घटना-दुर्घटना

कालिकोट विष्फोटमा २ बालिका मृत्यु प्रकरण : कसले, किन राख्यो बम ?

लक्ष्मी भण्डारी |
कात्तिक १२, २०७९ शनिबार १७:२२ बजे

सुर्खेत– कालिकोटको तिलागुफा नगरपालिका– १० रानावाडामा आज बिहान भएको बम विष्फोट घटनाको अनुसन्धान हुँदैछ । विष्फोटमा परी दुई बालिकाले ज्यान गुमाएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । ३ बालबालिका घाइते छन् ।

घटना भएको स्थानमा प्रहरीले प्रक्रियाअनुसार मुचुल्का गरिरहेको छ । विष्फोट भएको बमको दुई टुक्रा घटनास्थलमा फेला परेको छ । विष्फोटमा परेका बालबालिकाले हसियाँ खेलाएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रगत लत्पतिएको छ ।


‘घटना बिहान ८ बजे भएको हो,’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले इकागजसँग भने, ‘बम नयाँ हो कि पुरानो हो भन्नेबारे अनुसन्धान हुँदैछ ।’ विष्फोट भएको बमको प्रकृति हेर्दा पुरानै भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । ‘अहिले हामी प्रारम्भिक अनुसन्धानमै छौं ।’ उनले भने । बम कसले, कहिले र किन राखियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालकाअनुसार तिलागुफा १० कि ४ वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको हो । सोही ठाउँकी अर्की एक बालिकाको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो । 

 ‘घटनामा गम्भीर घाइते भएकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको छ,’ रिमालले भने, ‘उनको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको थियो ।’

घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी दर्शना राना गम्भीर घाइते छन् । प्रहरीकाअनुसार कमलको दाहिने हात र दुवै खुट्टा भाँच्चिएको छ भने मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ । ‘दर्शनाको पेटमा प्वाल परेको छ भने उनको दुवै खुट्टामा चोट छ ।’ डिएसपी रिमालले भने । उनीहरुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x