अर्थ / बाणिज्य

केस स्टडी

भारतमा ठूला नोट प्रतिबन्धलगत्तै संघई परिवारले किन ठूलो परिमाणमा सेयर बिक्री गर्‍यो ?

पवन तिमिल्सिना |
असार २६, २०७८ शनिबार १५:५२ बजे

काठमाडौँ : कालोधनविरुद्ध लड्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्वर २०१६ मा पाँच सय र एक हजार दरका नोटमा प्रतिवन्ध लगाउने घोषणा गरे । भारतमा पैसाको हाहाकार मच्चियो । भारतमा मात्रै होइन, त्यसको सोझो प्रभाव नेपालमा समेत पर्‍यो । प्रत्यक्ष र बहुआयमिक प्रभावको रूपमा नेपालको सेयर बजार समेत प्रभावित भएको धितोपत्र बोर्डको एउटा केस स्टडीले देखाएको छ । भारतमा ठूला दरका नोट प्रतिबन्ध भएपछि नेपालको सेयर बजारमा निरन्तर गिरावट आउन थाल्यो । 

भारतको नोटबन्दीले उक्त व्यवसायिक घराना प्रभावित भएकै कारण ठूलो परिमाणमा सेयर बिक्री गरेको हुनसक्ने धितोपत्र बोर्डको अध्ययनले उल्लेख गरेको छ । खासगरी भारतमा ठूला दरका नोट प्रतिबन्ध गरेपछि नेपालमा व्यावसायिक घरानाको व्यवसायको तरलता व्यवस्थापन जटिल बन्दै गएको थियो । जसको व्यवस्थापन गर्न ती व्यवसायीक घरानाले एकैपटक सेयर बिक्री गरेका कारण सेयर बजारमा अनपेक्षित गिरावट आएको थियो । त्यतिबेला नेप्से केही ओरालो लागेको भएपनि कारोबार रकम सामान्य स्तरमा थियो । धितोपत्र बोर्डले सेयर बजारमा लगानी कम्पनीहरूले प्रभाव बढाएको आशंका गर्दै अध्ययन सुरु गरेको थियो ।


सर्कुलर ट्रेडिङको आशंकामा प्रारम्भिक अध्ययन गरेको बोर्डले निष्कर्ष निकाल्यो, ‘एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरी वा एकै व्यक्ति संलग्न भएका धेरै लगानी कम्पनीहरू बजारमा सक्रिय रहँदा एकै व्यक्तिले आफ्नो एक कम्पनीबाट सेयर बिक्री गरी सेयरको आपूर्ति बढाउने र आफ्नै स्वामित्वमा रहेका अर्को कम्पनीबाट पुनः खरिद गर्ने प्रवृत्तिले बजारको प्रभावकारितामा नकारात्मक असर पर्ने हुँदा उक्त प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ ।’

सेयर बजारका तत्कालीन खेलाडी संघई परिवार 

कुनै समय राकेश अडुकिया र निर्मल प्रधानहरू सेयर बजारका ठूला खेलाडी थिए । २०६५ देखि २०६८ को बीचमा बजार क्र्यास हुँदा उनीहरू हराए । त्यसपछि २०७३ साउनमा बजार बुलमा थियो । तत्कालीन समयमा सेयर बजारमा संघई परिवारको दबदबा देखिन्छ । 

बोर्डले ५० धितोपत्र दलाल व्यवसायीसँग आबद्ध लगानी कम्पनीहरूको अध्ययन गरेको थियो । जसमा एक हजार दुई सय ७५ लगानी कम्पनीहरू संलग्न छन् । बोर्डले तीमध्ये १० जना व्यक्तिहरूको सूची तयार पार्‍यो । जसले आफ्ना अधिनमा धेरै कम्पनीहरू सञ्चालित छन् । 

पुरुषोत्तम ल संघई, सुभाषचन्द्र संघई, विरेन्द्र कुमार संघई, रामचन्द्र संघई, गोविन्दलाल संघई र सुशीलादेवी संघाईको लगानी छ । संघई दाजुभाइमध्ये जेठा पुरुषोत्तम लाल संघाई त्रिवेणी समूहका अध्यक्ष हुन् र सुशीलादेवी संघई उनकी श्रीमति हुन् । उनी मातहत १९ कम्पनी सञ्चालनमा छन् । बाँकी लगानी कम्पनीमा आबद्ध लगानीकर्ताहरू त्रिवेणी समूहका निर्देशक हुन् । संघई परिवारका पाँच दाजुभाइमध्ये कान्छा गोविन्द लाल संघाईअन्तर्गत १९ कम्पनी छन् । नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष रामचन्द्र संघईमातहत १३ कम्पनी छन् । सुभाषचन्द्र संघाई सञ्चालक रहेका १३ कम्पनी छन् । त्यस्तै सुशीलादेवी संघईअन्तर्गत चार कम्पनी छन् । 

उद्देश्य अर्कै, लगानी सेयर बजारमा

एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरी फरक फरक नाममा धेरै लगानी कम्पनी स्थापना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । अधिंकाश कम्पनीहरू उत्पादनमूलक, व्यापार तथा सेवाको उद्देश्य राखी स्थापना भएका छन् । तर, ती कम्पनीहरूले पछिल्लो समयमा बैठकबाट सेयरको खरिद बिक्री गर्ने सम्बन्धी निर्णय गरी सेयर बजारमा प्रवेश गरेको देखिएको उल्लेख छ ।

एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरि फरक–फरक नाममा धेरै लगानी कम्पनी स्थापना गरेको पाइएको बोर्डको अध्ययनमा उल्लेख छ । जसमध्ये १० व्यक्ति छनौट गरी उनीहरू प्रमुख रहेका लगानी कम्पनीको विवरण यस अध्ययनमा समावेश छ । सम्पर्क नम्बर पनि एकै राखी २० भन्दा बढी लगानी कम्पनीहरु स्थापना भएको देखिएको छ ।

दलाल व्यवसायी नेपाल स्टक हाउस (ब्रोकर नं. १४) मा दर्ता भएको क्याप्टिभ इन्भेष्टमेन्ट प्रालिले आर्थिक वर्ष २०६९।७० मा आठ करोड ७४ हजार नौ सय ६७ रुपैयाँ बराबरको सेयर कारोबार गरेको तथ्याङ्कमा देखिन्छ । अन्य लगानी कम्पनीको पुँजी, कारोबार रकम तथा सेयर बजार गतिविधीहरुको बारेमा दलाल व्यवसायीबाट जानकारी उपलब्ध नगराएको उल्लेख छ । 

लगानी कम्पनीको रुपमा सहकारी संस्थाहरु, कन्सलटेन्सीहरु, लेखापरिक्षण फर्महरू पनि सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । दलाल व्यवसायी अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६) मा योङ ली रियल्टी एसडिएन बीएचडी नाम गरेको संस्थाले 'केवाइसी' फारम भरेको पाइएको थियो । 

अध्ययन गरिएका केही कम्पनीहरूले एकभन्दा बढी ब्रोकरमा केवाइसी फारम भरेकोले लगानी कम्पनीहरूको वास्तविक संख्या एक हजारको हाराहारीमा रहेको अनुमान छ । प्रबन्धपत्रमा धितोपत्रमा लगानी बाहेकका अन्य उद्देश्य राखी स्थापना भएका कम्पनीहरुले पछिल्लो समयमा सञ्चालक समितिको बैठकबाट सेयर खरिद बिक्री गर्ने निर्णय गरी सेयर बजारमा प्रवेश गर्छन् ।

पृष्ठभूमिमा प्रबन्धपत्रमा उल्लेख भएको उद्देश्यबाट कम्पनी विचलित भएको प्रतिवेदनको ठम्याई छ । जसले सेयर बजार समेत अवाञ्छित प्रभाव पर्ने भनिएको छ । कम्पनीको नियमन निकायसँग बोर्डले समन्वय गरी उपयुक्त व्यवस्था गर्नुपर्ने सुझाव दिएको थियो । नियमन निकाय नभएका कम्पनीको सन्दर्भमा बोर्ड आफै सक्रिय भई आवश्यक नियमन व्यवस्था गर्नुपर्ने देखिन्छ । 

एकै व्यक्तिले फरक फरक कम्पनीमा ठूलो संख्यामा लगानी गर्दा सेयर बजार घटबढ गराउने भएकाले यसको लागि निजी लगानी कम्पनीहरुलाई एक निश्चित दायरामा ल्याउन उपयुक्त कानुनी व्यवस्था गर्न आवश्यक रहेको निष्कर्ष छ । 

बजारमा हावी भएका अधिकांश लगानी कम्पनीहरु व्यापारिक घरघरानाको स्वामित्वमा भएको उल्लेख छ । सेयरको धितोमा दिइने मार्जिन प्रकृतिको ऋणमा उनीहरुको संलग्नता रहेको तथा व्यवसायिक कारोबारको भुक्तानी गर्नुपर्ने कारणले आफ्नो तरलता व्यवस्थापनको लागि सेयरको बिक्री तीव्र पारेका कारणले सेयर बजारमा अनपेक्षित गिरावट आएको हुनसक्ने अध्ययनमा उल्लेख छ । 

दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको उल्लेखनीय संख्या रहेको पृष्ठभूमिमा यिनीहरुको लगानी कार्यलाई निश्चित दायरामा ल्याई विश्वसनीय धितोपत्र बजारको विकास तथा विस्तार गर्नको लागि लगानी कम्पनीहरुको सन्दर्भमा चुक्ता पुँजी, प्रवर्धक, व्यवस्थापन, लगानी रकम, धितोपत्रमा लगानी प्रवृति, लगानीको स्रोत (स्वयं पुँजी वा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणको व्यवस्था) तथा लगानी सम्बन्धी अन्य सम्पूर्ण गतिविधीहरुको सम्बन्धमा थप विस्तृत अध्ययन गर्न आवश्यक देखिएको बोर्डको दाबी छ ।

उक्त अध्ययन धितोपत्र बोर्डले पनि लामो समय गुपचुप राखेको थियो र यसमा सर्कुलर ट्रेडिङ भएको देखिदाँ पनि धितोपत्र कसुरमा कुनै कारबाही गरिएको थिएन । अहिले पुनः धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानीमा जोखिम हुनसक्ने भन्दै असार १ गते सूची नै सार्वजनिक गरेको छ । प्रारम्भिक भनिएको ५१ कम्पनीको अध्ययनमा सेयर कारोबारमा सर्कुलर ट्रेडीङ, इन्साइडर ट्रेडीङ वा सेयर कर्नरिङ भएको भए धितोपत्र सम्बन्धि कसुरमा कारबाही गर्ने भने पनि धितोपत्र बोर्डले पुरानै घटनाको पुनरावृत्ति गर्नसक्ने बोर्डसम्वद्ध जानकारहरू बताउँछन् । 

 


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x