दल

एमसीसी सम्झौताबारे दोहोरो भूमिकाले प्रचण्ड–माधवलाई सकस

अनिष भट्टराई |
माघ २३, २०७८ आइतबार १६:५० बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई आवश्यक परिमार्जन, संशोधन गरेर मात्र अनुमोदन गर्न सकिने बताएका थिए । महाधिवेशनमा प्रस्तुत आफ्नो राजनीतिक दस्तावेजमा पनि उनले एमसीसीलाई यथास्थितिमै पास गर्न नसकिने र राष्ट्रिय सहमति बनाएर लैजानुपर्ने उल्लेख गरेको पाइन्छ । 

प्रचण्डले एमसीसीलाई परिमार्जनसहित पास गर्न सकिने बताइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले असोजमा एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको छ । जुन पत्रमा यी दुई नेताले एमसीसी पास गर्ने प्रतिवद्धता गरेका मात्र छैनन्, फागुन १६ सम्ममा एमसीसी पास गर्ने समयसीमासहितको प्रतिवद्धता जनाएका छन् । 


एकातिर परिमार्जन नगरी पास नहुने बताउने प्रचण्डले एमसीसीलाई समयसीमा नै तोकेर लेखेको पत्रले उनको द्वैध मानसिकता प्रष्ट देखाउँछ । प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा अमेरिकाले आफूमात्र नभई साझेदारहरूलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखाएको आरोप लगाएका थिए । अमेरिकाले नियोजित रुपमा जातीय दंगा, हिंसात्मक भीडन्त र स्थानीय युद्ध थोपरेर व्यापक रूपमा हतियार बिक्री गर्ने गरेका अनगिन्ती तथ्यहरु रहेको प्रचण्डको निश्कर्ष थियो । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले परिमार्जन गरेर मात्र एमसीसी पास गर्ने अडान लिइरहँदा नेपाली राजनीतिले नयाँ द्विस्ट लिने संकेत पनि देखिएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आइतबार साँझ भेटवार्ता भइरहेको छ । 

ओली नेतृत्वको सरकारले नै एमसीसीलाई संसदमा दर्ता गराएका थियो । यसकारण ओली नेतृत्वको पार्टीले एमसीसीलाई पारित गराउन सहयोग गर्न सक्छ । कांग्रेस र एमाले संशोधनबिनै एमसीसी पास गर्न सकिने पक्षमा छन् । एमसीसीले भने यसअघि नै भदौमा सरकारले सोधेका जिज्ञासाको उत्तर दिँदै संशोधन नहुने प्रष्टाएको छ । ‘संशोधनहरू ती परिवर्तन हुन् जसले यस कम्प्याक्ट सम्झौताका मुख्य अंशमा प्रभाव पार्छन् वा रकम विनियोजन, कार्यान्वयन ढाँचा, अनुगमन तथा मूल्याकंन ढाँचा अथवा कर मिनाहाका प्रावधानहरूमा हेरफेर गर्छन् । हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन,’ एमसीसीले भनेको थियो । 

संशोधन गरेर मात्र एमसीसी पास गर्ने अडान लिएका प्रचण्ड र माधव नेपाल गठबन्धनमै बस्न सक्छन् त ? माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘एमालेले साथ दिएर पास भए हामी के गर्ने ? हामी यथास्थितीमा कुनै हालतमा पास हुनुहुँदैन भन्ने पक्षमा छौं । हामी तयार नभएपछि कसरी हुन्छ ?’ 

राजनीतिक विश्लेषक हरि शर्मा भने एमसीसीका कारण गठबन्धन टुटे परराष्ट्र नीतिको दृष्टिकोणबाट सुखद नहुने बताउँछन् । ‘अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनीयतका लागि यो सम्झौता महत्वपूर्ण छ, राज्यको दृष्टिकोणबाट हेर्दा परराष्ट्र नीतिका लागि विभाजित हुनु राम्रो होइन,’ उनले भने । 

अर्का विश्लेषक झलक सुवेदी भने प्रधानमन्त्री देउवाले गठबन्धन टुटाएर एमसीसी पास नगर्ने बताउँछन् । ‘मलाई लाग्दैन कि अहिले प्रधानमन्त्री देउवाले गठबन्धन टुटाएर एमसीसीलाई अघि बढाउँछन् । बरु गठबन्धन पनि नटुट्ने, एमसीसी पनि पास गर्ने कुनै उपाय खोज्न सक्छन्,’ उनले भने । 

गठबन्धन रोज्ने कि ‘फेस सेभ’ गर्ने ?

