दल

एमाले १० औँ महाअधिवेशन

विधान मिचेर ओलीलाई एकलौटी अधिकार, अब के गर्छन् भीम रावल ?

सर्वसम्मत पदाधिकारी चयनमा बहुमत नेताहरुको मौन समर्थन !

अनिष भट्टराई |
मंसिर ११, २०७८ शनिबार २१:५८ बजे

चितवन - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई निर्विकल्प गराउन पार्टीको विधान मिचिएको छ । एमालेको विधान महाधिवेशनबाट पारित विधान मिच्दै एमालेले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने सम्पूर्ण जिम्मा ओलीलाई दिएको छ । 

दिनभर सहमतिको लागि रस्साकस्सी भए पनि सहमति नजुटेपछि एमालेमा महाधिवेशन हलबाट सम्पूर्ण अधिकार ओलीलाई दिइएपछि निर्वाचनको बाटो नै बन्द गरिएको छ । अब महाधिवेशनमा सबै नामावली ओलीले नै सार्वजनिक गर्नेछन् । 


शनिबार दिउँसो पौने १ बजे नेकपा एमालेको बैठकमा सहमति जुटाउने प्रयास गरिएको थियो । तर करिब ३ घन्टा बसेको बैठकमा एमालेमा ओली पक्षकै नेताहरुबीच पनि पद बाँडफाँटमा कुरा मिलेन ।

पौने ३ बजेदेखि एमालेको बन्द सत्र अघि उद्घाटन कार्यक्रम राखिएको थियो । जहाँ विदेशी कम्युनिस्ट पार्टीका नेता र ओलीले सम्बोधन गरेका थिए । उद्घाटन सत्र सकिए लगत्तै एमालेको बन्द सत्र सुरु भएको थियो । 

बन्द सत्रले सम्पूर्ण पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिएको हो । अध्यक्षमा ओलीविरुद्ध उम्मेद्वारी दिने घोषणा गरेका भीम रावललाई रोक्न चुनाव लड्नबाट बञ्चित गर्ने प्रयास भयो । आफ्नो जीत निश्चित देखेका ओलीले अरु पदमा आफ्नै समूहका नेताहरुको प्रतिस्पर्धा हुने देखेपछि हलबाट सम्पूर्ण जिम्मा आफूले लिने गरी गृहकार्य गरेका थिए । 

यसको संकेत बन्द सत्र अघि एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले दिएका थिए । अधिकारीले सम्पूर्ण निर्णय हलले गर्ने र कोहीले केही बोल्दैमा पार्टीलाई केही फरक नपर्ने बताएका थिए । ‘केपी ओलीले भनेर त केही हुँदैन, रावलजीले म लड्छु भनेर हुन्छ ? हलले गर्छ नि निर्णय त,’ अधिकारीले भनेका थिए । 

ओलीलाई सम्पूर्ण अधिकार दिने निर्णय बन्द सत्रको हलले दिएपछि अध्यक्षका आकांक्षी रावलले तत्कालै फरक मत राखेका छन् । उनले एक व्यक्तिलाई निर्विकल्प बनाउन विधान मिचिएको बताए । विधानको धारा १६ र ६१ मिचेर एमालेमा विधानसँगै लोकतान्त्रिक प्रक्रिया मिचिएको उनले बताए ।

‘विधि विधानमा के लेखेको छ त्यसलाई ध्यान नराखे हाम्रै लागि बिष हुन सक्छ । विधानको धारा १६ केन्द्रीय कमिटीको सन्दर्भमा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुपर्छ । विधानलाई केही मान्छेहरुले उल्था गरिदिए मिल्दैन, दुनियाँले हेरेपनि अफ्ठेरो पर्छ । सहमति गर्नु छ भने कसैले उम्मेदवारी नै नदिए भयो नि,’ रावलले बन्दसत्रमा ओलीको सर्वसम्मत प्रयासविरुद्ध भनेका छन् । 

विधानको धारा ६१ ले समन्वय र संगठन कमिटीबाहेक सबै कमिटी निर्वाचनबाट आउने परिकल्पना गरेपनि सो प्रक्रियाबाट भाग्ने काम भएको रावलको टिप्पणी छ । 

‘लोकतन्त्रिक परिपाटीबाट यति सहजै छाड्ने ? के यसरी हामी जबज मान्ने हुन्छौं ?’ उनले भने,  ‘अब उपरान्त निर्वाचन हुने छैन भने भयो नि । के त्यो हामी बाटोमा जान खोजेको हो ? जबजले त्यो बाटोमा निर्देशति गरेको हो ? निर्वाचन र लोकतान्त्रिक प्रणालीले पार्टी फुटाएको हो ?’ रावल अब आफू अध्यक्ष पदबाट नहट्ने र लड्ने बताएका छन् । आफूसँगै अरु साथीहरु पनि आफूसँगै लड्ने उनको दाबी छ । 

अध्यक्षमा उम्मेदवारी दिने रावलको निर्णयमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले समर्थन गरिन् ।

 ‘कसैले उम्मेदवारी दिन्छु भन्यो भने त्यो पाउने कुरा हो । भीम रावलले फरक मत राख्न पाउनुहुन्छ । त्यो सबैले राख्न पाउँछ,’ उनले भनिन् । एमाले नेता गौरीशंकर चौधरी पनि ओलीको निर्णयमा सहमत छन् ।  माओवादीबाट आएका नेताहरु निर्वाचनमा जाँदा जितेर आउन सक्ने सम्भावना नरहेकाले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा उनको जोड छ । 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x