प्रमुख समाचार

भित्ताको क्यानभासमा इतिहासका रेखा

‘नसक्ला कि’, ‘बिग्रेला कि’ भन्‍ने डरलाई जितेका कलाकार

सुनीता साखकर्मी |
पुस २४, २०७७ शुक्रबार ७:२८ बजे

काठमाडौं : मानिसहरू भविष्यको दौडमा छन् । दौडिँदादौडिँदै एउटा स्वर्ण युग नै पछाडि छुटिसकेको मानिसलाई हेक्का रहेन ।

हो, स्वर्ण युग । जहाँ मानिस आफ्ना लागि आफै कपडा बुन्थे । जहाँ रसायनयुक्त साबुनले होइन, प्राकृतिक खरानी र माटोले धुन्थे । जहाँ आयातित खाद्यान्‍नले होइन, आफैले उत्पादन गरेका खाने कुराले पेट भर्थे ।


पछाडि छुटेको त्यो युग फेरि फिर्ता ल्याउन मानिसले सक्छ वा सक्दैन, तर त्यसको यादलाई भने सम्हालेर राख्‍ने सक्छ । त्यही छुटेका यादहरू वा अमूर्त कलालाई कीर्तिपुरले सम्हाल्ने कोसिस गरिरहेको छ ।

कीर्तिपुरका गल्लीहरूमा चार युवाहरू भित्तामा यादहरू सम्हाल्ने कोसिस गरिरहेका छन् । ललितकला क्याम्पसको तेस्रो वर्षमा अध्ययरत सिरपा श्रेष्ठ, रोजन महर्जन, सरुना श्रेष्ठ र अनिता श्रेष्ठले कीर्तिपुरका गल्लीहरूमा पुरानो कीर्तिपुर झल्काउने चित्र बनाइरहेका छन् ।

दशैंअघि कीर्तिपुरका लहना रेस्टुरेन्टका मालिक एवं समाजसेजी राजमान मानवले भित्तामा चित्र कोर्न उनीहरूलाई आग्रह गरेका थिए । राजमानको ‘सुन्दर कीर्तिपुर’ प्रोजेक्ट अन्तर्गत उनीहरूलाई कीर्तिपुरको ४० वटा स्थानमा भित्तेचित्र बनाउन आग्रह गरेका थिए । अफर आउँदा सुरुमा त डर लागेको काठमाडौं खुसिबुकी चित्रकार सिरपाले सुनाइन् ।

सानो क्यानभास र साना भित्ताहरूमा मात्रै पेन्टिङ गरेकी थिइन् उनले । साथीहरूमा पनि ठूलोमा काम गरेको कुनै अनुभव नै थिएन । 
‘एकैचोटि ठूलो प्रोजेक्टमा अफर आउँदा गर्न सक्दैन कि भन्‍ने डर लागेको थियो । आत्मविश्वासै थिएन,’ उनी भन्‍छिन्, ‘तर साथीहरूले हौस्याए । सँगै मिलेर गर्ने भएपछि आँट आयो ।’

चित्र बनाउने आँट त आयो तर विषय सुनेपछि उनीहरूमा झनै चिन्ता थपियो । किनकि राजमान चित्रमा पुरानो नेवार समुदायलाई पस्किन चाहन्थे । तर चारैजनाले पुरानो समाज देख्‍ने पाएका थिएनन् । राजमानले नै उनीहरूलाई कन्सेप्ट (विषय) दिए । राजमानको कन्सेप्ट सुन्दा सिरपालाई ‘यस्तो किन बनाउनुपर्ने होला’ भन्‍ने लाग्थ्यो ।

किनकि समाज आधुनिक हुँदै जाँदा चित्र किन पुरानो बनाउनुपर्ने होला भन्‍ने पनि लाग्थ्यो । तर उनीहरूले त्यसबारे केही बोलेनन् । पहिलेका कुराहरूबारे रिसर्च गर्न थाले । रिसर्च गरी स्केच बनाए । त्यसपछि राजमानले स्केच ‘ठीक छ’ भनेर पास गरेपछि नै उनीहरू फिल्डमा आई चित्र बनाउन तयार भए ।