एमसीसी पेचिलो बन्दै गर्दा प्रचण्ड–माधव नेपालका अघि दुई प्रश्न आउँछन् । गठबन्धन बचाउन एमसीसी पास गर्ने ? वा ‘फेस सेभिङ’का लागि एमसीसीको विपक्षमै उभिने ? फेस सेभिङ यसर्थमा कि तत्कालिन नेकपाको सरकार रहँदा प्रचण्ड–माधवले एमसीसीलाई ओलीविरुद्धको हतियार बनाएका थिए । 

अहिले प्रचण्ड र माधव नेपाल गठबन्धन टुट्न नदिने पक्षमा छन् । तत्कालिन नेकपा विभाजन भएपछि ब्युँतिएको माओवादी केन्द्रको र एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादी अहिले संगठन विस्तारकै क्रममा छन् । यही बुझेर नै माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्थानीय तहको निर्वाचनलाई कम्तीमा फागुनसम्म धकेल्न चाहन्थे । 

अर्कोतर्फ गठबन्धन टुटिहाले पनि एमसीसीको विपक्षमा जनमत रहेको आँकलनका साथ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसैलाई पछ्याएको हुन सक्ने शर्मा बताउँछन् । ‘तर अर्को पक्ष पनि हितमा छ भनेर त जान्छ नि । चुनावले दलहरुको यथार्थ धरातल निर्क्याैल गर्ने छ नै,’ उनले भने । 

नेकपा एमालेसँग एकताकाे सम्भावना कति छ ?

नेकपा एमालेका नेता महेश बस्नेतले एक सार्वजनिक कार्यक्रममा एमालेसँग निर्वाचनमा सहकार्यका सम्बन्धमा कुरा गर्न माओवादी र नेकपा एसले आफ्ना प्रतिनिधिहरुलाई पठाइरहेको सूचना पाएको बताएका थिए । च्याँखे थापेर एमाले वा कांग्रेसलाई साथमा लिने र सरकारमा जाने चरित्र उनीहरुको रहेको बस्नेतको आरोप थियो ।  

गठबन्धन टुटे फेरि एमालेसँग सहकार्य हुन सक्ने नेताहरुले बताइरहेका पनि छन् । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एक टेलिभिजन अन्तर्वार्तामा गठबन्धन टुट्दैमा कुनै आकाश नखस्ने भएकाले एमसीसीलाई यथास्थितीमै पास गर्न नसकिने बताएका थिए । बरु एमालेसँग चुनावी तालमेल हुन सक्ने उनको भनाइ थियो । माओवादी अध्यक्ष प्रचण्डले समेत बेलाबखत नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भएको स्वीकार्ने गरेका छन् । 

तर नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा एमालेले कुनै पार्टीसँग एकता वा तालमेल नगर्ने बताए । अहिलेको गठबन्धनलाई कुनै एक स्वार्थका कारण ‘सुपर ग्लु’ ले जोडिएको र गठबन्धन टुट्दा पनि केही स्वार्थले टुट्ने हुँदा आफूहरु त्यस्तो समूहसँग नमिल्ने ज्ञवालीको भनाइ छ । ‘गठबन्धनलाई स्वार्थका कारण सुपर ग्लु लगाएझैं एक बनाइएको छ । टुट्यो भनेपनि केही स्वार्थले टुट्छ, एमाले त्यस्तासँग जोडिँदैन,’ ज्ञवालीले भने, ‘कुनै पालिका वा कुनै क्षेत्रमा कुनै दलसँग सहकार्य त होला तर राष्ट्रिय रुपमा हामी कुनै तालमेल गर्दैनौं ।’


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x