अर्थ / बाणिज्य

पालिकामा भ्यूटावर: जसाे जसाे ठेकेदारसाब, उसाे उसाे बजेट स्वाहा:

सुरेन्द्र बजगाईं |
चैत १७, २०७८ बिहीबार १२:३९ बजे

काठमाडौँ – केही दिन यता सामाजिक सञ्जालमा भ्यू टावर विकास छाएको छ । गाउँ-गाउँमा पुगेको यो भ्यू टावरको सुरुवात काठमाडौँबाटै सुरु भएको हो ।  देशको सङ्घीय राजधानी काठमाडौँबाट नै यसकाे सुरुवात भएको हो ।  

भीमसेन स्तम्भका नामले समेत परिचित इतिहास बोकेको धरहरा २०७२ सालको भूकम्पले तहसनहस पार्‍यो । भाँचिएकाे धरहरा संरक्षण गर्दै त्यसकाे छेउमै आधुनिक प्रविधिसहित नयाँ धरहरा निर्माण गरिएकाे छ ।


यति मात्रै हैन धरहराबाट एक किलाेमिटरभित्रै पुरानाे बसपार्क भएकाे ठाउँमा अर्काे भ्यू टावर बन्दैछ । याे भ्यू टावर व्यवसायिक प्रयाेजनले निर्माण गरिन लागेकाे हाे । ७ अर्ब रुपैयाँको लागतमा ७ वर्ष अगाडि देखि निर्माण कार्य सुरु भएको टावरको ७ तला मात्रै निर्माण भएको छ ।  

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको २४ रोपनी जग्गामा सार्वजनिक निजी साझेदारीमा टावर निर्माण हुन लागेको हो । उक्त भ्यू टावर २९ तला प्रस्ताव गरिए पनि भवन निर्माण मापदण्डले १२ तलासम्मको नक्सा स्वीकृत भएको छ ।  २४ रोपनी जग्गामा सार्वजनिक निजी साझेदारीमा टावर निर्माण हुँदै गरेको हो । 

महानगरले ३० वर्षपछि आफ्नो स्वामित्वमा आउने आउने लोभमा बसपार्क मासेर बहुउद्देश्यीय भवन बनाउन लागेको हो । काठमाडौँमा भ्यू टावर बनाएर देश विकास गर्ने सपना बढिरहेको बेला गाउँ गाउँका सिंहदरबार पनि भ्यू टावर बनाउने दौडमा लागेका छन् । ​
 

 टावर उद्घाटन गर्न पूर्वप्रधानमन्त्रीहरूकै दौडधूप​

देशमा स्थानीय चुनाव हुन ४३ दिन बाँकी छ । नेताहरू गाउँ गाउँ जाने बहाना खोजिरहेको बेला भ्यू टावर उद्घाटन एक प्रमुख बहाना बनेको छ ।  केही दिन अघिमात्रै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रुपन्देहीको बुटवल नगरपालिकामा बनेको  भ्यू टावरको उद्घाटन गरे ।

धरहरापछिको अग्लो र सुविधा सम्पन्न उक्त भ्यू टावर बनाउन कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको हो ।  टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यू टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दाबी थियो, ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।’ 

त्यसाे त ओलीले निर्माण सम्पन्न नै नभई धरहराकाे उद्घाटन गरेका थिए । 'देशमा नागरिकका समस्या र विकासका आवश्यकता धेरै छन्,' विकास अर्थशास्त्री प्रकाश घिमिरे भन्छन्  । ठेकेदारलाई लाभ दिने आकर्षक बहाना भ्यूटावर निर्माण गर्ने र पालिकामा निर्माण भएका ती संरचना उद्घाटन गर्न प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरू जानुले उनीहरूले देशकाे विकास आवश्यकतालाई बुझ्न नसकेकाे र विकासकाे बरालिएकाे कुरुप तस्बिर प्रदर्शन गरिरहेकाे उनले बताए । 