सुरुमा राजमानसँग मिलेर उनीहरूले कीर्तिपुरका गल्लीहरू डुले । अनि चित्र बनाउन कुन भित्ता सही हुन्‍छ भनेर खोजे । स्थानीयको घरदेखि सार्वजनिक स्थानका उपयुक्त लागेका भित्ताहरूमा चित्र बनाउने अनुमति राजमानले नै लिए । चित्रले आफ्नो घरको शोभा बढाउने भएपछि स्थानीयहरूले पनि नाइनास्ती गरेनन् । त्यसपछि कुन भित्तामा कस्ता चित्र बनाउने भनेर राजमानसँग सल्लाह गर्दै उनीहरूले चित्र बनाउन सुरु गरे ।

सुरुमा उनीहरूले वाटर प्रुफ रंगहरू प्रयोग गरेर धान रोपिरहेको चित्र बनाए । उक्त चित्र बनाउन उनीहरूलाई लामो समय लाग्यो । ‘नसकिएला कि’, ‘बिग्रिएला कि’ भन्‍ने डर पनि धेरै थियो । डरैडरमा उनीहरूले ६/७ दिन लगाएर त्यो चित्र सकाए ।

सर्वसाधरणले उनीहरूको चित्र मन पराउन थाले । उनीहरूले गरेको रंगको मिश्रण मन पराए । दोस्रो म्ह पूजाको चित्र थियो, त्यो पनि मानिसहरूले राम्रो माने । पहिले सर्वसाधारणले सहयोग नगरेको जस्तो लाग्थ्यो उनीहरूलाई । तर पछि  बाटोमा हिँड्दा पनि हाम्रो टोलमा कहिले गर्न आउने भनेर सोध्‍न थालेको चित्रकार सिरपाले बताइन् ।

चित्रहरूमा राम्रो प्रतिक्रिया दिन थालेपछि त आत्मविश्वास एक्कासी बढेको काठमाडाै‌, रविभवनकी अर्की चित्रकार सरुणा श्रेष्ठ बताउँछिन् । उनी भन्‍छिन्, ‘पहिले चित्र बनाइरहँदा एकदमै लाज लाग्थ्यो, कसैले आफ्नो हातमा हेरिरहँदा हात नै चलाउन सकिंदैनथ्यो । अहिले विस्तारै आत्मविश्वास बढ्दै गइरहेको छ । यहाँ हजारौँको भीड भए पनि आफ्नो सुरमा चित्र बनाउन सक्छु ।’

हालसम्म उनीहरूले ११ वटा भित्तेचित्र बनाइसकेका छन् । धान रोपेको, बिहे भोज, म्ह पुजा, लुगा धोएको, लाखेपाः, टांगाचा (लुगा बुन्‍ने), ठाजे याना चुंगु (धागो बेरिरहेको), कीर्तिपुरमा हुने सिन्दुर जात्रा, बाघभैरवमा पूजा गरिरहेको, खर्पन बोकेको बनाएका छन् । अझै २९ वटा चित्र बनाउन बाँकी छ ।

जति जति चित्रहरू बनाउँदै गएको छ, त्यति नै यी चित्रहरूको महत्व बुझ्दै गएको चित्रकार सिरपा बताउँछिन् । ‘पहिले यस्तो किन बनाउनुपरेको होला भन्‍ने लाग्थ्यो,’ उनी भन्‍छिन्, ‘तर अहिले लाग्छ कि, हामीले बनाएका यि चित्रले त हामीलाई नै झक्झकाइरहेको रहेछ । हामीसँग मोबाइल छ । अहिले झन् भविष्यको लागि मात्रै सोच्ने भयो, विगतलाई फर्केर हेरेकै छैन । इतिहासमा के थियो भनेर हामीले खोज्दै खोजेनछौँ । यी चित्रले मानिसको मनमस्तिष्कमा लोप भएर गइसकेका कुराहरूबारे चासो बढाउँछ ।’

