उनले सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडाहरू छापा र शिलबन्दी गरेको र अनुसन्धान गर्दै जाँदा केही गहन रूपमा पेचिलो बन्दै गएको उल्लेख गरे ।

महानिर्देशक ढुंगानाले संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धी केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य समेत बुझाएको बताए । उनले नेपाल प्रहरीले उक्त प्रकरणलाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहेको बताए ।


Author

थप समाचार
x