'राजनीतिक व्यक्तिहरूले जनतालाई फकाउन यस खालका संरचनालाई विकासकाे नाम दिने गरेकाे र स्थानीयले समेत अन्यत्रकाे सिकाे गरेर माग गर्ने समेत प्रवृत्ति देखिएकाे छ,' घिमिरेले  भने 'मानव पुँजी विकासका आवश्यकतालाई नजरअन्दाज गर्नु हुँदैन ।' 

यता पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भ्यू टावरको उद्घाटनमा व्यस्त छन् । 

उनले पनि रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यू टावर उद्घाटन गरे । दुई हजार ५५ मिटर उचाइमा रहेको उक्त टावरको उद्घाटनका क्रममा प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताए । ‘रोल्पाले ध्वंस मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ’, प्रचण्डले भनेका छन् । 

यी त पछिल्लो समय प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरू नै भ्यू  टावरको उद्घाटनमा व्यस्त छन् । देश आर्थिक सङ्कटमा फस्दै गइरहेकाे बेला उनीहरू भने भ्यू टावरबाट संवृद्धि हासिल गर्ने सपना बाँडिरहेका छन् ।

सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट पुस्तिका हेर्ने हो भने पनि देशमा कति पैसा भ्यू टावरमा खर्च भएको छ भनेर अनुमान गर्न सकिन्छ । 

बागमती प्रदेशले २ करोड ९६ लाखको लागतमा काभ्रेको भुम्लु गाउँपालिकामा भ्यू टावर बन्दै छ । यस्तै १ अर्ब ५६ करोडमा झापाको दमक नगरपालिकामा पनि भ्यू टावर बन्दै छ । बहुवर्षीय योजनामा रहेको उक्त टावर सङ्घीय सरकारले नै बजेट विनियोजन गरेर बनाउन लागेको हो । 

यस्तै कञ्चनपुरको महाकाली नगरपालिका–४ मा ३ करोड ५० लाख छुटाएको थियो । जसमा चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको छ ।  यी त केही उदाहरण मात्रै भए । देशका तिनै तहका सरकारले आ–आफ्नो तरिकाले टावर बनाउँदै गरेकाले भ्यू टावरमा कति खर्च भयो भनेर यकिन तथ्याङ्क पाउन मुस्किल छ ।

अनुत्पादक क्षेत्रमा लगानी बढ्यो 

नेताहरू देशका ठूला भनिएका नेताहरू यसरी भ्यू टावर जस्तो अनुत्पादक क्षेत्रमा भएको लगानीको उद्घाटन गरिरहँदा देश भने ठुलो आर्थिक सङ्कटमा फस्दै गएको छ । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य प्राध्यापक गोविन्दराज पोखरेलले लिखित रूपमै अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै  प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन् । 

फजुल खर्च बढेको कारण देशको आर्थिक अवस्था अप्ठ्यारोमा परेको छ पोखरेलले उल्लेख गरेका छन् । 

१५ औ योजना १८. ७ प्रतिशत नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । राष्ट्रिय योजना आयोगले ३ वर्ष अगाडि गरेको एक सर्वेक्षणले पनि २८.६ प्रतिशत मानिस गरिब छन् । उनीहरूलाई बिहान बेलुका हात मुख जोड्न नै धौ– धौ छ । 

तर तिनै तह कै सरकार भने उत्पादन मूलक क्षेत्रमा रोजगारी सृजना गर्ने भन्दा भ्यू  टावर ठड्याउने होडमा लागेका छन् ।  

आफ्नो अमूल्य मत पाएर गाउँ गाउँका सिंहदरबारको साँचो ताल्चा बुझेका जनप्रतिनिधि स्थानीयको रोग, शोक र भोक टार्न भन्दा पनि भ्यू टावर बनाउन व्यस्त छन् । अझ त्यति मात्रै हैन, कसले ठुलो टावर बनाउने भनेर प्रतिस्पर्धा नै गरेर अनुत्पादक क्षेत्रमा लगानी खन्याउँदै छन् । 

अब भ्यू टावर लगानी हुँदैन – मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावरलगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छिन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताएकी हुन् ।

उनले भनिन, ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावरलगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिँदैन, गर्नै पर्ने भए सघन सहरी विकास कार्यक्रम अन्तर्गत समेटौँ ।’


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x