अर्थ / बाणिज्य

आयल निगमको डरलाग्दो आर्थिक स्थिति

यो वर्ष मात्रै ५२ अर्ब १४ करोड घाटा हुने

विकास थापा |
कात्तिक २९, २०७८ सोमबार १४:२६ बजे

काठमाडौँ - नेपाल आयल निगमसँग २०७५ को असार मसान्तमा २१ अर्ब ५० करोड रुपैयाँ मौज्दात र ३ अर्ब ७१ करोड रुपैयाँ मूल्य स्थिरीकरण कोष गरी जम्मा २५ अर्ब ३३ करोड रुपैयाँ बचत थियो । यस्तो बचत २०७६ को असार मसान्तमा आइपुग्दा ३८ अर्ब ४३ करोड पुग्यो । यो रकम ५२ प्रतिशतले बढेको थियो । 

तर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि भएसँगै २०७७ असार मसान्तमा आइपुग्दा निगमको मौज्दात २४ प्रतिशतले घट्यो । त्यस्तै २०७८ को कात्तिक १५ गतेको आँकडाअनुसार निगमसँग उसको मौज्दात ६ अर्ब ६७ करोड र मूल्य स्थिरीकरण कोषमा १० अर्ब तीन करोड गरी जम्मा १६ अर्ब ७० करोड रुपैयाँ मात्र बाँकी छ । अर्थात् निगमसँग जम्मा भएको पैसामा ४३ प्रतिशत कमी आयो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार, अब तीन महिनाको आयात मात्र धान्न पुग्छ । 


‘एक महिनामा निगमको ६ अर्ब ६७ करोड रुपैयाँ सकिन्छ,’ कार्यकारी निर्देशक पौडेलले इकागजसँग भने, ‘त्यसपछि फेरि ऋण खोज्नुपर्ने अवस्था आउँदैछ ।’ उनका अनुसार, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा औसत ४३, डिजेलमा ३१ र खाना पकाउने एलपी ग्यासमा ४० प्रतिशत मूल्य वृद्धि भएको छ । यसको असर भने चालू आर्थिक वर्षको सुरुदेखि (साउनदेखि कात्तिकसम्म) निगमलाई १० अर्ब २१ करोड रुपैयाँ घाटा भइसकेको छ । यो आर्थिक वर्षको बाँकी आठ महिना ४१ अर्ब ९३ करोड रुपैयाँ घाटा पर्ने निगमको अनुमान छ । यसरी यो वर्षमा निगमलाई पेट्रोलियबाट ५२ अर्ब १४ करोड रुपैयाँ घाटा पर्ने भएको छ । 

निगमले गत साउनमा एक अर्ब ७० करोड, भदौमा एक अर्ब ४८ करोड, असोजमा २ अर्ब २३ करोड र कात्तिक महिनामा ४ अर्ब ८० करोड रुपैयाँ नोक्सानी भएको पौडेलले बताए । गत साउनमा निगमले २१ करोड ५० लाख लिटर आयात गरेको थियो । यो परिमाण अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशतले बढी हो । त्यसैगरी भदौमा २० करोड ५० लाख, असोजमा २३ करोड ३१ लाख र कात्तिकमा २६ करोड २२ लाख लिटर पेट्रोलियम आयात भएको थियो । 

यसअघि आव २०७२/७३ देखि २०७६/७७ सम्म लगातार नाफामा रहेको निगम २०७७/७८ देखि भने निरन्तर घाटामा गएको उसको तथ्यांकले देखाउँछ । २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको निगमले २०७३/७४ मा ९ अर्ब ४५ करोड, २०७४/७५ मा ३ अर्ब ५८ करोड नाफा गरेको थियो । २०७५/७६ मा ८ अर्ब ६५ करोड रुपैयाँ र त्यसपछिको वर्षमा १२ अर्ब ८७ करोड गरेको थियो । गत वर्ष (२०७७/७८) मा भने निगमलाई तीन अर्ब ५७ करोड रुपैयाँ घाटा परेको थियो । ‘अहिलेसम्मको आयात हिजोसम्म भएको सञ्चित नाफाबाट धानिएको थियो,’ पौडेलले भने ।

पेट्रोलमा घटबढ

यो वर्षको साउनमा प्रतिलिटर एक सय २८ रुपैयाँ रहेको पेट्रोलमा तीन पटक मूल्य वृद्धि भई एक सय ३६ रुपैयाँ पुग्यो । अघिल्लो वर्षको साउनमा प्रतिलिटर एक सय दुई रुपैयाँ रहेको पेट्रोलमा १५ पटक मूल्य वृद्धि भएर एक सय २८ रुपैयाँ पुगेको थियो । निगमले २०७५/७६ मा ६ पटक मूल्य प्रतिलिटर पेट्रोलमा मूल्य वृद्धि गरेर ६ नै पटक प्रतिलिटर २ रुपैयाँले घटाएको थियो ।

निगमले २०७६/७७ को साउन १ गते प्रतिलिटर एक सय ८ रुपैयाँ रहेको पेट्रोलमा प्रतिलिटर २ रुपैयाँका दरले पाँच पटक बनाएको थियो भने प्रतिलिटर १० रुपैयाँका दरले पाँच पटक मूल्य घटाएको थियो ।

