साहित्य

कथा

एक घण्टामा अन्त्य भएको सम्बन्ध

सूर्यदीप रेग्मी |
साउन १४, २०७९ शनिबार १६:२ बजे

जावलाखेल चोकैको बेकरी क्याफे । ऊ लाल रङको स्कुटरमा आई । साउनको महिना । ऊ हरियो कुर्तामा सजिएर आएकी थिई । मुहारमा बेग्लै चमक अनि पहिले जस्तै सुन्दर । 

यो क्याफेमा आज मैले उसलाई बोलाएको हुँ । आजकाल हाम्रो सम्बन्ध उति सारो राम्रो छैन । घण्टौं हुने टेलिफोन संवाद मिनेटमा झरेपछि अनि दिनहुँ हुने भेटघाटहरू पातलिँदै गएपछि मेरो मनमा विचारका अनेक ज्वारभाटा चल्न थाले । 


मलाई बिस्तारै उसले दुरी कायम गर्न खोजेको जस्तो भान हुँदै थियो । फोन संवादहरू घण्टाबाट मिनेटमा झर्दै गर्दा म उसलाई सोध्थेँ, ‘के हाम्रो सम्बन्ध बिग्रिन लागेको हो ?’

ऊ हलुका जवाफ दिन्थी, ‘होइन सबै ठीकै छ, म काममा अल्लि व्यस्त भएर तिमीलाई त्यस्तो लागेको मात्र हो ।!

उसको रेडिमेड जवाफले म केही दिनदेखि सन्तुष्ट हुन सकिरहेको थिइनँ ।

हामी लामो समयदेखि प्रेम सम्बन्धमा थियौं । ऊ ममा संसार देख्थी । म उसमा पूरै जीवनको अस्तित्व । रामेछापको सुदूर गाउँमा जन्मेर राजधानीमा आफ्नो दैनिक गुजाराका लागि संघर्ष गर्दै गरेको म एउटा सामान्य केटो । ऊ राजधानीको रैथाने परिवारकी छोरी । आर्थिक हैसियत पनि हामीमा आकाश–पातालको अन्तर थियो ।

राजधानीको रैथाने भएर मात्र होइन, आफ्नो आकर्षक आम्दानी हुने व्यवसाय पनि भएकाले उसको आर्थिक हैसियत मेरोभन्दा निकै माथि थियो । 

म सामान्य प्राइभेट कम्पनीको जागिरे । व्यस्तता त हामी दुवैको थियो तर पनि प्रेमको आलिंगनमा रमाउन हामीले जति पनि समय निकाल्न सकेका थियौं । हामीलाई एकअर्काको प्रेममय स्पर्शका लागि हाम्रो आर्थिक, सामाजिक र पारिवारिक हैसियतले रोकेन । दिनभर साथमा रहेर हामी जिन्दगीका अनेक कल्पनामा रमाउँथ्यौं, अनि रातभर फोनमा प्रेमिल संवाद । 

यति भए जिन्दगीमा अरु के चाहिन्थ्यो र ?

भेटघाटहरू पातलिँदै गएपछि, फोन संवादहरू छोटिँदै गएपछि दुई दिन अगाडि मैले नै उसलाई कल गरेर भनेँ, ‘म तिमीसँग एक घण्टा बिताउन चाहन्छु ।’ 
उसले सहज जवाफ दिई, ‘हुन्छ, म फुर्सद भएपछि तिमीलाई खबर गरुँला ।’ 

मैले फेरि उसलाई भनेँ, ‘यसलाई सामान्य भेटघाटका रुपमा नलेऊ, यो एक घण्टा म मात्र बोल्नेछु र तिमी मात्र सुन्नेछौं ।’ 

ऊ समय दिन तयार भई ।

आज त्यही मैले मागेको एक घण्टा मलाई दिन र मेरो सर्तबमोजिम मलाई सुन्न ऊ आएकी हो । क्याफेमा म बसिरहेको कुर्चीको ठीक अगाडि ऊ बसी । उसको अनुहारको चमक, उसका तेजिला आँखाहरू, मलाई मन पर्ने उसको रेशमी कपाल सबै उस्तै । उसको अनुहारको चमक हेर्दा लाग्थ्यो, ऊ निकै आत्मविश्वासी देखिएकी छ । आउनासाथ उसले वेटरलाई बोलाई । मेरा लागि एक प्लेट भेज मःम र मिल्क कफी अनि आफ्ना लागि एउटा कुनै बेकरी आइटम अर्डर गरी । अनि उसले मलाई सोधी, ‘भन के हो तिम्रो कुरा ? म पूरै एक घण्टा सुन्ने गरी तयार छु ।’ 

उसले यसरी सोधी कि ऊ मसँग कुनै व्यावसायिक प्रोजेक्टको प्रिजेन्टेसन मागिरहेकी छ । उसको त्यो शैली देखेपछि मेरो गला अचानक अवरुद्ध भयो, मनले बोल्न खोजेका कुरा ओठसम्म आउनै मानेनन् । अचानक मेरा आँखा उसका हातमा परे । उसले नङमा खरानी रङको नङ पालिस लगाएकी थिई । म झसंग भएँ, केही दिन अघि मात्र मैले उस्लाई गुलाबी रंगको नङ पालिस किनेर दिएको थिएँ । 

दिनभर साथमा रहेर हामी जिन्दगीका अनेक कल्पनामा रमाउँथ्यौं, अनि रातभर फोनमा प्रेमिल संवाद । 

