दल

सुदूरपश्चिममा केन्द्रलाई काउन्टर : नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

इकागज |
बैशाख २, २०८१ आइतबार १४:२४ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठूलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ ।

प्रदेश सरकार निर्माणका लागि कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो । कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ ।


समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहका बीच सहमति भएको हो । 

सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतका लागि आवश्यक २६ मत पुग्ने भएको छ । 

यद्यपि केन्द्रको नयाँ समीकरणका दलहरूबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो ।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

प्रदेश प्रमुखले सरकार गठनको दाबी गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएका छन् । यसअघि सुदूरपश्चिममा नाउपाभित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ । 


Author

थप समाचार
x