अर्थ / बाणिज्य

विश्व बजारमा चिपको अभाव हुँदा नेपालमा यस्तो छ अवस्था

कमल धिताल |
कात्तिक १८, २०७८ बिहीबार ६:५३ बजे

काठमाडौँ- विश्व बजारमा चिप अभाव भएका कारण मोबाइल सेटको बिक्री ६ प्रतिशतले घटेको छ । हाल विश्वमै चिप अभावका कारण मोबाइल बिक्री प्रभावित भएको हो । विश्व बजारमा चिपको सप्लाई चेनमा समस्या भएको कारण स्मार्टफोनको बिक्री समेत घटेको छ । विश्व बजारमा मोबाइलको बिक्री घट्दा नेपालमा भने यसको आंशिक प्रभाव परेको छ । यद्यपि नेपाल सानाे बजार हाे । अन्य राष्ट्रमा चिप अभावका कारण स्मार्टफोनदेखि सवारीको उत्पादनसम्म असर पारको समाचार आइरहेका छन् ।

भर्खरैमात्र सार्वजनिक भएको रिपोर्ट अनुसार चिप अभावका कारण सामसुङ १३ प्रतिशत भन्दा बढीले बिक्री घटेको छ । चिप अभावले समग्र विश्वलाईनै असर गरेको छ । विश्वमा हाल कोभिड कारण देखाउँदै इन्टेल मिडियाटेक लगायतका चिप सप्लाई गर्ने कम्पनीले पर्याप्त मात्रमा चिप दिन सकेका छैनन् जसको प्रभाव समग्र विश्व बजारमा देखिन थालेको छ । पछिल्लो तीन महिनाको अवधिमा सामसुङ स्मार्टफोन बिक्रीमा पहिलो स्थानमा रहेको छ ।


चिप निर्माता कम्पनी इन्टेल पनि तत्काल चिप अभावको समस्या समाधान नहुने बताएको छ । इन्टेल सिइओ प्याट गेल्सिङले एक अन्तर्वार्ताका क्रममा चिप अभावको समस्या तत्काल समाधान हुन गाह्रो रहेको बताएका थिए । चिप समस्याको समाधान २०२३ सम्म रहने गेल्सिङ बताउँछन् । यसले पनि आउने दिनमा मोबाइल उत्पादनमा यसले झन् समस्या गर्ने देखिन्छ ।  

चिप अभावले गर्दा नै विश्व बजारमा समग्र मोबाइलको बिक्री ६ प्रतिशत भन्दा बढीले घटेको छ । सामसुङ मोबाइलको बिक्री झन्डै १४ प्रतिशतले घटेको देखिन्छ । एता गत बर्ष भन्दा एप्पलको बिक्री भने बढेको छ । साओमीको भने ४ प्रतिशतले घटेको देखिन्छ ।

नेपालको अवस्था

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा झन्डै ७१ लाख मोबाइल सेट भित्रीएको थियो भने २०७८/७९ तीन महिनाको अवधिमा २२ लाख भन्दाबढी मोबाइल सेट आयात भएको छ ।  नेपालमा मुख्य रूपमा हाल साओमी, सामसुङ, ओपो लगायतका फोनको बिक्री धेरै हुने गरेको छ । 

विश्व बजारमा चिप अभाव भएपनि नेपालमा ओपो फोनको बिक्रीमा भने कुनै असर नपरेको ओपो मोबाइलका बजार व्यवस्थापक सुरज महर्जन बताउँछन् । 'नेपालमा हामीले आयत गर्ने फोनहरू सहज रुपमै आएको छ र यसले हाम्रो बिक्रीमा खासै समस्या परेको छैन आगामी दिनमा के हुन्छ त्यो हेर्दै जाने हो ' उनले भने । चिप अभावले नेपालमा त्यति समस्या नहुने महर्जन बताउँछन् । ठूला राष्ट्रमा समस्या होला तर नेपाल सानो मार्केट भएकाले पनि त्यति समस्या नहुने महर्जन बताउँछ । हाल कोभिडले गर्दा मोबाइलको माग बढे पनि विस्तारै घट्दै जाने महर्जनको भनाई छ ।

त्यस्तै पछिल्लो समय नेपालमा आक्रमक व्यापार विस्तार गरेको साओमी ब्रान्डलाई पनि हालसम्म चिप अभावले कुनै समस्या पारेको छैन् । साओमीका बजार प्रबन्धक प्रकाश सुवेदी चिप अभावले भन्दा पनि सीमामा समस्याका कारण नेपालमा फोनको अभाव भएको बताउँछन् । 'विश्व बजारको तुलनामा नेपाल सानो मार्केट भएका कारण पनि चिप अभावले खासै समस्या परेको छैन् तर लजेस्टिक इस्युले केही समस्या भने पारेको छ' सुवेदीले इकागजसँग भने । कोभिडको कारण नेपालमा केही समय सुस्त भएको मोबाइल बिक्री हाल बढ्न थालेको छ । त्यस्तै चाडपर्वमा मोबाइलको सेल समान्य अवस्था भन्दा केही उच्च हुने गरेको सुवेदी बताउँछन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नगर्दा केही समस्या भएता पनि चिपको अभावले हालसम्म कुनै समस्या नभएको नोकियाका बजार प्रबन्धक आशिष थापा बताउँछन् । चिप अभाव भन्दा पनि भन्सारमा रूकावटले केही समस्या पारेको थापाको भनाई छ । एमडीएमएस लागू नगर्दा नेपालमा अन्य देशबाट भन्सार नतिरी ल्याएका स्मार्टफोनहरूले गर्दा नेपालको सेल्समा समस्या परेको थापा बताउँछन् । 

 

 

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x