साहित्य

ऊ जिउँदै छ

सुमन सिग्देल |
फागुन १२, २०८० शनिबार ७:३७ बजे

कसले भन्यो ऊ मर्‍यो भनेर 
अस्ति भर्खर हो उसले गैरी खेत बेचेको 
अस्ति भर्खर हो ऊ सुकुम्वासी बनेको 
अस्ति भर्खर त हो ऊ ऋण तिर्नै नसकेर गाउँ छाडेको 
कसले भन्छ ऊ मर्‍यो भनेर ऊ जिउँदै छ ।। 

अस्ति भर्खर त हो उसले गणतन्त्रको नारा लगाएको 
अस्ति भर्खर त हो ऊ आफैलाई सहरमा बेचेर विदेश भासिएको 
अस्ति भर्खर त हो उसको प्रिय मान्छे हराएको 
अस्ति भर्खरै त हो आफन्तहरूले उसलाई नचिनेको 
कसले भन्छ ऊ मर्‍यो भनेर ऊ जिउँदै छ ।।


अस्ति भर्खर त हो ऊ उसले सपना देखेको पैसाको 
अस्ति भर्खर त हो उसलाई थाहा भएको जाँदै गरेको बैंशको 
अस्ति भर्खर‌ त हो उसलाई थाहा भएको ऊ बन्धक बनेको 
अस्ति भर्खरै त हो ऊ काठको बाकसमा बन्द भएको 
श्वास पो छैन त 
कसले भन्छ ऊ मर्‍यो भनेर 
ऊ त गहिरो निन्द्रामा छ उठ्दै नउठ्ने गरी ।।


Author

थप समाचार
x