प्रमुख समाचार

माओवादीमा सिद्धान्त एउटा–राजनीति अर्कै : विष्ट

लक्ष्मी भण्डारी |
चैत ७, २०७८ सोमबार १३:२८ बजे

सुर्खेत– चुनाव नजिकिदै गर्दा कर्णालीका सांसद ठम्मर विष्टले एमालेमा प्रवेश गरेपछि यहाँको राजनीति तरंगित बनेको छ। विष्ट सुर्खेतको क्षेत्र नम्बर एक ‘क’ माओवादीबाट निर्वाचित सांसद हुन् । विष्टले आफ्नो पार्टीले एमसीसी अनुमोदनको पक्षमा सहमति जनाएको साथै गैरसांसदलाई मन्त्री बनाएको भन्दै आलोचना गर्दै आएका थिए । 
माओवादीको सशस्त्र युद्धका क्रममा दर्जर्नौं आक्रमणमा सहभागी विष्ट भेरी कर्णाली क्षेत्रीय व्यूरो सदस्य, बिग्रेड भाइस कमाण्डरको जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन्। माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारी रहेका उनले कर्णाली प्रदेशसभा सदस्य तथा प्रमुख सचेतकको जिम्मेवारी पाएका थिए ।

माओवादी पार्टीले पनि स्थान दिँदादिँदै पनि किन पार्टी परिवर्तन  भन्ने प्रश्नमा उनले इकागजसँग भने, ‘मैले पद नपाएर माओवादी छोडेको होइन र पद पाउनका लागि एमाले प्रवेश गर्न लागेको पनि होइन । खासमा माओवादीमा जुन सपना देखेर लागियो । ती सपना कहिले विपनामा परिणत हुने स्थिति देखिएन ।’


पार्टीले परिवर्तनकारी भुमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा पटक पटक आवाज उठाएपनि पार्टीले सुनुवाई नगरेपछि एमालेमा प्रवेश गर्ने निर्णय लिएको उनले बताए। 

‘जनताका आवश्यकता एकातिर छन् पार्टी अर्कातिर कुदेको छ । सिद्धान्त एकातिर छ राजनीति अर्कातिर कुदाएको छ’ उनी भन्छन्, ‘जनताले एकथोक चाहेका छन् नेताले अर्को थोक गरेका छन् । त्यसकारण यस्तो सत्ता र सुविधाभोगी पार्टीबाट गरेको राजनीति फलदायी हुदैन भन्ने मेरो ठहर हो ।’ विष्ट एमालेमा प्रवेश गरपछि माओवादी केन्द्रले उनलाई पार्टीबाट बर्खास्त गरेको छ । पार्टीको निर्णय विपरीत चलेपछि विष्टलाई बर्खास्त गरिएको सांसद सीता नेपालीले जानकारी दिइन् । 


Author

थप समाचार
x