त्यो नङ पालिस दिँदा उसका एउटा हातमा नङमा मैले नै पालिस गरिदिएको थिएँ । मैले नङ पालिस लगाइदिँदा ऊ मलाई मायालु नजरले हेरिरहेकी थिई । मलाई पर्पल मन पथ्र्यो जब म उसका लागि नङ पालिस किन्न कस्मेटिक पसल पुगें, मलाई प्रेमको प्रतिबिम्बको रुपमा गुलाबी नङ पालिस किन्न मन लाग्यो । आज उसका नङमा मैले दिएको त्यो गुलाबी पालिस थिएन । मन झसंग भो, ऊ साँच्चिकै बदलिएकी थिई ।

म निकै बेर बोल्न नसकेपछि उसले फेरि सोधी— कम्तीमा तिमीले कुरा गर्न खोजेको विषय के हो ? त्यो त भन । 

मैले बल गरेर सोधेँ, के हाम्रो सम्बन्ध पहिले जस्तै प्रेमिल छ ? यही विषयमा केही भन्नु थियो मलाई तर बोल्न आँट आइरहेको छैन ।

यति भनेर म रोकिएपछि ऊ आफैं बोल्न थाली– हेर हाम्रो सम्बन्ध केही भएकै छैन । हामी आज पनि उत्तिकै नजिक छौं जति पहिले थियौं । तर दिनभर भेटिरहने र रातभर फोनमा अनेकथरी कुरा गर्न अब हामीलाई सुहाउँदैन । हामी परिपक्व पनि बन्दै जानुपर्छ । हामीबीच जे जे भयो त्यो एउटा आकर्षण मात्रै थियो, मैले एक्लै बसेर सोच्दा तिमी मेरो राम्रो साथी हौं भन्ने लाग्छ, प्रेमका बारेमा सोच्दा मेरो मनमा तिमी आउँदैनौ, तिमीले पनि यसलाई सहज रुपमा लिनुपर्छ । तिमीलाई अहिले यस्तो कुरा सुन्दा असह्य लाग्ला तर पछि बिस्तारै तिमीलाई हामीले अपरिपक्व अवस्थामा बिताएका यी पल सम्झेर हाँसो उठ्नेछ ।

ऊ निरन्तर बोलिरहेकी छ । मलाई भने रिंगटा लाग्न थालेको थियो मनमा ८ रेक्टरको भुइँचालो गइसकेको थियो । मेरो अगाडिका सबै चीजहरू घुमिरहेका छन्, मुटु भक्कानिएको छ । गला अवरुद्ध बन्दै गएको छ । एकचोटि डाको छोडेर रुन मन लागेको छ तर निरीह छु, सकिरहेको छैन । ऊ मैले नै सिकाएको प्रेमको परिभाषा आफ्नो भाषामा मलाई नै सुनाइरहेकी छ । ए मैले बिताएका जिन्दगीका स्वर्णिम पलहरूलाई तिरस्कार गरिरहेकी छ, मैले गरेको प्रेमलाई अपमान गरिरहेकी छ ? मनमा त एकपटक लाग्यो, उसको गालामा एक थप्पड हानेर त्यहाँबाट उठेर हिडौं । तर त्यो त म झनै सक्दिनँ, जसलाई जीवनमा सबैभन्दा बढी माया गरें, उस्लाई थप्पड हान्ने ? अहँ, म सक्दिनँ । मलाई धर्ती भासिँदै गएको जस्तो लाग्यो, आकाश खस्दै गरेको जस्तो लाग्यो ।

ओहो ! एक घण्टा वितिसकेछ, उस्लाई अब जानुपर्छ । ऊ उठेर बिल तिर्न काउन्टरतर्फ गई । ८ सय रुपियाँ बिल तिरिसकेपछि उसले भनी, हिँड म तिमीलाई तिम्रो डेरा जाने बाटोसम्म छोडिदिन्छु ।

म चुपचाप उस्को स्कुटरको पछाडि बसें । पहिले पहिले म ऊसँग निकै टाँस्सिएर बस्थें, आज म उस्को स्कुटरमा डराई डराई बसिरहेको छु । दिमागले केही सोच्नै सकिरहेको छैन । केही पर पुगेपछि उस्ले स्कुटर टक्क रोकी । म स्कुटरबाट ओर्लिनासाथ ऊ सरासर गई । मलाई रिगंटा लागिरहेको छ, आराम नगरे सडकमै ढलिन्छ जस्तो भयो । यताउता हेरें, छेवैमा एउटा रेस्टुरेन्ट र किराना पसल छ । सरासर त्यो पसलमा गएँ, मलाई थाहा छैन म के किन्नका लागि यो पसलमा छु । साहुजीले सोधेपछि झसंग भएँ र भने मलाई एउटा चुरोट दिनुस् त ।

साहुजीले चुरोट दिए, सल्काएर लामो सर्को ताने । धुवाँ निल्न गारो भयो अनि सम्झिएँ । ओहो, मैले चुरोट खान त छोडेको पो थिएँ । दुई वर्षअघि उसैले मलाई मायालु पारामा भनेकी थिई, चुरोट तान्न छोडिदेऊ न है । उस्को प्रेमका अगाडि जाबो चुरोट केही थियो र ? ठाउँका ठाउँ छोडिदिएँ ।

उसलाई सम्झिँदै सर्को तान्दा तान्दै चुरोट फिल्टरसम्मै पुगेछ । हात पोलेपछि थाहा पाएँ । चुरोटको ठुट्टालाई भुइँमा फाले र जुत्ताले थिच्न थालें । मेरो आँखा जुत्तामा गयो, झल्यास्स सम्झिएँ, ओहो यो जुत्ता त गएको फेब्रुअरीमा मेरो जन्मदिनमा दिन उसैले किनेर दिएकी थिई । आँखा चिम्म गरेँ, छेवैको रेष्टुरेन्टमा हिपहप गीतको कर्कश आवाज आइरहेको छ । मिलेन लेभल तेरो...।


 


Author

थप समाचार
x