दल

खाणको निलम्बन दबाबले पार्टी बैठक डाक्दैनन् सभापति देउवा !

उपेन्द्र अर्याल |
जेठ ३, २०८० बुधबार १७:२० बजे

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने चौतर्फी आवाज उठिरहँदा सभापति देउवा भने मौन देखिएका छन् । पार्टीभित्र यस प्रकरणमा प्रश्न उठे पनि देउवाले छलफल गर्न चाहेको देखिँदैन । कांग्रेसको केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समितिको बैठक माग हुँदा पनि देउवाले यसबारे कुनै चासो देखाएका छैनन् । विधानतः प्रत्येक दुई महिनामा कार्यसम्पादन समितिको बैठक बस्नुपर्ने हो । वैशाख २८ मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने तयारी भए पनि बैठक बस्न सकेन । प्रश्नहरूको सामना गर्नुपर्ने डरले बैठक नडाकिएको पार्टीभित्रैको बुझाइ छ । 

खाणलाई निलम्बनबारे कांग्रेसमा दुई धार देखिएको छ । सभापति देउवा पक्ष निलम्बन नगर्ने पक्षमा देखिएको छ भने संस्थापनइतर समूह खाणको निलम्बनको माग राखिरहेको छ । महामन्त्री गगन थापाले मंगलबार सामाजिक सञ्जालमा लेख्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणको निलम्बन हुनुपर्ने स्पष्ट धारणा राखेका छन् । 


उनले पार्टीका कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भए पार्टीले त्यसको भारी बोक्न नहुने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो,’ थापाले लेखेका छन्, ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुनसक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन ।’

गम्भीर आरोप लागेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म सम्बन्धित व्यक्ति पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने वा नभए पार्टीले निलम्बन गर्नुपर्ने थापाको भनाइ छ।

‘पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो– अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्याउने कानुनी प्रक्रियाबाट हो,’ उनले खाणलाई लक्षित गर्दै लेखेका छन्, ‘यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ ।’

कांग्रेसको यसअघि निलम्बन गर्ने परम्परा नभए त्यसलाई तोडेर अगाडि बढ्नुपर्ने धारणा थापाको छ । यसअघि पदाधिकारी बैठकमा पनि महामन्त्रीहरू र उपसभापति धनबहादुर गुरुङले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । तर, देउवा भने यसविषयमा मौन रहँदै आएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले देउवा निष्पक्ष अनुसन्धानको पक्षमा रहेको बताए । ‘तपाईँलाई थाहा छँदैछ पहिल्यैदेखि उहाँको धेरै बोल्ने बानी छैन,’ प्रवक्ता महतले भने, ‘तर उहाँ निष्पक्ष अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नुभएको छ ।’

सोही पत्रकार सम्मेलनमा महतले खाणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टीले अहिले नै निलम्बन नगरेको बताए । ‘नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको छ,’ उनले भने, ‘यो प्रकरणमा पक्राउ परेका नेता खाणले आफू निर्दोष छु, त्यो सावित गर्छु भनिरहनुभएको छ । निर्दोष सावित गर्छु भनेपछि पार्टीले निलम्बनको निर्णय नगरेको हो ।’

कांग्रेस नेता तथा परराष्ट्र मन्त्री एनपी साउदले अदालतको निर्णय आएपछि मात्रै खाणलाई पार्टीले निर्णय गर्नुपर्ने बताए । ‘अदालतले जाँच निष्पक्ष गर्नुपर्छ । यो कुरा पार्टी सभापतिले पनि भनिसक्नुभएको छ,’ इकागजसँग कुरा गर्दै नेता साउदले भने, ‘अदालतले निर्णय गरेपछि पार्टीले पनि तदनुरुप निर्णय गर्ला । सम्बन्धित मान्छेले निर्दोष छु भनेको छ, प्रहरीले अनुसन्धान गर्दै छ । पुलिसले पनि दोषी गरिसकेको छैन ।’ उनले अहिले अदालतलाई आफ्नो काम गर्न दिनुपर्ने बताए ।

कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि खाण पक्राउ परेपछि ‘यो प्रकरणमा संलग्न जो कोहीलाई पनि ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्’ भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ । गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, भरत खड्कालगायत कांग्रेसका थुप्रै नेताले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर संलग्नलाई कारबाही गर्न माग राखिसकेका छन् । 

पार्टीभित्र यति धेरै प्रश्न उठ्दा पनि देउवा मौन रहँदा कांग्रेस कार्यकर्ताकै प्रश्न उनीतिर सोझिइरहेका छन् । यस प्रकरणमा सांसद आरजू देउवा राणा र मञ्जु खाणको रहेको अडियो सार्वजनिक भएपछि देउवा खाणलाई निलम्बन गर्न हच्किएका हुन् कि भन्ने धेरैको बुझाइ छ । तर, यसैबीच प्रवक्ता महतले ‘फेक अडियो’ बनाइ ‘मिडिया ट्रायल’ गर्न खोजेको भन्दै आरजू देउवाको पक्षमा बोलेका थिए । 

यही प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने पार्टीले निलम्बन गरिसकेको छ । एमालेको निर्णयले पनि खाणलाई निलम्बन गर्नुपर्ने नैतिक दबाब कांग्रेसलाई परेको छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x