अर्थ / बाणिज्य

सचिव कार्की भन्‍छन्:

ऊर्जा व्यापारमा भारत सकारात्मक

भारतले काेइलालाई विस्थापन गर्नुपर्नेछ !

विकास थापा |
मंसिर २, २०७८ बिहीबार १९:१८ बजे

काठमाडौं - नेपालसँगको विद्युत् व्यापारको विषयमा भारत सकारात्मक रहेको नेपालका ऊर्जा सचिव देवेन्द्र कार्कीले बताएका छन् । भारतीय विद्युत मन्त्रालयका सचिव आलोक कुमारसँग गत मंगलबार भएकाे शिष्टाचारयुक्त बैठकका क्रममा ऊर्जा व्यापारमा भारत सकारात्मक रहेको आफूले पाएको सचिव कार्कीले बताए । ‘औपचारिक बैठक थिएन, अनौपचारिक र शिष्टारयुक्त बैठक थियो, ऊर्जा व्यापारमा भारत सकारात्मक रहेको पाएँ’ सचिव कार्कीले बिहीबार इकागजसँग भने ।

उनका अनुसार आफ्ना भारतीय समकक्षीले कोइलाबाट हुने बिजुली उत्पादनलाई नवीकरणीय ऊर्जामा प्रतिस्थापन गर्नुपर्ने अवस्था रहेकाले नेपालको ऊर्जा आयात एवं सहकार्यमा भारतले सकारात्मक संकेत दिएको हो ।


आगामी डिसेम्बर अन्त्य वा जनवरीको पहिलो साता दुई मुलुकका ऊर्जा सचिवस्तरीय बैठक (संयुक्त सञ्चालन समिति-जेएससी) र ऊर्जा सहसचिव स्तरीय बैठक (जेडब्लूजी) को पूर्वसन्ध्यामा दुई देशका ऊर्जा सचिवबीच अर्धऔपचारिक तवरको बैठक भएको हो । ‘आगामी सचिव तथा सहसचिव स्तरीय बैठकमा कसरी अघि बढ्न सकिन्छ भन्‍ने विषयमा पनि छलफल भयो,’ कार्कीले भने, ‘नियमित रुपमा पाँच महिनाअघि नै हुनुपर्ने बैठक हुन सकेको छैन, हामीले आगामी बैठक भौतिक रुपमै हुने गरी चितवनमा प्रस्ताव गरेका छौं, त्यसमा पनि भारत सरकारको सहमति भयो ।’

आगामी सचिव स्तरीय बैठकमा प्रसारण लाइनभन्दा पनि ऊर्जा व्यापार नै प्रमुख एजेन्डा हुने मन्त्रालय स्रोतले बतायो । ढल्केबर–मुजफ्फुर प्रसारण लाइन तथा बुटबल–गोरखपुरजस्ता ठूला प्रसारण लाइनका प्रक्रियागत मुद्दा खासै बाँकी नरहेकाले ऊर्जा व्यापारमा केन्द्रित हुने भएको हो ।

भारतीय विद्युत् सचिव कुमारसँगको भेटका क्रममा आफ्नो मन्त्रालय नेपालबाट बिजुली आयात गर्न इच्छुक र सकारात्मक रहेको सन्देश दिंदै अन्य भारतीय सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने आश्वासन दिएको सचिव कार्कीको भनाइ थियो । 

‘यो छलफल र भेटघाट द्विदेशीय वार्ता भने होइन,’ कार्कीले भने, ‘आगामी दिनमा ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्य कसरी गर्न सकिन्छ र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिन्छ भन्‍नेबारे छलफल भयाे,’ कार्कीले भने ।

भारतले गत कात्तिक १६ गतेदेखि उसको ऊर्जा बजार (इण्डियन इनर्जी एक्सचेञ्ज) मा नेपाललाई ३९ मेगावाट बिजुली बेच्न अनुमति दिएको थियो । भारतीय अनुदानमा निर्मित त्रिशुली र देवीघाटका बिजुली मात्र निर्यात गर्न अनुमति दिएको भारतले माथिल्लो तामाकोसी (४५६ मेगावाट), भोटेकोसी (४५ मेगावाट) र तल्लेा मर्स्याङदी (६९ मेगावाट) लाई भने अनुमति दिएको छैन ।

बैठकमा सचिव कार्कीले माथिल्लो तामाकोसीको बिजुली खरिदसम्बन्धी विषय उठान गरेको बताए । ‘म यसमा सकारात्मक छु,’ समकक्षी आलोक कुमारको भनाइ उद्धृत गर्दै कार्कीले भने, ‘कोइला विस्थापित गर्नेपर्नेछ, म अरु निकायका पदाधिकारीहरुसँग पनि छलफल गर्छु, मैले यो विषय नोट गरें ।’

गत वर्षदेखि वर्षायाममा नेपालमा बिजुली खपत हुन नसकी र राज्यले खपत गराउन असफल हुँदा अर्बाैं रुपैयाँको बिजुली नास भएको थियो । आजका मितिसम्म पनि रातिको समयमा ४ सय मेगावाट बिजुली जगेडा छ । 

बैठकमा बिहारसँग जोडिने कुशाहा-कटैया १३२ केभी प्रसारण लाइनलाई डबल सर्किट बनाउने सहमतिअनुरुप बाँकी रहेका काम तत्काल पूरा गरिदिने भारतीय विद्युत् सचिवले आफू मातहतका निकायलाई टेलिफोन गरी निर्देशन दिएका थिए । भारतसँग सिंगल सर्किट रहेको रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइन पनि डबल सर्किट बनाउने योजना छ । 

त्यसैगरी उत्तर प्रदेशसँग १३२ केभीको प्रसारण निर्माण गर्ने यसअघिको सचिव स्तरीय बैठकले निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप भारतले रुपन्देही पारिको चम्पतियास्थित सवस्टेशनमा केही संरचना बनाउन बाँकी थियो । उक्त संरचना पनि तत्काल बनाउन सचिव कुमारले निर्देशन दिएको कार्कीले बताए ।

‘भारतको उत्तर प्रदेशसँग १३२ केभीको हाम्रो कनेक्टिङ थिएन,’ सचिव बैठकमा सहभागी भएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज इकागजसँग भने, ‘यो लाइन पूरा भएपछि विद्युत् आयात निर्यात गर्न सहज हुनेछ ।’

यता ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गरी सचिव कार्कीले नेतृत्व गरेको तीन सदस्य टोली र भारतीय समकक्षीबीच गत मंगलबार भएको द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको जनाएको छ । 
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x