उनीहरूले चित्रमा बनाएका थुप्रै अमूर्त कला वा चिजहरू हराएर गइसकेका छन् । कति हराउने क्रममा छन् । थुप्रैले तिनीहरूलाई बिर्सेर गइसके । त्यस्तै चित्र कोरिएको क्यानभासहरूमा म्युजियममा राखिन्‍छ । कला प्रदर्शनी चार कुनामा भित्र हुन्‍छ । थाहा भएको मानिसले हेर्छ, थाहा नहुनेले जाँदैन । त्यस्ताको लागि यस्तो बाहिरी क्षेत्रमा चित्र, कलाहरू राख्दा राम्रो हुन्‍छ । सार्वजनिक ठाउँमा कलासम्बन्धी ज्ञान नभएकाहरू पनि एकपटक के रहेछ भनेर ध्यान दिने चित्रकार सिरपा बताउँछिन् । यस्तोमा यी चित्रहरूले मानिसलाई सचेत गराउने उनले आशा व्यक्त गरिन् ।

उनीहरू विहान आठ बजेदेखि साढे पाँच बजेसम्म चित्र कोर्छन् । कलेजमा पढाइ भएका बेला अलि ढिला आउँछन् । क्याम्पसमा पढेका कुरा फिल्डमा उतार्न पाउँदा खुसी छन् कीर्तिपुर नगाउँका चित्रकार रोजन महर्जन । साथै सानो क्यानभासमा चित्र बनाइरहेका उनलाई ठूलो भित्तामा चित्र बनाउन पाउँदा रमाइलो पनि लागिरहेको छ । उनी भन्‍छन्, ‘क्यानभास जत्तिकै विस्तृत गर्न गाह्रो हुन्‍छ । तर विस्तारै राम्रो गर्दै गइरहेका छौँ ।' 

राेजनले चित्र बनाउनको लागि समूह तयार पारेका हुन् । उनले फिल्डमा चित्र बनाउन जानुअघि उक्त चित्रको ड्राफ्ट तयार पार्छन् । 

क्याम्पसमा उनीहरूलाई सिकाउने शिक्षक हुन्थे । गल्तीमा शिक्षकले सच्याउन भन्थे । तर यहाँ उनीहरू मात्रै छन् । यहाँ गल्ती पनि आफैले हेर्नुपर्‍यो, सच्याउनु पनि आफैले पर्‍यो । आफ्ना गल्ती आफैले सच्याउँदै अगाडि बढिरहेका छन् । रोजन भन्‍छन् , ‘हामीले गल्ती गरेको अरु मानिसहरूले पत्ता लगायो भने हाम्रो लागि नराम्रो हो । त्यसैले हामीले चित्रमा गल्ती देख्यो भने त्यो सच्याउदै गयौँ । जसले हामीलाई बिग्रेको ठाउँमा कसरी मिलाउन पर्छ भनेर सिकायो ।’ उनीहरूको काममा विस्तारै काममा निखार आइरहेको छ । आत्मविश्वास बढ्दै गइरहेको छ ।

उनीहरू आधा स्वयम् सेवाकै रुपमा काम गरिरहेका छन् । चित्रकार सिरपा भन्‍छिन्, ‘हाम्रा कला संस्कृति जोगाउन हामीले यो काम गरिरहेका छौँ । त्यसैले हामीले आधा भोलेन्टिरको रुपमा काम गरेको हो ।’ यो प्रोजेक्ट पछि अन्यत्रबाट अफर आए, त्यहाँ पनि काम गर्न जाने उनीहरूको इच्छा छ । चित्रकार सिरपा भन्‍छिन्, ‘यो हाम्रो लागि सिक्‍ने अवसर पनि हो । देश र समाजको लागि राम्रो हुन्‍छ भने हामी सहयोग गर्न तयार छौँ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x