दल

एकीकृत समाजवादीको कदम अराजनीतिक प्रवृत्ति : केपी ओली

इकागज |
बैशाख ३, २०८१ सोमबार १४:२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगबाट प्रकट भएको बताएका छन् । 

सोमबार संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा वर्तमान सत्ता समीकरणमार्फत नाउपालाई समर्थन नगर्ने र कांग्रेस केन्द्रित समीकरणबाट समर्थन गर्ने समाजवादीको कदम अराजनीतिक प्रवृत्ति भएको समेत बताएका हुन् ।


समाजवादीको कदम विपक्षीहरूको आशा पलाउने र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी भएको उनको भनाइ छ । उनले कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरूको विपक्षमा गरेको आरोपसमेत लगाए ।

ओलीले समाजवादीको आधार तयार पारेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउँदै एमाले ध्यान मिसन ८४ मा केन्द्रित रहेको धारणा राखे । उनले अहिलेको अवस्थामा देशमा देखिएको समस्या समाधानका लागि नयाँ समीकरण बनाइएको भन्दै मन्त्रालयको विवादमा फसेर समय खेर फाल्न एमालेले उचित नठानेको जिकिर गरे ।

त्यस्तै अध्यक्ष ओलीले वामपन्थीका नामको एकताले सरकार र देश नचल्ने स्पष्ट पारे । वामपन्थी भनिएका शक्तिहरू वास्तविक रुपमा वामपन्थी हुन नसक्ने भन्दै उनले यस्ता वामपन्थीबाट पार्टी बलियो हुन नसक्ने तर्क गरे ।

उनले आवश्यक परेका बेला छानेर वामपन्थी एकता हुने भन्दै पार्टी बिगार्ने अवसरको खोजीका लागि र आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध नगराउने बताए । अध्यक्ष ओलीले पछिल्लो समय एमालेले चालेको कदमहरू सहि रहेको भन्दै यसलाई सफल बनाउने गरि अघि बढ्न निर्देशन दिए । 


Author

थप समाचार
x