डिजेलमा घटबढ

आर्थिक वर्ष २०७५/७६ को साउन १ गते डिजेल प्रतिलिटर ९३ रुपैयाँ थियो । उक्त वर्ष निगमले प्रतिलिटर तीन रुपैयाँका दरले ६ पटक मूल्य वृद्धि गरेको थियो भने प्रतिलिटर २ रुपैयाँका दरले पाँच पटक मूल्य घटाएको थियो । यसरी घटबढ गराउँदा उक्त आर्थिक वर्षको अन्त्यमा डिजेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम भएको थियो । 

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा डिजेलमा प्रतिलिटर २ रुपैयाँका दरले निगमले ६ पटक मूल्य वृद्धि गरेको थियो भने प्रतिलिटर १० रुपैयाँका दरले ५ पटक मूल्य घटाएको थियो । उक्त आर्थिक वर्षको अन्त्यमा डिजेलमा मूल्य प्रतिलिटर ८८ रुपैयाँमा सीमित थियो । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा प्रतिलिटर २ रुपैयाँका दरले डिजेलमा १४ पटक मूल्य वृद्धि भएको थियो भने सोही वर्ष प्रतिलिटर १ रुपैयाँका दरले २ पटक मूल्य घटाएर प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको थियो । चालू वर्षको चार महिनामा तीन पटक प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भई प्रतिलिटर एक सय १९ रुपैयाँ पुगेको छ ।

एलपी ग्यासमा घटबढ

निगमले आर्थिक वर्ष २०७५/७६ मा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले एकपटक मूल्य वृद्धि गरी प्रतिसलिण्डिर एक हजार चार सय पुर्‍याएको थियो । आर्थिक वर्ष २०७६/७७ मा एक पटक प्रतिसिलिण्डर २५ रुपैयाँले बढाई दुई पटक प्रतिसिलिण्डर २५ रुपैयाँका दरले घटाइएको थियो । आव २०७७/७८ मा भने प्रतिसलिण्डिर २५ रुपैयाँले वृद्धि गरी एक हजार चार सय २५ रुपैयाँ पुर्‍याइएको थियो । 

चालू वर्षको पहिलो चार महिनामा ७५ रुपैयाँका दरले तीनपटक मूल्य वृद्धि गरी प्रतिसिलिण्डर एक हजार पाँच सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।   पछिल्लो समायोजनबाट कसले कति पाए ?

पछिल्लोपटक पेट्रोलमा प्रतिलिटर ३, डिजेलमा ३, मटितेलमा ३, हवाई इन्धनमा ५ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि भयो । यो वृद्धिबाट सरकारले पेट्रोल र डिजेलबाट ३९, ३९ पैसा, हवाई इन्धनबाट प्रतिलिटर ६५ पैसा र एलपी ग्यासबाट प्रतिसिलिण्डर ९ रुपैयाँ ७५ प्रतिशत राजस्व असुल्यो ।
त्यस्तै यो ‘समायोजन’ बाट डिलरहरूले कमीसनमा पेट्रोलमा प्रतिलिटर १३ पैसा, डिजेलमा ११ पैसा, मटितेलमा १० पैसा र एलपी ग्यासबाट २ रुपैयाँ ६ पैसा वृद्धि भयो ।

समायोजनपछि पनि निगमलाई घाटै

राजनीतिक रुपले तीव्र विरोध भइरहेको पछिल्लो समाजोजनबाट निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४८ पैसा, डिजेलमा २ रुपैयाँ ५० पैसा, मटितेलमा २ रुपैयाँ ९० पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ३५ पैसा र एलपी ग्यासबाट ६३ रुपैयाँ १९ पैसा प्राप्त भयो ।

पछिल्लो समायोजनबाट पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १७ रुपैया ५८ पैसा र डिजेलमा १३ रुपैयाँ १४ पैसा घाटा छ । त्यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ६ सय ५७ रुपैयाँ घाटा झेलेको निगमलाई यसबाट मात्रै मासिक २ अर्ब २२ करोड रुपयाँ घाटा छ । 

कूल घाटामा निगमको प्रशासनिक खर्च

निगमका अनुसार उसले हरेक १५ दिन सालाखाला १४ करोड लिटर पेट्रोलियम बिक्री गर्छ । यति परिमाणको पेट्रोलियम बिक्री गर्दा उसलाई हरेक १५ दिनमा २ अर्ब ६२ करोड ७ लाख रुपैयाँ घाटा हुने गरेको कार्यकारी निर्देशक पौडेलले बताए । निगमले वर्षमा ३ करोड ७६ लाख रुपैयाँ तलब तथा अनिवार्य अवकाशमा भुक्तानी गर्ने गर्छ । यो कूल खर्चमा प्रतिलिटर ३२ पैसा मात्र हो ।

्त्यसैगरी निगमले ३५ लाख रुपैयाँ भत्तामा खर्च गर्छ यो भनेको प्रतिलिटर चार पैसा हो । अन्य प्रशासनिक खर्चमा निगमले वार्षिक ४ करोड रुपैयाँ बेहेर्दाै आएको छ । यो कूल खर्चको हिस्सामा प्रतिलिटर ३४ पैसा हो । यसरी निगमको कूल प्रशासनिक खर्च ८ करोड ११ लाख रुपैयाँ छ, जुन प्रतिलिटरको हिसाबमा ६९ पैसा हो । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x